कैलाश विकास बैंक लामाचौरका कर्मचारीद्धारा करोड भन्दा बढी रकम ठगि गरेको आरोप

पोखरा न्यूज -२८, फागुन । कैलाश विकास बैंकका एक कर्मचारीले पन्थी इन्ड्रष्टिज अन्तर्गत  पन्थी डेरी प्रा.लि.को रकम हिनामिना गरेको आरोप लागेको छ । कैलाश विकास बैंक लामाचौर शाखाका तत्कालिन शाखा प्रमुख नरेन्द्र थापाले पन्थी डेरीको एक करोड भन्दा बढी रकम हिनामिना गरेको पन्थी इन्ड्रष्टिजका संचालक रेशमराज पन्थीले आरोप लगाएका हुन्  ।

उनले भने “ कैलाश विकास बैंक लामाचौर शाखाका तत्कालिन शाखा प्रमुख नरेन्द्र थापाले घुमाउरो बाटोबाट मेरो कम्पनीको एक करोड १९ लाख भन्दा बढी रकम विभिन्न व्यक्ति तथा संस्थाहरुलाई चेक मार्फत दिएको छ, तर हालसम्म उक्त रकमको मैले बैंकलाई नियम अनुसारको व्याज तिर्दै आएको छु । ” बैंकका कर्मचारीले आफ्नो कम्पनीको रकम हिनामिना गरेको बिषयमा विभिन्न ठाँउमा गुहार्दा समेत हालसम्म कुनै ठाँउबाट आफुले न्याय पाउन नसकेको उनले गुनासो गरे ।

बैंकका तत्कालिन शाखा प्रमुख थापाले खाली चेकमा हस्ताक्षर गर्न लगाएर आफ्नो कम्पनीको छाप र हस्ताक्षर सहितको खाली चेक आफैसंग राखि आफुलाई समेत जानकारी नगराई ऋणको रकम खातामा हाली हिनामिना गरेको पन्थीले बताए । पोखरा औधोगिक क्षेत्रमा रहेको पन्थी इन्ड्रष्टिज अन्तर्गत पन्थी डेरी प्रा.लि. संचालनको लागि आवश्यक पर्ने ५ करोड ऋण पन्थीले माग गरेपछि कैलाश विकास बैक लामाचौर शाखाले अर्को बैंकमा रहेको निजको धितो फुकुवा गराउनको लागि एक करोड ७५ लाख रुपैया दिएको थियो । उक्त रकम बैंकले धितो रोक्का हुनु पुर्व पन्थीलाई उपलब्ध गराएको देखिन्छ । बैंकले उपलब्ध गराएको बैंक स्टेटमेन्ट अनुसार गत भर्दौं १३ गते एक करोड ५० लाख रुपैया ऋण लगानी गरेको देखिन्छ । तर तत्कालिन शाखा प्रमुख थापाले ऋण लगानी एक महिना पछि हुने बताउदै आवश्यक प्रक्रियाको लागि भन्दै खाली चेकमा हस्ताक्षर गराउन लगाई चेक र कम्पनीको छाप आफैसंग राखेको पन्थी बताउछन्।

पन्थीले उक्त समयमा आफ्नो लागि ऋण लगानी भएको र खातामा पैसा आएको जानकारी नै नपाएको तर तत्कालिन शाखा प्रमुख थापाले भने तत्कालै ऋण लगानी गरी खातामा पैसा राखि आफुखुसि विभिन्न व्यक्ति तथा संस्स्थाको नाममा चेक काटेर पन्थीको खाताबाट रकम हिनाहिना गरेको पन्थीको आरोप छ । पन्थीकी छोरी निशा पन्थीको समेत हस्ताक्षर चल्ने गरी पन्थीले बैंकमा खाता खोलेका थिए । तत्कालिन शाखा प्रमुख थापाले आफुलाई शाखामा पटक पटक वोलाएर दबाबमा पारी हस्ताक्षर नगरे ऋण लगानी रोकिदिने र ऋण लगानी पूर्व दिएको एक करोड ७५ लाख समेत फिर्ता गर्नु पर्ने धम्की दिदै विभिन्न व्यक्ति तथा संस्थाको नाममा चेक काट्न लगाई हस्ताक्षर गराएको निशाको आरोप छ । उनले रुदै भनिन “ नरेन्द्र सरले मलाई बैंकमा वोलाएर विभिन्न व्यक्ति तथा संस्थाको नाममा चेक काट्न लगाई हस्ताक्षर गर्न लगाउदै बाबालाई भनिस भने ऋण लगानी पनि रोकिदिन्छु र तैलै पहिलाको रकम एक करोड ७५ लाख समेत फिर्ता गर्नुपर्छ भन्नुभयो । ”

