वैशाखमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने

पोखरा न्यूज – २६, फागुन ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालन हुने राष्ट्रिय महिला भलिबल प्रतियोगिता आगामी वैशाखमा हुने भएको छ ।

राष्ट्रिय खेलकूद परिषद्को सहयोग एवं नेपाल भलिबल सङ्घको प्राविधिक सहयोगमा हुने सो प्रतियोगिता आगामी वैशाख १० देखि १३ गतेसम्म सञ्चालन हुनेछ । आज आयोजित कार्यक्रममा नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले सो प्रतियोगितालाई जापानको बहुराष्ट्रिय कम्पनी केएनपीले मुख्य प्रायोजन गरेको जानकारी दिए ।

सो अवसरमा केएनपी जापानका नेपाल प्रमुख मनोजकुमार मिश्र र शेरबहादुर खड्का स्मृति प्रतिष्ठानका संरक्षक गमली खड्काबीच सम्झौतापत्र आदानप्रदान भएको हो । केएनपी जापानका नेपाल प्रमुख मिश्रले समाजलाई एकतामा बाँध्ने खेलकूद क्षेत्रमा कम्पनी जोडिन पाउँदा खुशी व्यक्त गरे । “हामी प्रतियोगिताको गरिमालाई बढाउन कुनै कसर बाँकी राख्ने छैनौँ”, उनले भने ।

सम्झौता अनुसार सो प्रतियोगिता अब ‘पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिता’को नामले सञ्चालन हुनेछ । नेपालको राष्ट्रिय खेल भलिबल घोषणा भएपछि तेस्रो पटक मुख्य प्रायोजकको जिम्मेवारी सम्हालेको केएनपी जापानले आपसी समझदारीमा नगद, मञ्च व्यवस्थापन, होडिङ बोर्ड, तुल, ब्यानरलगायत फुटकर खर्चमा आयोजकसँग सहकार्य गर्ने सम्झौतामा उल्लेख छ ।

नेपाल भलिबल सङ्घका महासचिव चन्दले नेपाली भलिबलको विकास र विस्तारमा कर्पोरेट क्षेत्रको महत्वपूर्ण भूमिका रहँदै आएको बताए । उक्त प्रतियोगितामा साविक विजेता एपीएफ, न्यूडायमण्ड एकेडेमी, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, पश्चिमाञ्चल र जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रले लिगकम नकाउटका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख र तृतीय हुने टिमले रु ५० हजार पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोेकृष्ट खेलाडी र शेरबहादुर खड्का स्पेशल अवार्ड विजेताले जनही रु १५ हजार प्राप्त गर्नेछन् । आयोजकका अनुसार चार दिनसम्म चल्ने सो प्रतियोगिता सञ्चालन गर्न अनुमानित रु २१ लाख लाग्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button