तनहुँको देवघाटमा क्यानोनिङको सफल परीक्षण

पोखरा न्यूज – ०२, चैत । तनहुँको देवघाट गाउँपालिकाको वडा नं १ र २ को सिमानामा पर्ने छरछरे झरनामा क्यानोनिङ खेलको सफल परीक्षण गरिएको छ ।

पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले शुक्रबार र शनिबार आयोजित प्रथम छरछरे महोत्सवका क्रममा क्यानोनिङ खेलको सफल परीक्षण गरिएको हो । देवघाटदेखि मुक्तिनाथसम्म जोड्ने शालिग्राम करिडोरको छरछरेमा करीब २०० मिटर माथिबाट झरेको झरनामा पोखराबाट आएका दुई जना खेलाडीले क्यानोनिङको परीक्षण गरेको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए ।

प्रचारप्रसारको अभावमा ओझेलमा परेको उक्त स्थानमा अब क्यानोनिङका माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन पहल गरिने थापाले बताए । उनले भने, “क्यानोनिङको सफल परीक्षण भएसँगै यसको प्रचारप्रसार र प्रबर्द्धनमा जोड दिन्छौँ ।”

क्यानोनिङ खेलको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आज स्थलगत अवलोकनसमेत गरेका थिए । सो अवसरमा मन्त्री गुरुङले यस्ता साहसिक खेलमार्फत यस क्षेत्रको प्रचारप्रसार गर्नसकेमा वर्षमा हजारौँ पर्यटक भित्र्याउन सकिने मन्त्री गुरुङको भनाइ थियो ।

देवघाट गाउँपालिका वडा नं १ का अध्यक्ष भीमबहादुर गुरुङले भौगोलिकरुपमा विकट भएका कारणले उक्त झरनाको अहिलेसम्म पर्याप्त प्रचारप्रसार हुन नसकेको बताउनुभयो । छरछरे झरना कोटा भतेरी हुँदै पुग्न सकिन्छ । हिउँद र वर्षा दुवै समयमा झरनामा पानी हुने गरेको छ ।

© Copyright 2019, All Rights Reserved | Pokhara News | नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।
Loading...

प्रतिक्रिया

तपाइको इमेल गोप्य राखिनेछ । अनिवार्य भर्नुपर्ने ठाउँ *

Back to top button
Close