एक करोडको लागतमा बनेको युआरएल दुलेगौंडा शाखाको मन्त्री गुरुङद्वारा उद्घाटन

पोखरा न्यूज – १८, फागुन ।

पोखराको सभागृहचोकमा प्रधान कार्यालय रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले  तनहुँ शुक्लगण्डकी नगरपालिकाको दुलेगौंडामा शनिबार आफ्नो दोश्रो शाखाको औपचारिक सुरुवात गरेको छ ।  शाखाको  शनिबार एक कार्यक्रमका बीच गण्डकी प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उद्घाटन गरेका हुन्  ।

कार्यक्रममा मन्त्री गुरुङले स्वस्थ शरीर नै धन भएकाले रोगले थला परिसकेपछि अस्पताल जाने परिपाटी हटाउँदै बेला बेलामा आफैं स्वास्थ्य  परीक्षण गर्ने परिपाटीको विकास गर्नुपर्ने  बताए । आफ्नो क्षेत्रमा उपलब्ध स्वास्थय सेवाको भरपुर उपयोग गरि स्वस्थ र दीर्घ जीवन बाच्न उनले सबैलाई आग्रह समेत गरे । उनले भने, ‘धेरै कुरामा हामी भ्रममा बाँचेका छौं । स्वास्थ्य, शिक्षा, धर्ममा पनि भ्रममा छौं ।’ भ्रमबाट मुक्त भएर यथार्थपरक जीवन बाच्नुपर्नेमा उनले जोड दिए ।

पेट तथा कलेजो रोग विशेषज्ञ डा. सुवास भट्टराईले रोगसँग डराएर समाधान नहुने भएकाले समयमै उपचार र आहारविहारमा ध्यान दिन आग्रह गरे । बजारमा अनेक प्रकारका भ्रम रहेको चर्चा गर्दै उनले भ्रमको पछि नलागी विज्ञानले प्रमाणित गरेको चिकित्साकै भर गर्न आग्रह गरे । उनले भने, ‘जन्डिस भए बेसार खान हुन्न, सुगर भए भात खान हुन्न, के केक जुस खाए ठिक हुन्छ भन्ने भ्रमको पछि नलाग्नुस् ।’

गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युआरएलले दुलेगौंडामा करिब १ करोड लागतमा शाखा स्थापना गरेको युआरएलका प्रवन्ध निर्देशक ठाकुर प्रसाद पन्तले बताए  । दुलेगौंडा, बेलचौतरा, खैरेनीटार, ढोरफिर्दी, भिमाद, थर्पु लगायतका स्थानमा रहेका सेवाग्राहीलाई रक्त परिक्षणको लागि विदेश र राजधानी पठाउनुपर्ने झन्झटबाट मुक्त पार्दै सहज ढंगले अन्तर्राष्ट्रिय स्तरको सेवा दिने  उद्देश्यले  शाखा खोलेको उनले बताए  । शाखामा ५ जना दक्ष जनशक्ति रहेको र रगतमा हुने सम्पूर्ण परिक्षण दुलेगौंडामै हुने उनले जनाए ।

मानिसलाई रोग लाग्नुभन्दा अघि नै सचेतना र सेल्फ टेस्टबाट स्वस्थ्य बनाउन युआरएलले विभिन्न संघ, संस्थासँगको सहकार्यमा निशुल्क रक्त शिविर आयोजना गर्दै आएको उनले बताए । ५ वर्षअघि स्थापना भएको युआरएलले ३२ जनालाई प्रतक्ष्य रोजगार दिदै आएको समेत प्रवन्ध निर्देशक पन्तले जनाए । युआरएलले यस अघि करिव डेढ बर्ष अगाडी देखी तनहुँकै दमौली अस्पताल अगाडिबाट आफ्नो पहिलो शाखा संचालानमा ल्याइसकेको उनले जानकारी दिए  ।

युआरएलका अध्यक्ष सुशील थापा नागरिकलाई आफैं आफ्नो स्वास्थ्यको जिम्मा लिने बनाउनु युआरएलको लक्ष्य भएको बताए । उनले भने, ‘सुगर भएको छ कि छैन, किड्नी कस्तो छ जचाउन डाक्टरले लेखिरहन पर्दैन, आफैं जाँच गर्न मिल्छ । ’

युआरएलका निर्देशक दिनेशबाबु खड्काले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने दायित्वलाई मार्गदर्शन मानेको बताए । कार्यक्रममा सञ्चारकर्मी ऋषि खतिवडाले पनि बोलेका थिए ।

उद्घाटनको  अवसरमा भएको थाइराइड तथा रगतमा हुने खराब बोसो (टिजी) सम्बन्धी निशुल्क रक्त परीक्षण शिविरमा ४ सय ५३ जनाले सित्तैमा जाँच गराएका छन् । युआरएलले हालसम्म विभिन्न संघ, संस्थासँगको सहकार्यमा गरेका ६३ शिविरबाट ३५ हजारले निशुल्क सेवा लिएको  युआरएलले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button