पोखराका बसमा वैशाखदेखि ई–टिकेटिङ सिस्टम लागू गरिने

पोखरा न्यूज – ०३, चैत । नेपाली नयाँ बर्षको अवसरमा वैशाख एक गते देखि लागु हुने गरी पोखराका बसमा ई–टिकेटिङ सिस्टम लागू गर्ने तयारी गरिएको छ ।

समय अनुसारको आम जनतालाई सेवा दिने उद्धेश्यले आगामी वैशाख देखि लागु हुने गरी पोखराका बस सेवामा उक्त सिस्टम लागु हुने भएको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले बताए ।

पोखरालाई स्मार्ट सिटि बनाउने अभियानमा उक्त सिस्टमले थप सहयोग पुग्ने उनले जनाए । पोखरा महानगरपालिकाको समन्वयमा काठमाडौँको एन. क्लाउड प्रा.ली. र पोखरा क्षेत्रका सार्वजनीक यातयात व्यवसायीहरु बिच भएको सम्झौता पछि वैशाख १ गते देखि पोखरा क्षेत्रका बस सेवामा ई–टिकेटिङ सिस्टम लागू हुने भएको हो ।

पोखरामा संचालन भएका सार्वजनिक यातायात व्यवसायीहरुले संचालनमा ल्याएका सवारी साधनहरुमा विधुतिय टिकेटिंग प्रणालि (ई टिकेटिंग सिस्टम) को प्रयोग गरि यात्रुहरुलाई सेवा र सुविधा पुर्याउने उद्धेश्यले विधुतिय टिकेटिंग प्रणालि (ई( टिकेटिंग सिस्टम) जडान गरिने भएको मेयर जिसीले बताए ।

उक्त प्रविधि सुरु भएपछि ब्यवसायीले प्रत्येक यात्रुलाई बिशेष प्रकारको कार्ड उपलब्ध गराउने भएका छन्। उक्त कार्ड बसका सहयोगीले मेसिनमा ‘टच’ गराउनेछन् भने जसमा जिपिएस समेत जडान गरिएको हुने छ । यात्रा गरेको ठाउँको रकम स्वतः कार्डबाट बैंकमा ट्रान्सफर हुने भएको छ ।

एक हजार रुपैयाँसम्म राख्न मिल्ने उक्त कार्ड बनाउदा १ सय ५० रुपैयाँ शुल्क लाग्ने भएको छ । टिकेटिङ सिस्टम जडान र नियमित सुचारु गर्नका लागि कम्पनीले पोखराका प्रत्येक बसबाट २ हजार २ सय रुपैयाँका दरले शुल्क उठाउने भएको कम्पनीका सिईओ दिपेन्द्र नारायण श्रेष्ठले बताए । कम्पनीले मेसिन चलाउने तालिम समेत दिने भएको छ । आम पोखरेलीहरुलाई उक्त कार्डको प्रयोग गर्न उनले आग्रह गरे । मेयर जिसीले घरघरमा हुने बस स्टेसन यो ब्यवस्थापछि अन्त्य हुने जनाए । पोखराको ट्राफिक व्यबस्थापनमा उक्त सिस्टमले थप सहयोग पुग्ने मेयर जिसीको भनाई छ ।

राष्ट्रिय यातयात व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष एवं पृथ्बीराज मार्ग बस संचालक समितिका अध्यक्ष ऐन कुमार साइले पहिलो चरणमा पोखरा क्षेत्रमा केन्द्रित हुने गरी उक्त कार्ड सिस्टम लागु गरे पछि प्रभावकारी भएको खण्डमा अन्य ठाँउमा समेत लागु गर्न सकिने बताए ।

पोखरामा रहेका पृथ्वी राजमार्ग बस सञ्चालक समिति, पोखरा बस ब्यवसायी समिति, स्थानीय श्रृंगा यातायात व्यवसायी समिति, बेगनासताल बस सञ्चालक समिति, विन्ध्यवासिनी बस ब्यवसायी समिति, पोखरा फेवा यातायात प्रालि, र ट्याक्सी ब्यवसायी समितिले ई–टिकेटिङ सिस्टममा जाने भएका हुन्।

यसैबिच, उक्त सिस्टम लागु भए पछि यातयात व्यवसायीहरु माथि भाडाको बिषयमा हुने बिबाद अन्त्य हुने भएको पृथ्वी राजमार्ग बस सञ्चालक समितिका महासचिव योगेन्द्र केसीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button