विकासको युग शुरु भयो : मुख्यमन्त्री गुरुङ

पोखरा न्यूज – २७, फागुन ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अब विकासको युग शुरुआत भएको बताएका छन  ।

कास्कीको रुपा गाउँपालिकाले स्थानीय तह स्थापना दिवसका अवसरमा आज आयोजना गरेको ‘गण्डकी प्रदेशस्तरीय प्रथम अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता’को समापन समारोहमा उन देशका तीनै तहका सरकार विकास र समृद्धिमा एकजुट भएर लागेकाले विकासको युग शुरु भएको बताए ।

अहिलेका तीनै तहका सरकार जनताको आवश्यकताअनुसार कानून, बजेट तथा आवश्यक नीति निर्माणमा स्वायत्त भएको भन्दै मुख्यमन्त्री गुरुङले भने, “विगतमा तीन-चार लाख बजेट आउने स्थानीय निकायमा अहिले करोडौँको बजेट छ । बजेट कार्यक्रमका लागि माथिको मुख ताक्नुपर्ने अवस्था नभएकाले योजना निर्माण र आफ्नो काम आफैं गर्न सक्छन् । अब विकासको युग शुरु भयो ।”

मुख्यमन्त्री गुरुङले ठूला आयोजना सञ्चालन र विदेशी सहयोग ल्याउने काम सङ्घीय सरकारको भएको तथा प्रदेश र स्थानीय सरकारले नजीकबाट आवश्यकताको आधारमा योजना तर्जुमा र कार्यान्वयन गर्ने भएकाले अब विकास सम्भव भएको स्पष्ट पारे ।

प्रदेश सरकारले आवश्यक कानून, कार्यविधि र आधार तयार गरिरहेकाले कामको नजिता नदेखिएको भन्दै उनले भने, “प्रदेश सरकार अहिले गर्भमा छ । पाँच, १२ र २५ वर्षको योजना निर्माण गरिरहेका छौँ । अहिले सरकारको मूल्याङ्कन गर्न हतारो नगरौँ, अर्को वर्ष सरकारको उपस्थिति कहाँ छ देख्नुहोला ।”

संविधानसभाका सदस्य कृष्णबहादुर गुरुङले रुपा गाउँपालिका पर्यटन र कृषिमा अग्रणी भएपनि बजार झर्ने प्रवृत्ति नरोकिएकाले गाउँघर खाली हुने अवस्था आएको चिन्ता व्यक्त गरे। उहाँले गाउँमै स्वरोजगार र आम्दानीका अवसर सिर्जना गर्नुपर्ने भनाइ राखे ।

गण्डकी प्रदेशसभा सदस्य दीपक कोइरालाले प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री नमूना कृषि गाउँ, खानेपानी, सडकलगायत पूर्वाधार निर्माणमा बजेट विनियोजन भएकाले त्यसको समयमै कार्यान्वयन गर्नुपर्ने बताए।

जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले रुपा गाउँपालिकाले सडक, खानेपानी र सामाजिक विकासको क्षेत्रमा नमूना कार्य गरेको चर्चा गरे। गाउँपालिका अध्यक्ष नवराज ओझाले आगामी दुई वर्षभित्र गाउँपालिकाभित्रका तीन हजार २०० घरधुरीमा पिउने पानी र विद्युत्को व्यवस्था गर्ने गरी योजना निर्माण गरिरहेको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button