कास्कीको कुइबाङ गाउँलाई पर्यटकिय गन्तव्य बनाइने

कृष्ण दवाडी , पोखरा न्यूज – १४, फागुन ।

मर्दी हिमाल पदयात्रा मार्गमा पर्नेे माछापुच्छ्रे गाउँपालिका–९ को कुइबाङ गाउँलाई ग्रामीण पर्यटनको केन्द्रका रुपमा विकास गरी पर्यटन प्रवर्द्धन गर्ने योजना अघि सारिएको छ ।

समुद्र सहतबाट करीब दुई हजार मिटरको उचाइमा अवस्थित सो गाउँलाई भौतिक, आर्थिक तथा सामाजिक विकासको माध्यमबाट नमूना गाउँ बनाउँदै पर्यटक तान्ने योजना बुनिएको हो । पोखरा बागलुङ राजमार्गको पोखरा–२५ मिलनचोकबाट मर्दीखोलाको किनारै किनार हुँदै १५ किलोमिटर कच्ची सडक पार गरेपछि कुइबाङ गाउँ पुगिन्छ ।

पछिल्लो समय मिलनचोकबाट लुम्रेसम्मको सडक विस्तार र कालोपत्रेको लागि काम अघि बढेपछि पूर्वाधार निर्माणमा सहज हुने र पर्यटक आगमन पनि बढ्ने विश्वासले गाउँलाई नमूना बनाउने काममा स्थानीय जुटेका छन् । ‘कुइबाङ एकीकृत विकास परियोजना’का माध्यमबाट मर्दी हिमाल क्षेत्र तथा माछापुच्छ्रेमा आउने पर्यटकको मुख्य गन्तव्यका रुपमा गाउँलाई विकास गर्ने गरी गाउँको मुहार फेर्ने काम अघि बढाइने वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले बताए ।

उनले भने, “पर्यटन र कृषिका माध्यमबाट गाउँलाई ग्रामीण पर्यटनको गन्तव्य बनाउने र स्वरोजगारका माध्यमबाट आर्थिकरुपमा आत्मनिर्भर बनाउँदै गाउँलाई नमूना बनाउँछौँ ।” गुरुङ, मगर, ब्राह्मण र परियार गरी ६४ घरधुरी रहेको सो गाउँमा होमस्टे (घरवास) लाई पनि जोड दिँदै घरवासको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने योजना वडाले बुनेको छ ।

गाउँको भौतिक पूर्वाधार विकासको योजनाअन्तर्गत तीन मिटर चौडाइको ७६ मिटर सिँढी बाटो, दुई मिटरको १७६ र र १ दशमलब ५ मिटर चाक्लो ३३४ मिटर सिँढी बाटोमा ढुङ्गाको छपनी बिछ्याउने र वरिपरि फूलका बिरुवा रोपेर रमणीय बनाउने योजना अघि सारिएको छ ।

त्यस्तै गाउँमै रहेको भएर मन्दिर, गुफा र चिया बगानसम्म पुग्ने करीब एक हजार १०० मिटर बाटोमा पनि ढुङ्गाकै छपनी बिछ्याउने योजना अघि सारिएको छ । विस्तृत आयोजना प्रतिवेदन(डिपिआर) तयार गर्न रु ९० लाख लागत लाग्ने बताइन्छ ।

गुरुङ समुदायको बाहुल्यता रहेको गाउँमा एक वटा सांस्कृतिक घर निर्माण गर्ने, परम्परागत प्रविधिसहितको एक घरलाई सङ्ग्रहालय बनाउने, गाउँको पश्चिमपट्टीबाट लामो झोलुङ्गे पुल निर्माण गरी अर्को पर्यटकीय घले गाउँलाई जोड्ने, आकर्षक स्वागत द्वार तथा होमस्टेका लागि घरको निर्माण तथा खेलमैदान परियोजनमा समेटिएको छ ।

चालू आवमा वडाको रु सात लाख बजेटबाट काम शुरु गरिएको र यसलाई क्रमिकरुपमा पूरा गरिने योजना छ । “यो काम एकै वर्षमा सम्पन्न हुने होइन । प्रदेश सरकार, गाउँपालिका र स्थानीयको सहयोगमा तीन वर्षभित्रमा यसलाई सम्पन्न गर्दछौँ” क्षेत्रीले भने ।

सांस्कृतिक घर, सङ्ग्रहालय तथा झोलुङ्गे पुललगायतको डिपिआर निर्माणको योजनामा रहेको बताइन्छ । होमस्टे व्यवस्थापन तालीम, एकीकृत कृषिका लागि तालीम तथा प्रविधि हस्तान्तरण, सामाजिक विभेद अन्त्यका कार्यक्रम युवा जागरण तालीम, परम्परागत सीपको प्रयोग गरी घरेलु उद्योगको विकास, अल्लोको प्रशोधन धागो काढ्ने कपडा बुन्नको लागि आवश्यक तालीम तथा आमासमूह, क्लब तथा टोल विकास संस्थालाई सक्रिय बनाउने अघि सारिएको छ ।

आर्थिक विकासका लागि अर्गानिक कृषि उत्पादन गर्ने, चिया, कफी र अलैँचीका बगानलाई विस्तार गर्ने, घरेलु उद्योगको विकास गर्ने, अल्लोको कपडा बुन्नको लागि एक घर एक तान कार्यक्रमलाई अनिवार्य गरी स्वावलम्बी बनाउने र पशुपक्षी पालनलाई व्यवस्थित र व्यावसायिक बनाउने योजना यसअन्तर्गत छ ।

गाउँका कम्तीमा ३५ घरमा होमस्टे सञ्चालन गरी प्राङ्गारिक उत्पादन परिकार पर्यटकलाई पस्कने योजना रहेको कुइबाङ टोल विकास संस्थाका अध्यक्ष पूर्णबहादुर गुरुङले बताए । “पर्यटन र कृषिलाई सँगसँगै जोडेर जुन योजना पस्केका छौँ । प्राङ्गारिक उत्पादनलाई प्राथमिकता दिएका छौँ । यहाँ आउने पर्यटकलाई यहीको उत्पादनबाट सेवा गर्छौं” गुरुङले भने  ।

परियोजना घोषणा कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले मर्दी र माछापुच्छ्रे हिमालको नजिकै रहेको र पदयात्रा मार्गमा पर्ने सो गाउँमा अघि सारिएको परियोजना कार्यान्वयन असम्भव नरहेको बताए ।

उनले भने, “यहाँहरुले जुन योजना अघि सार्नुभएको छ । यसको कार्यान्वयन जटिल छैन । पर्यटकलाई आकर्षिक गर्ने थुप्रै कुरा छन् । कार्यक्रममा सहयोग गर्न सरकार तयार छ ।” माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले एकीकृत विकासको योजना गाउँलाई सुहाउँदो रहेको र पूरा गर्न सकिने खालका योजना रहेकाले गाउँलाई नमूना बनाउन सकिने धारणा राखे ।

आगामी वर्षको बजेट तथा नीति कार्यक्रम अघिनै गाउँको आवधिक योजना निर्माणको तयारीमा गाउँ सरकार रहेको भन्दै अध्यक्ष गुरुङले यस परियोजनालाई पनि समेटिने बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button