तनहुँमा ग्रामीण पर्यटन प्रवर्द्धनका लागि साहित्य यात्रा सम्पन्न

पोखरा न्यूज १९, फागुन ।

साहित्यमार्फत ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित त्रिशूली वाङ्मय प्रतिष्ठानको आयोजनामा तनहुँको बन्दीपुर गाउँपालिका–३ रामकोटमा साहित्य यात्रा सम्पन्न भएको छ ।

नेपाल पर्यटन बोर्ड, बन्दीपुर गाउँपालिका, तनहुँ पर्यटन प्रवर्द्धन समाज काठमाडौँ, होटल बन्दीपुर अर्गानिक होमको सहयोगमा रामकोट–बन्दीपुर साहित्य यात्रा सम्पन्न भएको प्रतिष्ठानका अध्यक्ष श्रीहरि फुयाँलले जानकारी दिए ।

उनले साहित्यको माध्यमबाट पर्यटकीयस्थलको प्रचारप्रसार र प्रवर्द्धन गर्ने उद्देश्यसहित साहित्य यात्रा गरिएको जानकारी दिए । उनले भने, “वर्षौंदेखि साहित्य यात्रालाई निरन्तरता दिँदै आइरहेका छौँ, यसपटकको साहित्य यात्रामार्फत बन्दीपुर र वरपरको भूगोल बुझ्ने अवसर पायौँ ।”

देशका विभिन्न ठाउँबाट आएका साहित्यकारले यात्राकै क्रममा गरेका सिर्जनासमेत सो अवसरमा प्रस्तुत गरिएको थियो । त्यस्तै डा रामकुमार भौकाजीले बनाएका चित्रकलासमेत प्रदर्शनी गरिएको कार्यक्रम संयोजक राजेन्द्रमान डङ्गोलले जानकारी दिए ।

सो अवसरमा वरिष्ठ साहित्यकार तुलसी दिवसले साहित्यले जीवनको गुणस्तर कसरी सुधार गर्न सकिन्छ भन्ने कुरा प्रमुख चिन्तनको विषय भएको बताए । उनले कवि र साहित्यकारले अरूबाट निर्देशित नभइकन स्वचेतनाले कलम चलाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नियात्राकार युवराज नयाँघरेले साहित्य यात्रा कार्यक्रमका माध्यमले स्रष्टालाई विभिन्न समाजसँग जोड्न सहयोग गरेको बताए । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले साहित्य यात्राका लागि बन्दीपुरलाई छनोट गरेकोमा प्रतिष्ठानप्रति आभार व्यक्त गरे । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक राम लोहनीलगायत ३५ भन्दा बढी कवि, साहित्यकारको सहभागिता थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button