हिमपातका कारण मुस्ताङमा सञ्चालित विकास आयोजना प्रभावित

पोखरा न्यूज – २१, फागुन ।

प्रतिकूल मौसम र निरन्तरको हिमपातका कारण मुस्ताङमा सञ्चालित विकास आयोजनाको काम प्रभावित भएको छ । स्थानीय तह, प्रदेश र सङ्घीय सरकार मातहतका कार्यालयले बजेट विनियोजन गरेका सडक, पुल, भवन, सिँचाइ, खानेपानीलगायतका पूर्वाधार आयोजना ठप्प भएका छन् ।

यसवर्ष फागुनको तेस्रो सातासम्म पनि हिमपात भएकाले विकासको काम ठप्प बनेको जिल्ला समन्वय समितिका प्रमुख छिरिङ ल्हमो गुरुङले बताए । दाङ, धादिङ, बाँके, बर्दियाबाट आएका मजदूर चिसोले काम गर्न नसकेपछि फर्किएका छन् । राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको मुस्ताङ खण्डको सडक विस्तार, पर्खाल र नाली निर्माणको काम पनि ठप्प छ ।

तयारी अवस्थामा रहेका चारवटा पक्की पुलको ढलान गर्ने काम पनि हिउँका कारण रोकिएको आयोजनाका प्रमुख मुकुन्द अधिकारीले बताए । आयोजनाको काम एक महीनापछि धकेलिएको उनको भनाइ छ । जोमसोम–कोरला सडकको निर्माण कम्पनी अमित विल्डर्सका सञ्चालक अमित तुलाचनले चिसोले काम गर्न नसकेपछि तराईबाट आएका मजदूर फर्किएको बताए ।

विकास आयोजनामा ढिलासुस्ती हुनुका साथै पूँजीगत बजेट परिचालनमा समस्या देखिएको छ । मुस्ताङका पाँचवटा स्थानीय तहले पनि बजेट विनियोजन गरेका योजना तथा कार्यक्रम कार्यान्वयन गर्न सकेका छैनन् । बजेट कार्यान्वयनका लागि अनुकूल मौसमको प्रतीक्षामा रहेको जनप्रतिनिधिको भनाइ छ । कागबेनीदेखि उपल्लो मुस्ताङ जोड्ने सडकमा पुसदेखि यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।

सडकमा बाक्लो हिउँ जमेकाले स्थानीयवासीलाई आवतजावत र ढुवानीमा समस्या भएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले डोजर परिचालन गरेर हिउँ पन्छाएपछि सोमबार कागबेनी–मुक्तिनाथ सडक खुलेको छ ।

जाडो छल्न बेँशी झरेका उपल्लो मुस्ताङका बासिन्दा घर फर्कन सकेका छैनन् । चरनको अभावले चौंरीगाई, भेडा र च्याङ्ग्रा मर्न थालेका छन् । मृग, घोरल, कस्तुरी मृगजस्ता वन्यजन्तु पनि आहाराको अभावले प्रभावित बनेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)की रेञ्जर धनु गुरुङले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button