पोखरामा बहुसंख्यक प्याराग्लाइडिङ कम्पनीले समयसीमामा कर तिरेनन् , भोलिदेखि महानगरले कारवाही सुरु गर्ने

पोखरा  न्यूज – २९, फागुन । पोखरामा बहुसंख्यक प्याराग्लाइडिङ कम्पनीले महानगरले दिएको समयसीमामा कर तिरेनन् ।  पोखराका १६ वटा प्याराग्लाइडिङ कम्पनीहरुले मात्र पोखरा महानगरपालिकाले दिएको समय सिमाभित्र स्थानिय कर सहित नविकरण तथा दर्ता गरेका छन्।

पोखरा महानगरपालिकाले कर नतिर्ने प्याराग्लाईडिङ कम्पनीलाई गत बुधबार देखि प्याराग्लाईडिङ उडान गर्न नदिने चेतावनी दिएसंगै एक हप्ता भित्र कर तिर्नेे सहमति भएतापनि  एक हप्तामा १६ वटा कम्पनीहरुले मात्र कर तिरेर  नविकरण तथा दर्ता गराएको पोखरा महानगरपालिकाका राजश्व शाखा प्रमुख छवि शर्माले बताए । उनका अनुसार व्यवसायीहरुले एक दिन समय सिमा माग गरेकोले बुधबार एक दिन  म्याद थप गरी विहिबारदेखि राजश्व नतिर्ने  कम्पनीहरुलाई कारवाही स्वरुप पोखरामा प्याराग्लाइडिङ गर्न नदिने भएको छ ।

माउन्टेन भ्यू प्याराग्लाइडिङ, ब्लू स्काई प्याराग्लाइडिङ, हिमालयन फ्रन्ट्राएर, मिसन टु हिमालयन, पिस हिमालयन, फोनिक्स , टिम फाइब, पोखरा अल्ट्रालाईट, फ्लाई निरभाना, न्यू प्यारा वल्र्ड प्याराग्लाइडिङ, हिमालयन ड्रागन, नेपाल फ्लाई स्कुल, ग्रिन वाल, फ्लाइङ बुद्ध, फ्लाई जोन र मोनाल प्याराग्लाईडिङ कम्पनीले मात्र मंगलबारसम्म पोखरा महानगरपालीकामा राजश्व  तिरेको  राजश्व शाखा प्रमुख शर्माले पोखरा न्यूजलाई बताए । महानगरको डाटा अनुसार पोखरामा ५६ भन्दा बढी प्याराग्लाइडिङ कम्पनीहरु हुदा हालसम्म करिब २८.५ प्रतिशतले नविकरण तथा दर्ता गराएको राजश्व शाखाका अधिकृत रोमनाथ उपाध्यायले बताए ।

उनका अनुसार पोखराको माउन्टेन भ्यू प्याराग्लाईडिङ कम्पनी बाहेक सवै जसोले अवैधानिक रुपमा स्थानिय कर तथा नविकरणनै नगरी विगत ४ बर्ष देखि पोखरामा प्याराग्लाइडिङ संचालन गर्दै  आएका हुन्  । २०७२/७३ देखि हालसम्म ४ बर्षको गरि व्यवसायीहरुले एक मुष्ट ८६ हजार रुपैया शुल्क स्थानिय निकायलाई  तिर्नुपर्ने देखिएको छ ।  पोखरामा तीन दीनमा प्याराग्लाडिङका ४ दुर्घटनामा परी दुई विदेशी नागरिकको मृत्यु भएपछि पोखरा महानगरपालीकाले स्थानिय करको बिषयमा चासो दिएसंगै व्यवसायीहरुले केहि घण्टामै महानगरपालिकासंग एक हप्ता भित्र कर तिर्ने गरी सहमती गरेका थिए ।

विहिबारदेखि स्थानिय कर नबुझाउने प्याराग्लाईडिङ कम्पनीलाई कारवाही स्वरुप प्याराग्लाईडिङ उडान गर्न नदिने पोखरा महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष रणबहादुर थापाले चेतावनी दिएका छन्। कम्पनीहरुले २०७२/०७३ र २०७३/७४ को बार्षिक ५ हजार ५ सय २०७४/७५ को ५० हजार र आर्थिक बर्ष २०७५/०७६ को २५ हजार गरी जम्मा ८६ हजार रुपैया स्थानिय कर तिर्नु पर्छ । यस बर्ष देखि एक लाख रुपैया पर्यटन शुल्क वापत प्रदेश सरकारले कर संकलन गर्न आव्हान गरेको छ । यस बिषयमा पछि बसेर छलफल गर्ने भएको बताइन्छ ।

नेपाल प्याराग्लाइडिङ्ग तथा ह्याण्ड ग्लाइडिङ्ग संघ (नेफा) का महासचिव शैलेन्द्र राउतले रकमको जोहो गर्दा आफुहरुले भनेको समय सिमा एक हप्ता भित्र उक्त शुल्क तिर्न कठिन भएकोले गर्दा केहि दिन लाग्न सक्ने उनले बताए । पोखरामा हाल ६० वटा प्याराग्लाइडिङ कम्पनीहरु रहेको हवाइ खेलकुद संस्था नाले जनाएको छ ।

पोखरामा हाल करिब ५० वटा कम्पनीहरु नियमित संचालन हुदै आएकाछन भने पोखरामा दुई सय भन्दा बढी नेपाली प्याराग्लाइडिङ पाईलटहरु रहेकाछन भने उतिकै सङख्यामा सोलो प्याराग्लाइडिङ पाइलटहरु रहेका छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button