पोखरा न्यूज – २९, फागुन ।
पोखराका ५० प्रतिशत भन्दा बढी प्याराग्लाइडिङ कम्पनीहरुलाई पोखरा महानगरपालिकाले कारवाही गर्ने भएको छ ।
एक दिनको म्याद दिदा समेत समय सिमा भित्र ५० प्रतिशत भन्दा बढी कम्पनीहरुले महानगरमा स्थानिय कर सहित नविकरण तथा दर्ता गराउन नआएको हुदा उनीहरु उपर महानगरले कारवाही गर्ने चेतावनी दिएको छ ।
पोखरा महानगरपालिका भित्र रहेका प्याराग्लाइडिङ कम्पनीहरु मध्य ५० प्रतिशत भन्दा बढी कम्पनीहरुले विगत ४ बर्ष देखिको कर नबुझाएकोले बिहिबारदेखि उनीहरुलाई पोखरामा प्याराग्लाइडिङ गर्न प्रतिबन्ध गराईने भएको पोखरा महानगरपालिकाका सुचना अधिकारी गंगालाल सुवेदीले बताए । पोखरा महानगरपालिका वडा नम्बर-१८ (सराङकोट) को समन्वयमा महानगरले कर नबुझाउने कम्पनी विरुद्ध कारवाही गर्ने भएको उनले जनाए ।
पोखराका २६ वटा प्याराग्लाइडिङ कम्पनाीहरुले मात्र पोखरा महानगरपालिकामा स्थानिय कर सहित नविकरण तथा दर्ता गरेका छन्। एक दिनको म्याद थप सहित हालसम्म पोखरामा रहेका ६० प्याराग्लाइडिङ कम्पनीहरु मध्य २६ वटाले मात्र स्थानिय कर सहित नविकरण तथा दर्ता गराएको पोखरा महानगरपालिकाका राजश्व शाखा प्रमुख छवि शर्माले बताए । उनका अनुसार एक हप्तामा १६ वटा कम्पनीले कर बुझाएका हुन भने एक दिन म्याद थप गर्दा बुधबार मात्र १० कम्पनीले कर सहित नविकरण तथा दर्ता गराएका हुन्।
महानगरपालिकाले कर नतिर्ने प्याराग्लाईडिङ कम्पनीलाई गत बुधबारदेखि प्याराग्लाइडिङ गर्न नदिने चेतावनी दिएसंगै व्यवसायीहरुले एक हप्ता भित्र कर तिर्नेे सहमति भएको थियो । पोखराका व्यवसायीको माग अनुसार महानगरले एक दिन बुधबार समय सिमा दिएको थियो । यद्यपी पोखरामा रहेका ६० प्याराग्लाइडिङ कम्पनीहरु मध्य ३४ वटा प्याराग्लाइडिङ कम्पानीहरुले समय सिमा भित्र कर सहित नविकरण तथा दर्ता नगराएको हुँदा उनीहरुलाई कारवाही हुने भएको राजश्व शाखा प्रमुख शर्माले बताए । कर नतिर्ने कम्पनीहरुलाई विहिबारदेखि पोखरामा प्याराग्लाइडिङ प्रतिबन्ध गरीने भएको उनले बताए ।
माउन्टेन भ्यू प्याराग्लाइडिङ कम्पनी, ब्लू स्काइ, हिमालयन फ्रन्ट्रायर, मिसन टु हिमालयन, पिस हिमालयन, फोनिक्स, टिम फाइब, पोखरा अल्ट्रालाइट, फ्लाइ निरभाना, न्यू प्यारा वल्र्ड प्याराग्लाइडिङ, हिमालयन ड्रागन, फ्लाइ नेपाल, ग्रिन वाल, फ्लाइङ बुद्ध, फ्लाइ जोन र मोनाल प्याराग्लाइडिङ कम्पनीले मात्र मंगलबारसम्म महानगरपालीकामा नविकरण तथा दर्ता गराएको राजश्व शाखा शर्माले जनाए । त्यसै गरी बुधबार माउन्टेक हक प्याराग्लाइडिङ कम्पनी, प्यारा नोभा, ओपन स्काइ, फन्टएयर, हेप्पी फ्लाई, हाइ फ्लाइङ, माउन्टेन ओभर, नेपाल फ्लाइ, सनराइज र सराङकोट प्याराग्लाइडिङ कम्पनीले पोखरा महानगरपालीकामा कर सहित नविकरण तथा दर्ता गराएका हुन्।
पोखराको माउन्टेन भ्यू प्याराग्लाईडिङ एउटा कम्पनी बाहेक सबै जसोले अवैधानिक रुपमा स्थानिय कर तथा नविकरण नै नगरी विगत ४ बर्ष देखि पोखरामा प्याराग्लाईडिङ संचालन गर्दै आएको राजश्व शाखाका अधिकृत रोमनाथ उपाध्यायले बताए । २०७२/७३ देखि हालसम्म ४ बर्षको स्थानिय निकायलाई व्यवसायीहरुले एक मुष्ट ८६ हजार रुपैया शुल्क तिर्नुपर्छ ।
पोखरामा तीन दीनमा प्याराग्लाइडिङका ४ दुर्घटनामा परी दुई विदेशी नागरिकको मृत्यु भए पछि पोखरा महानगरपालीकाले स्थानिय करको बिषयमा चासो दिए संगै व्यवसायीहरुले केहि घण्टामै महानगरपालिकासंग एक हप्ता भित्र कर तिर्ने गरी सहमती गरेका थिए । विहिबार देखि स्थानिय कर नबुझाउने प्याराग्लाईडिङ कम्पनीलाई कारवाही स्वरुप प्याराग्लाईडिङ उडान गर्न नदिने पोखरा महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष रणबहादुर थापाले चेतावनी दिएका छन्।
कम्पनीहरुले २०७२/०७३ र २०७३/७४ को बार्षिक ५ हजार ५ सय २०७४/७५ को ५० हजार र आर्थिक बर्ष २०७५/०७६ को २५ हजार गरी जम्मा ८६ हजार रुपैया स्थानिय कर तिर्नु पर्छ । यस बर्ष देखि एक लाख रुपैया पर्यटन शुल्क वापत प्रदेश सरकारले स्थानय तहलाई कर संकलन गर्न आह्वान गरेको छ । यस बिषयमा पछि बसेर छलफल गर्ने भएको बताइन्छ । नेपाल प्याराग्लाइङ्ग तथा ह्याण्ड ग्लाइडिङ्ग संघ (नेफा) का महासचिव शैलेन्द्र राउतले रकमको जोहो गर्दा आफुहरुले भनेको समय सिमा एक हप्ता भित्र उक्त शुल्क तिर्न कठिन भएकोले गर्दा केहि दिन लाग्न सक्ने उनले बताए ।
पोखरामा हाल ६० वटा प्याराग्लाइडिङ कम्पनीहरु रहेको हवार्य खेलकुद संस्था नाले जनाएको छ । उनीहरु मध्य माउन्टेन भ्यूले मात्र स्तानिय तहलाई शुल्क तिरेको थियो भने बाँकी ५९ वटा कम्पनी विगत ४ बर्ष देखि स्थानिय कर नतिरेर पनि संचालन हुदै आएको अध्यक्ष थापाले जनाए । पोखरामा हाल करिब ५० वटा कम्पनीहरु नियमित संचालन हुदै आएका छन भने पोखरामा दुई सय भन्दा बढी नेपाली प्याराग्लाइडिङ पाईलटहरु रहेका छन भने उतिकै सङख्यामा सोलो प्याराग्लाइडिङ पाईलटहरु रहेकाछन्।