हिमपातले अन्नपूर्ण बेसक्याम्पका ४ होटल भत्किए , चैत्र १५ सम्म बेसक्याम्प नखुल्ने

इतिहासमै पहिलोपटक यस्तो हिमपात भएको भनाई

दीननाथ बराल

पोखरा न्यूज – २४, फागुन

अत्याधिक हिमपातका कारण अन्नपूर्ण बेसक्याम्पमा रहेका ४ वटा होटल भत्किएका  छन्। लगातार हिमपातका कारण कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित अन्नपूर्ण बेसक्याम्पमा रहेका ४ वटा होटल भत्किएको होटल व्यवसायी जौ बहादुर गुरुङले बताए ।

दुई साता देखि लगातार हिमपात परेकोले गर्दा अन्नपूर्ण बेस क्याम्पमा रहेका अन्नपूर्ण सेन्चुरी लज, होटल स्नोल्याण्ड, अन्नपूर्ण गेष्ट हाउस र प्याराडाईज गार्डेन पुरिएको र  पुरिदा होटलहरु भत्किएसंगै के कति क्षति पुगेको छ  सोको बारे अहिले सम्म  आंकलन समेत गर्न नसकिएको व्यवसायी गुरुङले पोखरा न्यूजलाई बताए । अन्नपूर्ण सेन्चुरी लजका संचालक समेत रहेका गुरुङले आगामी वैशाख देखि आफुहरुले उक्त क्षेत्रमा जेन तेन होटलहरु संचालक गर्ने तयारी सुरु गर्ने योजना भएको बताए ।

उनका अनुसार यही फागुन ११ गते देखि अन्नपुर्ण आधार शिविरमा अत्याधिक हिमपात परेकोले होटल संचालकहरुले विभिन्न एयरलायन्स कम्पनीहरुसंग हार गुहार गरी समयमै उद्धार गर्दै  मानविय क्षति हुनबाट बचाइएको हो । सिम्रिक एयर, प्रभु एयरलायन्स र एयर डाइनेष्टिकले ४ होटलमा रहेका कर्मचारी सहितका १४ जनाको रेस्क्यू (उद्धार) गरेको थियो । उनले पोखरा न्यूजसँग  भने “ अन्नपूर्ण वेस क्याम्पमा ऐतिहासिक घटना जस्तो भयो, २०३८ साल देखि छाप्राबाट व्यवसाय सुरु गरे पनि आज सम्म आउदा यस्तो हिमपातले उठिवास नै हुनु परेको यो पहिलो घटना हो । ” समुद्रि सतह देखि ४ हजार  उचाइमा रहेको अन्नपूर्ण वेसक्याम्पमा हिजो आज पनि हिमपात पार्न नरोकिएको होटल व्यवसायी गुरुङले बताए ।

उक्त क्षेत्रमा  एक रातमा प्रति होटल करिब ४० जना गरी  करिब १ सय ६० जनाको क्षमता रहेको उनले जनाए । त्यसै गरी देउरालीमा समेत ३ होटलमा हिमपातले क्षति पुगेको बताइएको छ । अन्नपुर्ण बेस क्याम्प जाने बाटोमा बाक्लो हिउँ भएको र अझै हिउ पर्न नरोकिएकोले उक्त क्षेत्रमा पर्यटकहरु जान हाल रोक लगाइएको छ ।

अन्नपूर्ण गाँउपालिकाका प्रमुख युवराज कुवंरले अन्नपूर्ण बेस क्याप क्षेत्रमा अत्याधिक हिमपात परेकोले चैत्र १५ अगाडी पर्यटकहरु घुमघाममा जान सक्ने वातावरण नभएको बताए । उनले पोखरा न्यूज सँग भने “ हाल अन्नपूर्ण वेसक्याम्पमा खान बस्नको कुनै व्यबस्था छैन, बाटोमा करिब १० फिटसम्म बाक्लो हिउ छ, प्रतिकुल मौसमले गर्दा अन्नपूर्ण बेस क्याम्पका होटलहरु समेत भत्केका र पुरिएकाछन् ।

स्थानिय बृद्धबृद्धाहरुका अनुसार अन्नपूर्ण वेस क्याम्प क्षेत्रमा  पहिलो पटक अत्याधिक हिउ परेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button