बर्डफ्लु भित्रिन नदिन तनहुँमा सतर्कता बढाइयो

पोखरा न्यूज १९, फागुन ।

छिमेकी जिल्लामा बर्डफ्लुको सङ्क्रमणले कुखुरा मर्न थालेपछि तनहुँ जिल्लामा सतर्कता बढाइएको छ । कास्की, चितवनलगायत जिल्लामा कुखुरामा एचफाइभ एचनाइन नामक फ्लुको सङ्क्रमणबाट कुखुरा मर्न थालेपछि भेटेरिनरी अस्पताल एवं पशुसेवा विज्ञ केन्द्र तनहुँले जिल्लामा सुरक्षा सतर्कता बढाएको हो ।

केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठका अनुसार पक्षी तथा पक्षीजन्य सामग्री बाह्य जिल्लाबाट तनहुँ भित्रिँदा पूर्वमा आँबुखैरेनी र पश्चिममा कोत्रेमा सुरक्षा निकायद्वारा आवश्यक कागजातहरु जाँच गरी स्वास्थ्य प्रमाणपत्रबिना ओसारपसार र बिक्रीवितरण कार्यमा पूर्ण रोक लगाइएको छ ।

उनका अनुसार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा बर्डफ्लु रोग निगरानी टोली गठन गरिएको, पक्षी फार्म र बजार निगरानी गरी नमूना सङ्कलन गर्ने व्यवस्था मिलाइएको छ । उनले भने, “फार्मको निरीक्षण र अनुगमनपश्चात शङ्का लागेका पक्षीको नमूना सङ्कलन गरी परीक्षणका लागि प्रयोगशालामा पठाउने व्यवस्था मिलाइएको छ ।”

उनले पक्षीपालक कृषकलाई आफ्नो फार्ममा जैविक सुरक्षाका सम्पूर्ण उपाय अवलम्बन गर्न आग्रहसमेत गरिएको जानकारी दिए । उनले भने, “बर्डफ्लु रोगबारे सर्वसाधारणलाई जानकारी हुने गरी जनचेतनाका लागि सञ्चारमाध्यमलाई सन्देश प्रवाहका लागि अनुरोध गरेका छौँ ।”

डा श्रेष्ठका अनुसार बर्डफ्लु रोगको रोकथाम तथा न्यूनीकरणका लागि निरन्तर अनुगमन गरिने र पक्षी मरेमा स्थानीय तह पशुसेवा शाखा तथा केन्द्रमा जानकारी गराउन कृषकलाई अनुरोध गरिएको छ ।

तनहुँका प्रजिअ एवं बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिका अध्यक्ष भरतकुमार शर्माले बर्डफ्लु नियन्त्रणका लागि प्रशासनका तर्फबाट सहयोग रहने बताए । उनका अनुसार जिल्लाका नाकाबाट पक्षी आयातमा निगरानी थालिएको छ । जिल्लाका कुखुरा फार्म तथा जिउँदो पक्षी बिक्रीवितरण हुने बजार क्षेत्रमा प्राविधिक परिचालन गरी सक्रिय रूपमा सर्भेक्षण गर्न र जिल्ला प्रहरी कार्यालयबाट सक्रियरूपमा जनशक्ति परिचालन गर्न निर्देशन दिइएको उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button