अन्नपूर्ण पदमार्गको पुनःनिर्माण गर्न माग

पोखरा न्यूज – २८, फागुन ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घले अत्यधिक हिमपातका कारण अन्नपूर्ण चक्रिय पदमार्गसहितका पदमार्गमा ठूलो क्षति भएको भन्दै तत्काल पुनःनिर्माणका लागि सहयोग गर्न प्रदेश सरकारसँग माग गरेको छ ।

टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेल नेतृत्वको टोलीले आज गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङलाई भेटी यस पटकको भारी हिमपातले पदमार्ग क्षेत्रका बाटाहरू ठूलो सङ्ख्यामा भत्कन पुगेका कारण तत्काल पुनः निर्माण गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

वर्षेनी ठूलो सङ्ख्यामा विदेशी पर्यटक पदयात्राकै लागि आउने गरेको बताउँदै अध्यक्ष भुजेलले पदयात्राको दोस्रो सिजन शुरु भैइसकेका अवस्थामा पदयात्राकै लागि आउने पर्यटकमा पर्न जाने मर्काप्रति गम्भीर बन्न सरकारको ध्यानकर्षण गराइएको बताए ।

स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बनेको अन्नपूर्ण चक्रिय पदमार्ग विश्वकै प्रसिद्ध १० पदयात्रामार्ग मध्येमा पाँचौँ स्थानमा पर्दछ । अन्नपूर्ण चक्रिय पदमार्गका साथै आसपासका पदमार्गमा यस पटकको हिमपातले ठूलो क्षति पुर्याएको उनले जानकारी दिए ।

अन्नपूर्ण चक्रिय पदमार्गसहित अन्य पदमार्गमा पदयात्रा गर्न विशेषतः पहिलो सिजन अगष्ट, सेप्टेम्बर, अक्टोबर र नोभेम्बर हो भने दोस्रो सिजन मार्च, अप्रिल र मे हो । अन्नपूर्ण सेरोफेरोमा उपल्लो मुस्ताङ, अन्नपूर्ण सर्किट ट्रेक, अन्नपूर्ण सेक्युरिटी ट्रेक, घान्द्रुक घोरेपानी सर्किट ट्रेक, घलेखर्क सर्किट ट्रेक राउण्ड मनास्लु, घाद्रुक, घम्पुस, जोमसोम, नारफूलगायतका दर्जनौँ सङ्ख्यामा उत्कृष्ट पदयात्रा मार्ग छन् ।

नेपालमा आउने विदेशी पर्यटकमध्ये ७५ प्रतिशतभन्दा बढी विदेशी पर्यटक पदयात्राकै लागि आउने गरेको उनले बताए । हिमपातसँगै अन्नपूर्ण चक्रिय पदमार्गलाई लक्षित गरी आएका पर्यटक समस्यामा पर्ने गरेको बताउँदै अध्यक्ष भुजेलले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्रै पर्यटक दोहोरो शुल्कको मारमा समेत पर्ने गरेको बताए ।

“बेसिशहर हुँदै अन्नपूर्ण चक्रिय पदमार्गमा पदयात्राका लागि जाने पर्यटक हिमपातसँगै उक्त क्षेत्रमा जान नसक्ने भएपछि त्यहाँबाट फर्केर बिरेठाँटी हुँदै पुन हिल तथा मर्दी ट्रेक जाने इच्छा गर्ने गरेका पनि छन्,” उनले भने, “बेसिशहरमा एक्यापका लागि प्रवेश शुल्क बुझाइसकेका पर्यटकसँग बिरेठाँटीमा पुनः दोहोरो शुल्क लिनु राम्रो होइन, उनीहरूलाई पहिलेकै शुल्कमा जाने व्यवस्था मिलाइनुपर्छ ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button