ऋण रोकिने डर र पैसा समेत फिर्ता गर्नुपर्ने धम्की दिए पछि बाध्य भएर बाबुलाई नभनि आफुले चेकमा हस्ताक्षर गरेको निशाको भनाईछ । बैंकले थप २ करोड पन्थी इन्ड्रष्टिजका लागी ऋण स्वीकृत गरेको थियो । तत्कालिन शाखा प्रमुख थापाले पन्थी इन्ड्रष्टिजका लागि स्वीकृत भएको रकम हो भन्दै पन्थी डेरीको चेकमा दबाबमा पारी आफुलाई हस्तक्षर गर्न लगाएको निशाको भनाइ छ । बैंकको स्टेटमेन्ट अनुसार गण्डकी ईन्जिनियरीङको नाममा ४५ लाख, लेकसाइड हार्डवयरमा १३ लाख, सोवित पहारीको नाममा ४ लाख ५० हजार, आर्क दी आर्किटेक्चरको नाममा २० लाख, पन्थी डेरीको नाममा २५ लाख, निशा पन्थीको नाममा ५ लाख विभिन्न समयमा साटिएको देखिन्छ । उल्लेखित कुनै पनि रकम पन्थी कम्पनी तथा पन्थी परिवारले नलिएको निशाको दाबी छ । साथै निशाले केही नगद रकम समेत तत्कालित शाखा प्रमुखको दबाबमा केही व्यक्तिलाई दिएको  बताइन।

चाइनाबाट कम्पनीमा मेसिन भित्राउनको लागि एलसी खोल्नु पर्ने भएकोले बैंक स्टेटमेन्ट हेर्दा पन्थीले आफ्नो खातामा रहेको रकम हिनामिना भएको जानकारी पाएका हुन्। रकम हिनामिना भएको थाहा पाएपछि तत्कालिन शाखा प्रमुख थापालाई बेैंकले लामाचौर शाखाबाट लेकसाईड शाखामा सरुवा गर्दै पछि निलम्वन समेत गरेको छ । यस बिषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले आफ्ना कर्मचारी नरेन्द्र थापाको बिषयमा हाल अनुसन्धान भइरहेको बताए । पन्थीको रकम अर्कोको नामबाट आफ्ना कर्मचारीले सापटीको रुपमा दिएको  सिइओ श्रेष्ठले जनाए ।

यस बिषयमा भने तत्कालिन शाखा प्रमुख नरेन्द्र थापाले पन्थीको रकम आफुले हिनामिना नगरेको बताए । निशा पन्थीले विभिन्न व्यक्ति तथा संस्थालाई पन्थी डेरीको रकम दिएको उनले जनाए । आफुले कुनै रकम हिनामिना गरेको पुष्टि भएमा कारवाही भोग्न तयार रहेको उनले जनाए ।

नेपाल राष्ट्र बैंक पोखराका प्रमुख पोमनाथ गौतमले कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुले गरेको हिनामिनाको मुद्धाहरु केन्द्रले हेर्ने गरेको बताए । कैंलाश विकास बैंकको रकम हिनामिना भएको बिषयमा भने पुलिसबाटै कारवाही हुने बताए । उनले भने “ कुनै व्यक्तिको रकम हिनामिना गर्नु सिधै ठगि हो, यस्ता केसमा ठगि मुद्धा लाग्छ, यस्तो मुद्धा पुलिसले हेर्छ, पुलिसबाट यसको समाधान हुन्छ । ”

कैशाल विकास बैंक लामाचौर शाखाबाट विगत दुई बर्ष अघि पनि करिब ३ करोड भन्दा बढी रकम ठगि भएको थियो । तत्कालिन शाखा प्रमुख  रविचन्द्र खनालले करिब ३ करोड भन्दा बढी रकम हिनामिना गरेका थिए । उनी हालसम्म फरारनै छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button