पोखरामा भाडाको गाडी प्रयोग गरेर नक्कली सहसचिवको ठगी, प्रहरी र जनप्रतिनिधिलाई समेत छाडेनन्

रातो प्लेटलाई सेतोमा परिवर्तन, नक्कली कार्ड मार्फत सरकारी सुबिधा

पोखरा न्यूज – १४, फागुन । पोखरामा आफूलाई सहसचिव बताउँदै एक व्यक्तिले होटल सञ्चालक, प्रहरी तथा जनप्रतिनिधिलाई ठगी गरेको घटना सार्वजनिक भएको छ ।

भाडामा गाडी लिएर  नम्बर प्लेट परिवर्तन गर्दै आफ्नो एक साथी (ड्राइभर) लाई सहयोगी बनाएका उक्त युवकले आफूलाई राष्ट्रिय बाल अधिकार संरक्षण समिति कार्यालयको ‘केन्द्रीय अध्यक्ष बताउँदै पोखरामा होटल सञ्चालक, प्रहरी तथा जनप्रतिनिधिलाई नै मूर्ख बनाउन सफल भएका हुन् ।

धरान -०८ सुनसरीका लाख मन राईको नाममा रहेको बा १५ प ८१८८ नम्बरको प्राइभेट स्कारपियोलाई बा २ झ १६६३ सेतो नम्बर प्लेटमा परिवर्तन गरेर हिँडेका उनले वीरगन्जमा सहसचिवको नक्कली कार्ड बनाएर पोखरा तर्फ हानिएका थिए। सन्देश रम्तेलको नामबाट नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार संरक्षण समितिको कार्यालय सिंहदरबार, काठमान्डौको नक्कली कार्ड बनाएर नक्कली सेतो नम्बर प्लेटको गाडी प्रयोग गर्दै उनले पोखरा आउने बेलासम्म बाटोमा आफूलाई असुरक्षा भएको भन्दै प्रहरीको स्कर्टिङसमेत मागेका थिए ।

खोटाङका २३ वर्षीय संगम राई लाई ड्राइभर तथा सहयोगी बनाएर हिँडेका रम्तेलले प्रहरीको १०० नम्बरमा फोन गर्दै आफू हिँड्ने ठाउँ ठाउँमा सुरक्षा माग गर्ने गरेका थिए । फाल्गुन ७ गते पोखरा आएर लेकसाइडको एक होटलमा बसेका उनले कास्की प्रहरीसँग समेत आफूलाई असुरक्षा भएको भदै सुरक्षा माग गरेका थिए । उनले आफूलाई कसैले धम्की दिएको बताउँदै सुरक्षा माग गरेको एक प्रहरीले पोखरा न्यूजलाई बताए । प्रहरीले उनलाई रातको समयमा होटल क्षेत्रमा सुरक्षा दिएको थियो भने दिनमा एक  प्रहरीलाई स्कारपियोमा राखेर उनी पोखराका विभिन्न क्षेत्रमा समेत पुगेका थिए ।

फाल्गुन ७ र ८ गते लेकसाइडको होटल तेन्जिङ हिलारीमा बसेका रम्तेल ९ गते सेतो नम्बर प्लेटको गाडी गुडाउँदै पर्वत, म्याग्दी हुँदै मुस्ताङको लागि हिँडेका थिए । उनले मुस्ताङ जाँदा र फर्किदा समेत सोही शैलीमा प्रहरीसँग सुरक्षा माग गरेका थिए । फागुन १० गते साँझ आफूहरूको ५/६ जनाको टोली रहेकोले २ वटा कोठा चाहियो भनेर लेकसाइडको सोही होटलमा कोठा बुक गरेका रम्तेलले राती ११ बजे आफ्नो साथी अन्तै बस्ने भन्दै एउटा कोठा क्यान्सिल गरेका थिए । होटलमा रातको १ बजे आफ्ना सहयोगी (ड्राइभर) सहित आइपुगेका उनले ११ गते बिहान आफू पोखरामा आएको पत्रकारले थाहा पाएको र आफूसँग पत्रकारले अन्तवार्ता लिन खोजेको भन्दै होटल साहुलाई कसैलाई भित्र छिर्न नदिनु भनेका थिए ।

