सरकार र सिके राउतबीचको वार्ता सकारात्मक छः सभापति देउवा

पोखरा न्यूज – २६, फागुन ।

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सिके राउतसँग गरेको वार्ता सकारात्मक रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “देशलाई विभाजन गर्नुपर्छ भन्ने मत राख्ने समूहलाई मुलुकको अखण्डतालाई स्वीकार गरी शान्तिपूर्ण बाटोबाट मूलधारमा ल्याउनुु राम्रो पक्ष रहेको छ ।”

सभापति देउवाले सरकार र राउत समूहबीच भएको सहमतिपत्रको बुँदामा प्रयोग गरिएको जनअभिमत शब्दलाई जनमत सङ्ग्रहका रुपमा स्वीकार गर्न नसकिने बताए । ‘‘मैले सरकारले सहमति गरेको भन्ने सुनेको छु, तर सबै बुँदा पढेको छैन, नेपालको केही भूभागको विषयमा जनमत सङ्ग्रह हुन सक्दैन,’’ उनले भने ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले केही बुँदामा अस्पष्टता भए त्यसलाई सरकारले प्रस्ट पार्नु पर्ने बताउँदै आफूले पार्टीमा कसैको अधिकार नखोसेको स्पष्ट पारे ।

पार्टीको विधानानुसार नै आफू चलेको बताउँदै उनले पार्टीमा आन्तरिक प्रतिस्पर्धाका लागि सबैलाई खुला रहेको समेत बताए । ‘‘पार्टीमा चुनाव लड्न सबैलाई अधिकार छ, पार्टीभित्रको एकता कायम गर्न म सधैं तयार छु,’’ उनले भने ।

सभापति देउवाले नेविसङ्घभित्रको उमेरहद र निर्वाचनको विवाद सङ्गठनभित्रको आन्तरिक विवाद रहेको उल्लेख गर्दै विद्यानानुसार नै पार्टीलाई अघि बढाइने बताए । वाइडबडी भष्ट्राचारमा तत्कालीन सरकारको नेतृत्व आफूले गरेको भए पनि मन्त्रालय आफूसँग नजोडिएकाले आफूलाई केही जानकारी नभएको प्रतिक्रिया उनले दिए ।

सभापति देउवाले नेपालका बहुसङ्ख्यक नागरिक हिन्दू रहेको बताउँदै देशमा अन्य नागरिकले पनि विभिन्न धर्म मान्ने भएकाले नेपाललाई हिन्दू राज्य घोषणा गर्न सम्भव नहुने बताए ।

Loading...
© Copyright 2019, All Rights Reserved | Pokhara News | नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।
Loading...

प्रतिक्रिया

तपाइको इमेल गोप्य राखिनेछ । अनिवार्य भर्नुपर्ने ठाउँ *

Back to top button
Close