गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान विधेयक विधायन समितिमा पठाइने

पोखरा न्यूज – २६, फागुन ।

गण्डकी प्रदेशसभाको आज बसेको बैठकले ‘गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ छलफलका लागि विधायन समितिमा पठाउने निर्णय गरेको छ ।

प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले विधेयकलाई थप छलफलका लागि विधायन समितिमा पठाइयोस् भन्दै गरेका प्रस्तावलाई सर्वसम्मत पारित गरिएको हो । यसअघि विधेयकमाथिको सामान्य छलफलमा प्रदेशसभा सदस्य मीनप्रसाद गुरुङ, धनमाया पोख्रेल लामा, मित्रकुमारी गुरुङ सुवेदी र डोबाटे विश्वकर्माले प्रशासनिक प्रभावकारिताका लागि विधेयक उपयुक्त बन्ने धारणा राखे  ।

बैठकको विशेष समयमा प्रदेशसभा सदस्य दीपक कोइराला, विन्दुकुमार थापा र मनबहादुर गुरुङले पृथ्वीराजमार्गअन्तर्गतको पोखरा जोड्ने विजयपुर खोलाको पुल निर्माण भएको छोटो समयमानै चर्केको बताउँदै सरकारको ध्यानाकर्षण गराए ।

एघार वर्षकै अवधिमा पुल चर्केका कारण यसको छानबिन हुनुपर्ने बताउँदै उनीहरुले आवतजावतमा अत्यन्त महत्व राख्ने पुलको तत्काल वैकल्पिक व्यवस्थापन गर्दै यातायात सुचारु गराउनुपर्नेमा जोड दिए  । प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले हिमाली क्षेत्रमा हालै भएको भारी हिमपातले ठूलो भौतिक क्षति भएको बताउँदै यसबाट जनजीवनमा परेको असरप्रति सरकार गम्भीर बन्नुपर्ने बताए  । हिमपातसँगैको हिमआँधीका कारण पशुचौपाया मर्नुका साथै कृषकहरु मारमा परेको बताउँदै उनले वास्तविक पीडितको पहिचान गरी राहत तथा सहयोग उपलव्ध गराउन माग गरे  ।

प्रदेशसभा सदस्य राजीव पहारीले हिमआँधीका कारण अन्नपूर्ण आधार शिविरमा चारवटा होटल क्षतिग्रस्त भएको बताउँदै पीडितलाई क्षतिपूर्तिका साथै पर्यटकलाई सहजरुपमा उक्त स्थानमा पुग्ने किसिमको वातावरण तयार गर्नुपर्नेमा जोड दिए  । सदस्य मेखलाल श्रेष्ठले सरकारले शान्ति सुव्यवस्थाका साथै रोजगारीको प्रत्याभूति गराउन नसकेको आरोप लगाउँदै जनताको अपेक्षालाई पूरा गर्ने गरी सरकार अघि बढ्नुपर्ने धारणा राखे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button