तनहुँको भिमादलाई प्रथम प्रादेशिक भलिबलको उपाधि

पोखरा न्यूज – २८, फागुन ।

कास्कीको रूपा गाउँपालिकाको आयोजनामा स्थानीय तह स्थापना दिवसको अवसरमा गण्डकी प्रदेशअन्तर्गत स्थापित तहहरुबीच भएको ‘प्रथम अध्यक्ष कप खुला भलिबल प्रतियोगिता’को उपाधि तनहुँको भिमाद नगरपालिकाले जितेको छ ।

यही फागुन २४ गतेबाट शुरु भएको प्रतियोगितामा सोमबार भएको फाइनल खेलमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकालाई ३–१ सेटमा पराजित गरी भिमादले उपाधिसहित नगद रु एक लाख तथा ट्रफी हात पार्न सफल भयो ।

उपविजेजता बनेको कालीगण्डकीले नगद रु ७० हजार, तृतीय घिरिङ गाउँपालिका तनहुँले नगद रु ५० हजार तथा सान्त्वना स्थान हासिल गरेको पोखरा महानगरपालिकाले रु २० हजार पुरस्कार पाए । आयोजक रूपाले अनुशासित टिमको उपाधि प्राप्त गरी नगद रु १० हजार प्राप्त गर्न सफल भयो । पचासी स्थानीय तह रहेको गण्डकी प्रदेशमा प्रतियोगितामा १९ टिमले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी भिमादका निर्मल शाही ठकुरी, स्पाइकर कालीगण्डकीका हरि पाण्डे, ब्लकर भिमादका मिलन राना, सर्भर घिरिङका मिलन चन्द ठकुरी, सेटर भिमादका विवश आले तथा लिब्रो कालीगण्डकीका पोलसिंह राना बन्न सफल भए । उनीहरूलाई भई जनही नगद रु तीन हजार तथा ट्रफी प्रदान गरियो ।

त्यस्तै वडास्तरीय झाँकी प्रतियोगिताको उपाधि वडा नं ५ मा रहेको फेदी नेवा सांस्कृतिक गुठीले जितेको छ । शान्ति रूपा तमु समाज, वडा नं ६ द्वितीय, वडा नं ३ को नेपाल कुमाल समाज सुधार समिति तृतीय र चिसापानी जलकुमारी आमा समूह वडा नं ६ ले सान्त्वना स्थान हासिल गरी नगद क्रमशः रु २० हजार, १५ हजार, १० हजार तथा पाँच हजार पुरस्कार प्राप्त गरे । प्रतियोगितामा २८ टिमले सहभागिता जनाएका थिए ।

भलिबल तथा झाँकी प्रतियोगिताको विजेता, उपविजेता तथा विधागत रूपमा उत्कृष्ट खेलाडीलाई संविधानसभाका सदस्य कृष्णबहादुर गुरुङ, जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्री, गाउँपालिका अध्यक्ष नवराज ओझा, उपाध्यक्ष लालसुब्बा गुरुङ तथा पूर्वगाविस अध्यक्ष टीकाराम पङ्गेनीलगायतले पुरस्कार वितरण गरेका थिए ।

झाँकी प्रतियोगिताको निर्णायकमा वरिष्ठ लोकदोहोरी गायक प्रजापति पराजुली तथा अग्रज पत्रकार बद्रीविनोद प्रतीक थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button