जनतासँगै श्रमदानमा खटिँदै बेनी नगरपालिका–३ का अध्यक्ष पुन

पोखरा न्यूज -३०, फागुन । जनताले दिएको मतबाट निर्वाचन जितेपछि आफूलाई सर्वशक्तिमान ठानेर जनमतको बेवास्ता गर्दै आफू अनुकूलका काम गर्ने भनेर जनप्रतिनिधिको आलोचना भइरहेका बेला म्याग्दीका केही जनप्रतिनिधिले आफैँ अगुवा बनेर उदाहरणीय काम गरेका छन् ।

आफ्नो पेशा व्यावसाय र घरायसी कामलाई समेत त्यागेर अनरवत जनताको काममा लाग्ने र आफैँ ज्यामी मजदुर बनेर जनतासँगै काममा खटिने जनप्रतिनिधि पनि म्याग्दीमा छन् । जिल्लाको बेनी नगरपालिका–३ भकिम्लीका अध्यक्ष पदम पुन यस्तै जनप्रतिनिधिमध्येका एक हुन् । अध्यक्ष पुन अहिले गाउँ जोड्ने सडकको स्तरोन्नतिका लागि स्थानीयवासीसँगै जनश्रमदानमा खटिहेका छन् ।

बेनी–भकिम्ली सडकखण्डअन्तर्गत हल्लेगौडाको भीरमा अध्यक्ष पुनले जनतासँगै कैयौँ दिनदेखि दिनभरि श्रम गरेपछि स्थानीयवासी पनि उत्साहित भएका छन् । वडासदस्य गेमबहादुर घर्तीका अनुसार विगत तीन दिनदेखि वडाध्यक्षको नेतृत्वमा वडाका सम्पूर्ण जनप्रतिनिधिले जनतासँगै श्रम गरेर सडकको स्तरोन्नति गर्ने काम भइरहेको छ ।

सत्र किलोमिटर दूरीको बेनी–भकिम्ली मोटरबाटो स्तरोन्नतिका लागि नगरपालिकाले विनियोजन गरेको रु ३० लाखले सो सडकको स्तरोन्नति गर्न नपुग्ने भएपछि वडाध्यक्षलगायतका जनप्रतिनिधिको अगुवाइमा जनश्रमदान अभियान सञ्चालन गरिएको हो । “म तीन दिनदेखि घरमै नगइकन काममा खटेको छु”, वडाध्यक्ष पुनले भने, “हामी जनताको सेवा गर्न भनेर आएका हौँ, आफ्नो व्यक्तिगत कामलाई भन्दा बढी महत्व हामीले जनताको कामलाई दिनुपर्छ ।”

नगरपालिका–३ मा स्वतन्त्र उमेदवारका रूपमा अध्यक्षमा निर्वाचित हुनुभएका पुन म्याग्दीका लागि मात्रै नभएर नेपालकै लागि एक उदाहरणीय जनप्रतिनिधि हुन् । अत्यन्त सादगी जीवनशैली, काममा खटिरहने प्रवृत्ति, नम्र स्वभाव, मिलनसार र सहकार्यमा विश्वास गर्ने पुन जनताको कामका लागि जस्तोसुकै दुःख सहन पनि पछि नपर्ने सच्चा जनप्रतिनिधि भएको स्थानीयवासीले बताएका छन् ।

अध्यक्ष पुनकै अगुवाइमा भकिम्लीमा रु ३ करोडभन्दा बढीको लागतमा जयन्ती माध्यमिक विद्यालयको जिल्लाकै सुविधासम्पन्न र भव्य भवन निर्माण भएको छ । देश विदेशमा रहेका भकिम्लेलीले आफ्ना जनप्रतिनिधिको विश्वासमा यति धेरै आर्थिक सहयोग गरेर गाउँमा जिल्लाकै नमूना विद्यालय भवन निर्माण गरेका हुन् ।

“भकिम्लीले साँच्चिकै जनप्रतिनिधि पाएको छ, जनताको सेवा र सुविधाका लागि सधैँ खटिरहने जनप्रतिनिधि पाउँदा हामी धेरै खुशी छौँ”, भकिम्लीका ६७ वर्षीय धनबहादुर घर्तीले भने, “अध्यक्षलगायत सबै जनप्रतिनिधि आफ्नो घरको काम छाडेर भकिम्लीको विकासमा खटिनुभएको छ ।”

“अहिले नेपाली जनताको अपेक्षा पनि यही रहेको छ । आफूले मत दिएर जिताएका जनप्रतिनिधि गाउँको विकासमा लागुन्, पक्ष–विपक्ष नहेरुन्, भ्रष्टाचार नगरुन्, निष्पक्षरूपमा जनपरिचालन गरेरै भए पनि गाउँको मुहार फेरुन्, शिक्षा, सडक, स्वास्थ्य, खानेपानी र सिँचाइजस्ता आधारभूत कुरामा अब हामीले धेरै सास्ती पाउन नपरोस् यही नै जनताको चाहना हो”, उनले भने । जनचाहनाविपरीत जनप्रतिनिधि गएपछि जनतामा छाएको निराशा चिर्न म्याग्दीका पुन ‘कालो बादलभित्रको चाँदीको घेरा’ बनेर देखिनुभएको स्थानीयवासीको बुझाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button