पोखरामा मन्त्री अधिकारीप्रति अन्तिम श्रद्धाञ्जलि

पोखरा न्यूज – १७, फागुन ।

ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीर पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जलीका लागि राखिएको छ ।

मन्त्री अधिकारीलाई अन्तिम श्रद्धाञ्जलीका लागि हजारौको संख्यामा पोखरेली जनता, आफन्त तथा पार्टीका नेता कार्यकर्ता प्रदर्शनी केन्द्रमा भेला भएका छन् ।

अधिकारीको पार्थिव शरीर राखिएको पोखरा प्रदर्शनी केन्द्रमा अधिकारीका  बुबा इन्द्र, आमा लक्ष्मी, श्रीमती विद्या भट्टराई र छोराहरु विराज तथा स्वराज भावविह्वल भएका छन् । उनीहरुलाई पार्टीका  नेता र आफन्तजनले सान्वना दिइरहेका छन्  ।

मन्त्री अधिकारीको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता वामदेव गौतमले संयुक्तरुपमा पार्टीको झण्डा ओढाएर मन्त्री अधिकारीलाई श्रद्धाञ्जलि दिए ।

मन्त्री अधिकारीलाई भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री पद्ममा अर्याल, नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारी, गण्डकी प्रदेशका प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, नेकपाका नेता योगेश भट्टराई, श्रममन्त्री गोकर्ण विष्ट, काङ्ग्रेस नेता यज्ञबहादुर थापालगायतले श्रद्धाञ्जलि दिएका थिए ।

मन्त्री अधिकारीलाई श्रद्धाञ्जलि अर्पण गर्नका लागि हजारौँ सर्वसाधारण लामबद्ध छन् । श्रद्धाञ्जलीको कार्यक्रम सकिएपछि अधिकारीको पोखराको रामघाटमा अन्त्येष्टि गरिनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button