पोखराका २९ प्याराग्लाइडिङ कम्पनी महानगरको कारवाहीमा

असार मसान्त भित्र नविकरण नगरे कम्पनी खारेज हुने

पोखरा न्यूज – ०२, चैत । अन्ततः पोखरा महानगरपालिकाले स्थानिय कर नबुझाउने प्याराग्लाइडिङ कम्पनीलाई खारेज गर्ने भएको छ।

पोखरा महानगरपालिकाले चालु आर्थिक बर्ष असार मसान्तसम्म पनि स्थानिय कर सहित नविकरण तथा दर्ता नगराएको खण्डमा प्याराग्लाइडिङ कम्पनीलाई खारेज गर्ने भएको पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेसनारायण पौडेलले बताए ।  पोखरा महानगरपालिकामा तोकिएको समय सिमा भित्र स्थानिय कर सहित नविकरण तथा दर्ता नगराएका २९ वटा प्याराग्लाइडिङ कम्पनीलाई महानगरपालिकाले कारवाही गर्ने भएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।

पोखरामा रहेका ३१ वटा प्याराग्लाइडिङ कम्पनीहरुले मात्र हालसम्म नविकरण गरेको उनले जनाए । पोखरामा हाल ६० वटा प्याराग्लाइडिङ कम्पनी रहेका छन भने ५० वटा जसो मात्र निरन्तर संचालन हुदै आएका छन्। पोखरा महानगरपालिकामा राजश्व परामर्श समितिको शनिबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

प्रमुख प्रशासकिय अधिकृत पौडेलले भने “ पोखरामा विगत ४ बर्ष देखि स्थानिय कर नबुझाएका धेरै प्याराग्लाइडिङ कम्पनीहरु हाल संचालन हुदै आएका थिए, अब चैत ३ गते देखि नविकरण शुल्कमा थप ५ हजार जरीवाना हुने भएको छ ।” महानगरपालिकाले नविकरण नगराएका कम्पनीलाई प्रति महिना ५ हजार जरीवाना लिने भएको छ भने असार मसान्त भित्र महानगरपालिकामा स्थानिय कर सहित नविकरण तथा दर्ता नगराए कम्पनीनै खारेजी गर्ने चेतावनी दिएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १८ (सराङकोट) को समन्वयमा महानगरले कर नबुझाउने कम्पनी विरुद्ध कारवाही गर्ने भएको पोखरा महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष रणबहादुर थापाले बताए । उनले भने “आइतबार देखि स्थानिय कर नबुझाउने कुनै पनि कम्पनीलाई हामीले सराङकोट क्षेत्रमा प्याराग्लाइडिङ गर्न प्रतिबन्द गर्ने भएका छौं, यदि कसैले जरिवाना सहितको कर तिरेमा हामीले सोही दिनमै प्याराग्लाइडिङ गर्न दिन सक्छौं ।” विगत ४ बर्ष देखि एकै पटक महानगरमा कम्पनीले ८६ हजार रुपैया कर तिर्नु पर्नेमा जरीवाना ५ हजार सहित गर्दा अब चैत्र मसान्तसम्म कम्पनीले ९१ हजार रुपैया कर तिर्नुपर्ने भएको छ ।

पोखरामा तीन दीनमा प्याराग्लाइडिङका ४ दुर्घटनामा परी दुई विदेशी नागरिकको मृत्यु भए पछि पोखरा महानगरपालीकाले स्थानिय करको विषयमा चासो दिएसंगै व्यवसायीहरुले केहि घण्टामै महानगरपालिकासंग एक हप्ता भित्र कर तिर्ने गरी सहमती गरेका थिए । पोखरा महानगरपालिकाले कर नतिर्ने प्याराग्लाइडिङ कम्पनीलाई प्याराग्लाईडिङ गर्न नदिने चेतावनी दिएसंगै व्यवसायीहरुले एक हप्ता भित्र कर तिर्नेे सहमति भएको थियो ।

एक हप्तामा १६ वटा कम्पनीले कर बुझाएका हुन भने एक दिन म्याद थप गर्दा गत बुधबार मात्र १० कम्पनीले कर सहित नविकरण तथा दर्ता गराएका पोखरा महानगरपालिकाका राजश्व शाखा प्रमुख छवि शर्माले बताए । नागरिक उडड्यन कार्यालय पोखराले पोखराको सराङकोट, तोरीपानी, ढिकीडाँडाबाट प्याराग्लाइडिङको अनुमति दिएको छ । यद्यपी पोखरामा उक्त स्थान भन्दा अनेत्र स्थानबाट प्रायः गरी विदेशी सोलो पाइलटहरुले उडान गर्दै आएका छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button