घान्द्रुकमा चैत ६ गते खुल्ला घोडा दौड प्रतियोगता हुने

पोखरा न्यूज – ०१, चैत । घान्द्रुक क्षेत्रको पर्यटन प्रबर्द्धन गर्ने उद्धेश्यले यही चैत ६ गते खुल्ला घोडा दौड प्रतियोगिता २०७५ हुने भएको छ ।

घोडा–खच्चड व्यवस्थापन तथा कल्याणकारी समितिको आयोजनामा फागुपूर्णिमा पर्वको अवसरमा उक्त प्रतियोगिता हुने भएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

यस पटक देखि खुल्ला रुपमै प्रतियोगिहरुलाई सहभागि गराउने भएसंगै प्रतियोगितमा करिब ४० जना सहभागि हुने भएको समितिका अध्यक्ष यमबहादुर गुरुङ्गले बताए । गत बर्षको प्रतियोगितामा १८ जना प्रतियोगिहरुले सहभागि भएका थिए । यस बर्ष पुरस्कार राशीमा समेत बृद्धि गरिएको उनले जनाए ।

गत बर्ष भन्दा यस बर्ष विजेतालाई २० हजार थप गरी विजेतालाई ५० हजार, उपविजेतालाई ३० हजार र तेश्रो हुनेलाई २० हजार प्रदान गरिने भएको छ । गत बर्ष उपविजेताले २० र तेश्रो हुनेले १० हजार प्राप्त गरेका थिए । गत बर्षका विजेता दिपेन्द्र विक हुन् । ३ किलोमिटर घोडा दौडमा उनले १३ मिनेट ४४ सेकेण्डमा उक्त दुरी पार गरेका थिए । प्रतियोगितामा स्वदेशी, स्थानीय र विदेशी घोडा राइडरहरुले सहभागिता रहने भएको छ ।

प्रतियोगितामा सहभागि हुने खेलाडीलाई दर्ता शुल्क तीन हजार रुपैया तोकिएको अध्यक्ष गुरुङले बताए ।  उक्त प्रतियोगिता सम्पन्न गर्न करिब ७ लाख ५० हजार रुपैया लाग्ने उनले जनाए । उनले भने ‘घोडा दौड प्रतियोगिताले पर्यटकिय देश नेपालको पहाडी र हिमाली क्षेत्रलाई साहसिक खेल घोडा दौडको लागि उपयुक्त छ भनेर अन्तराष्ट्रिय जगतमा चिनाउन यस प्रतियोगिताले सहयोग पुग्ने छ । ” प्रतियोगितामा सहभागि सवैलाई प्रमाणपत्र प्रदान गरिने आयोजक प्रचार प्रसार समितिका संयोजक अमृत गुरुङ्गले बताए ।

लोपोन्मुख अबस्थामा रहेको ठाडो भाकाको प्रस्तुती, ख्याति प्राप्त लोकदोहोरी गायक गायीकाको प्रस्तुती,परम्परागत गुरुङ संस्कार र संस्कृतिको प्रत्यक्ष अवलोकन लगायतका आकर्षण रहेको संयोजक गुरुङले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button