फागुन ११ गते दिउसो ४/५ जनाको समूह होटलमा आएर उनलाई सोधखोज गरेको र उसले भनेका पत्रकार नै होलान् भनेर आफूले भित्र छिर्न रोक लगाउँदा लगाउँदै उनीहरू भित्र छिरेर रम्तेलसँग चर्का चर्की गरेको होटल सञ्चालक नरेन्द्र पोखरेल बताउँछन् । उसको गतिविधिमा शङ्का लागेपछि होटल सञ्चालकले होटलमा बसेको खाएको रकम रु २५ हजार माग गरेपछि पैसा मन्त्रालयबाट खातामा जम्मा हुने भन्दै रम्तेलले होटलको बैंक खाता नम्बर मागेका थिए । खातामा पैसा जम्मा नभएसम्म जान नदिने अडान राख्दै होटल सञ्चालकले स्कारपियो गाडी होटल कम्पाउन्डबाट बाहिर लैजान रोक लगाएका थिए ।

गाडीमा तेलसमेत छैन पैसा छैन भन्छौ तेल कसरी ल्याउँछौ भनेर होटल सञ्चालकले सोधेपछि तेलको समस्या नरहेको बताएका रम्तेलले पोखरा महानगरपालिकाबाट उप मेयर मञ्जु देवी गुरुङको आदेशमा २० लिटर तेलको कुपन ल्याएको भन्दै देखाएका थिए । पैसाको प्रबन्ध मिलाउने भन्दै रम्तेलले होटलको स्कुटर लिएर ११ र १२ गते आवतजावत समेत गरेका थिए ।

पैसा ल्याउनुको साटो होटलको ग १५ प ६१०४ नम्बरको नयाँ स्कुटर समेत दुर्घटनामा पारेर आइपुगेका रम्तेल भाग्ने मनसाय बनाएको बुझेपछि होटल सञ्चालकले १३ गते बिहान प्रहरीमा उजुरी गरेका थिए । उजुरीपछि होटल पुगेर अनुसन्धान थालेको वडा प्रहरी कार्यालय बैदामले तत्कालै चालक राईसहित रम्तेललाई पक्राउ गरेको हो ।

पक्राउ परेका रम्तेलको साथबाट प्रहरीले सोही नक्कली कार्ड बाहेक उनको परिचय खुल्ने अन्य कुनै पनि सक्कल प्रमाण भेटाएको छैन । सोधपुछका क्रममा उनले आफ्नो घर इलाम -७ मा रहेको र बाबुको नाम राम बहादुर रम्तेल र आमाको नाम पविमाया रम्तेल रहेको बताएका छन् । प्रहरीलाई आफ्नो उमेर १७ वर्ष र पढाइ आइ.एल बताउने रम्तेलले होटल सञ्चालकलाई भने आफ्नो उमेर २८ वर्ष र डबल डिग्री गरेको बताएका थिए ।

रम्तेलले आफूले विभिन्न संस्थाको नाम लिएर कार्यक्रमहरूमा सहभागिता जनाउने गरेको र आफू २०७५/०५/ ०७ मा जर्मनीको किन्डर मिसन वर्क कम्पनीबाट थाइल्यान्डको कार्यक्रममा समेत पुगेर आएको प्रहरीलाई बताएका छन्।

प्रहरीले ड्राइभर राईको साथबाट लाइसेन्स र गाडीको सक्कल ब्लु बुक फेला पारेको छ । उनले बाबुको नाम धनबहादुर राई रहेको बताएका छन् । पक्राउ परेपछि राईले आफूहरूसँग दमौली सम्म अर्को गाडी पनि आएको अर्को गाडी दमौलीबाट गायब भएको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ भने गाडी पनि प्रहरीको नियन्त्रणमा छ  ।

रम्तेललाई प्रदान गरिएको सुरक्षाको विषयमा पोखरा न्यूजले प्रश्न गर्दा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रमान गुरुंङले  असुरक्षा भएको भनी रम्तेलले खबर गरेपछि मोबाइल टोलीले सुरक्षा दिएको भनी घुमाउरो शैलीमा सुरक्षा प्रदान गरेको  स्वीकार गरेका छन् ।

उता रम्तेलले महानगरपालिकाबाट २० लिटर तेल ल्याएको भनिएता पनि १० लिटर तेल उपलब्ध गराएको महानगरका एक कर्मचारीले स्वीकार गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button