बाग्लुङका ११ होटल तथा रेष्टुराँ स्तरीकरण

पोखरा न्यूज – २४, फागुन ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले बागलुङले दोस्रोपटक जिल्ला सदरमुकाम बागलुङ बजारका ११ होटल तथा रेष्टुराँको स्तरीकरण गरेको छ ।

‘होटल तथा रेष्टुराँ स्तरीकरण निर्देशिका, २०७४’ बमोजिम कार्यालयले होटल तथा रेष्टुराँको स्तरीकरणलाई तीव्रता दिएको हो । दोस्रो चरणमा ११ होटल तथा रेष्टुराँलाई स्तरीकरण गरेको गुण नियन्त्रण कार्यालयले जनाएको छ ।

सदरमुकामको होटल रेड एप्पल, हट किचन एण्ड तन्दुरी रेष्टुरेन्ट, हाम्रो फेमिली गार्डेन रेष्टुरेन्ट, रिघा गृहलक्ष्मी होटल, वेष्ट वन रेष्टुरेन्ट, ब्राउन आइज रेष्ट्रो, बाटिका रेष्टुरेन्ट र बेम्बो होटलले सन्तोषजनक ‘ग’ श्रेणीको मान्यता पाएका छन् । ‘ग’ श्रेणीका होटल रेन्टुराँलाई एक तारासहितको हरियो स्टिकर र प्रमाणपत्र प्रदान गरिएको कार्यालयका निमित्त प्रमुख केदार पौडेलले जानकारी दिए ।

अनुगमनका क्रममा धवलागिरि खाजा घर एण्ड मिठाइ पसल र जयश्री मुक्तिनाथ मिष्ठान्न भण्डारले सामान्य ‘घ’ श्रेणीको मान्यता पाएका छन् । निमित्त कार्यालय प्रमुख पौडेलका अनुसार मुखै रसायो खाजाघरले न्यूनतम ५० अङ्कसमेत प्राप्त गर्न नसक्दा वर्गीकरणमा नपरेको र लोगो प्राप्त नगरेको पौडेलले जानकारी दिए ।

कार्यालयका अनुसार होटल तथा रेष्टुराँको बाहिरी परिधिको सरसफाइको अवस्था, भुइँ, भित्ता र सिलिङको स्थिति, खाद्यवस्तुको सम्पर्कमा आउने स्थलको अवस्था, सरसफाइ गर्न प्रयोगमा ल्याइने रसायन तथा विषादी प्रयोग र भण्डारण तथा ढल निकासको व्यवस्थित प्रणालीलगायतलाई मूल्याङ्कनको आधार हुन् ।

वर्गीकरणका लागि निर्देशिकामा उल्लेख गरिएका ५० प्रश्नको उत्तर दिने क्रममा सबैभन्दा बढी अङक ल्याउने व्यवसायलाई अति उत्तम, त्यसपछि उत्तम, मध्यम (सन्तोषजनक) र सामान्य श्रेणीको प्रमाणपत्रको लोगो दिइन्छ । अति उत्तम श्रेणीको होटल–रेष्टुराँले तीन तारा र (क) सहित अतिउत्तम लेखिएको हरियो स्टिकर पाउनेछ । यो लोगोे पाउन होटल रेष्टुराँले तोकिएको मापदण्डबमोजिम ९० भन्दा बढी अङ्क प्राप्त गर्नुपर्छ ।

त्यस्तै उत्तम श्रेणीको खाद्य व्यवसायले दुई तारा र (ख) सहित उत्तम लेखिएको हरियो स्टिकर पाउनेछन् । यस्तो लोगोे पाउन ८० भन्दामाथि ८९ सम्म अङ्क प्राप्त गर्नुपर्ने हुन्छ । यसैगरी मध्यम श्रेणी (सन्तोषजनक)को लोगो पाउन ६५ देखि ७९ बीचको अङ्क प्राप्त गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । यस्तो लोगो पाउने होटल रेष्टुराँ एउटा तारा र (ग) सहित सन्तोषजनक लेखिएको हरियो स्टिकर पाउनेछन् ।

सामान्य श्रेणीको लोगोमा (घ) सहित सामान्य लेखेको स्टिकर उल्लेख हुनेछ । यो श्रेणीको लोगो पाउन ५० देखि ६० बीचको अङ्क प्राप्त गर्नुपर्ने व्यवस्था छ । त्यस्तै पानी आपूर्तिका पाइप तथा अन्य प्रयोगका पाइपको अवस्था, खाना बनाउने, खाना खुवाउने तथा भण्डारण कोठामा प्राकृतिक वा कृत्रिम प्रकाशको स्थिति, प्राकृतिक र यान्त्रिक भेन्टिलेसन, भाँडाकुँडाको व्यवस्थापन, सरसफाइ प्रयोजनका लागि पर्याप्त पानीको आपूर्ति, पिउने प्रयोजनका लागि प्रशोधित तथा पिउनयोग्य पानीको व्यवस्थालगायत पनि मूल्याङ्कन मापदण्डमा उल्लेख छ ।

पहिलो पटक गरेको स्तरीकरणमा पनि बागलुङका पाँच होटल तथा रेष्टुराँ ‘ग’ श्रेणीमा परेका थिए । हालसम्म जिल्लामा सञ्चालित कुनै पनि होटल रेष्टुरेन्टले ‘क’ र ‘ख’ श्रेणीको स्टिकर प्राप्त गर्न सकेका छैनन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button