विदेशबाट फर्केर कुखुरापालन गर्दै बागलुङका दुई युवा

पोखरा न्यूज – २१, फागुन ।

बागलुङ नगरपालिका–४ कुडुलेका दुई युवाले विदेशबाट फर्केर गाउँमै कुखुरापालन थालेका छन् । सोचेजस्तो पारिश्रमिक नपाएपछि उनीहरुले स्वदेश फर्केर रु ५० लाखको लागतमा लेयर्स जातको कुखुरापालन गरेका हुन् ।

नौ वर्ष शिक्षण पेशा गरी सात वर्ष युरोपमा बसेका ३८ वर्षीय डिल्लीप्रसाद सापकोटा र पाँच वर्ष कतार बसेर फर्केका ३३ वर्षीय यामबहादुर केसीले संयुक्तरूपमा कुखुरापालन व्यवसाय शुरु गरेका हुन् । उनीहरुले पाँच महीना अघि सो व्यवसायको सुरुआत गरेका हुन् । “पैसा कमाउन धेरै ठाउँमा पुगियो, युरोपका पाँच देश पुग्दासमेत सन्तुष्ट हुन सकिएन”, सापकोटाले भने, “विदेशमा गर्ने दुःख स्वदेशमै गर्ने इच्छाले गाउँमै कुखुरापालन थाले ।”

अर्का व्यवसायी केसीले आफ्नै देशमा मालिक र कामदार आफैँ बन्ने रहर जागेर स्वदेश फर्केको बताए । “स्वदेशमै गरेको लगानी खेर जान्न भन्ने अपेक्षा राखेर व्यवसाय गर्न आएँ”, उनले भने । फार्ममा अहिले दुई हजार ५०० लेयर्स जातका कुखुरा छन् । दैनिक एक हजार ८०० अण्डा उत्पादन हुन्छ ।

“लगानी थप्दै गएका छौँ”, सापकोटाले भने, “दैनिक पाँच हजार अण्डा उत्पादन गर्ने लक्ष्य छ ।” उनीहरुको दैनिकी अहिले कुखुरालाई दानापानी दिन र हेरचाहमै बित्ने गरेको छ । बजारीकरण गर्न रु ३५ लाखमा जिप खरीद गरको उनले बताए । उत्पादित अण्डा  बागलुङ बजार, कुश्मा, म्याग्दी तथा गलकोट लगेर बिक्री गरिन्छ । उनीहरुले एक रोपनी जग्गा आफ्नै तथा एक रोपनी भाडामा लिई कुखुरापालन गर्दै आएका छन् । “जग्गाको भाडा वार्षिक रु २५ हजार तिर्ने गरेका छौँ”, सापकोटाले भने ।

Loading...
© Copyright 2019, All Rights Reserved | Pokhara News | नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।
Loading...

प्रतिक्रिया

तपाइको इमेल गोप्य राखिनेछ । अनिवार्य भर्नुपर्ने ठाउँ *

Back to top button
Close