पोखरामा होली : यी ठाउँमा यसरी मनाइदै

जवरजस्ती गरे कारवाही गर्ने प्रशासनको चेतावनी

पोखरा न्यूज – ०५, चैत ।

रंगहरुको पर्व होलीको अवसरमा भोलि (बुधबार) पोखरामा विहानै देखि सामुहिक रुपमा हर्ष उल्लासका साथ होली मनाउने तयारी विभिन्न संघ संस्थाहरुले  गरेका छन्।

खेलकुदकर्मीको होली

पोखरा क्षेत्रका पर्यटन व्यवसायी देखि खेलकुदकर्मी, कलाकार,सर्वसाधारण जनता तथा पत्रकार लगायतले होली पर्वलाई हर्स उल्लासका रुपमा एक आपसमा शुभकामना साटासाट गर्दै मनाउन बिभिन्न ठाउँमा कार्यक्रमको तयारी गरेका हुन्।

पोखरा क्षेत्रका खेलकुदकर्मीहरुले पोखरा रंगशालामा बुधबार बिहान भेटभाट गरी एक आपसमा विभिन्न रंग लगाउदै शुभकामना साटसाट गर्ने भएको राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेस कुमार गुरुङले बताए । जिल्ला खेलकुद विकास समिति कास्की, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको संयुक्त आयोजनामा पोखरा रंगशालामा बिहान ८ बजे देखि ११ बजेसम्म संयुक्त रुपमा होली पर्व मनाइने भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए । उक्त कार्यक्रममा सहभागिताको लागि आयोजक संस्थाले सम्पूर्ण खेलकुदकर्मी एवं पत्रकारलाई आव्हान गरेको छ ।

पर्यटन ब्यवसायीको होली

होली पर्वको अवसरमा रेष्टुरेण्ट एण्ड वार एशोसियसन नेपाल (रेवान) पोखरामा होली पर्वको अवसरमा होली महोत्सव २०७५ आयोजना गर्ने भएको छ ।

सामुहिक रुपमा स्वदेशी तथा विदेशी पर्यटकहरुलाई सहभागि गराई नेपालको संस्कृति र पर्वको बारे जानकारी गराउँदै एक आपसमा मित्रता र सद्भाव साटासाट गर्ने उद्देश्यले उक्त महोत्सव आयोजना गर्न लागिएको रेवान पोखराका अध्यक्ष भिमसेन भुजेलले बताए । पोखराको अम्मट देखी खहरेचोक लेकसाइड सम्म विहान ११ वजे वाट रंगैरंगको पर्व होली महोत्सव २०७५ विभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित भव्य रुपमा मनाउने तयारी भएको उनले जनाए ।

कलाकारहरुको होली

होली पर्वको अवसरमा पोखराका कलाकारले होली म्यूजिक फेष्टिवल आयोजना गर्ने भएका छन् । पोखरा सांगीतीक कलाकार संघ नेपालको आयोजनामा बुधबार पोखराको लेकसाइड स्थित क्याम्पिङचोकमा उक्त कार्यक्रम हुने भएको संघका अध्यक्ष सुनिल थापाले बताए ।

संघको कलाकार कोष अभिबृद्धि तथा कलाकार उपचार अक्षयकोषको स्थापनार्थ सांगीतीक कार्यक्रम आयोजना गर्न लागेको कार्यक्रम पूर्वान्ह ११ बजे देखि साँझ ६ बजेसम्म हुने भएको छ । हिमाअसको प्रस्तुती तथा कफी बियाको मुख्य प्रायोजनमा उक्त कार्यक्रम हुने भएको हो । होली पर्वलाई बिषेश रुपमा मनाएर सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पनि उक्त कार्यक्रम आयोजना गरिने भएको अध्यक्ष थापाले बताए ।

पत्रकारहरुको होली

नेपाल पत्रकार महासंघ कास्की शाखाले पनि होली पर्वको अवसरमा सामुहिक होली पर्व मनाउने भएको सचिव रामप्रसाद तिमिल्सिनाले बताए । उनका अनुसार बिहान ८ बजे देखि मध्यान्हः १२ बजेसम्म होली उत्सव महासंघको परिसर मै मनाउने भएको हो ।

सर्वसाधारणको होली

त्यसैगरी पोखरामा सर्वसाधारण जनता तथा अन्य विभिन्न संघ संस्थाहरुले स्वत स्फुर्त ढंगले होली पर्व मनाउने भएका छन् । होली पर्वलाई लक्ष्ति गरी पोखरा क्षेत्रको बजारमा विभिन्न रंग तथा पिच्करी, लोला र टिसर्ट बजारमा विक्रि वितरण भएको छ । होली पर्वको अवसरमा पोखरामा रंग तथा टिसर्टको राम्रो कारोवार हुने भएको व्यवसायीहरु बताउ छन् ।

जवरजस्ती गरे कारवाही

होली पर्वको नाममा जो कसैले कुनै व्यक्तिको इच्छा विपरित जर्बजस्ती गरे उनीहरुलाई कडा कारवाही गरिने भएको कास्कीका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले बताए । उनले भने “होली पर्व एक आपसमा स्वतः स्फुर्त ढंगबाट साथी भाई, आफन्तहरु बिच मनाउने पर्व हो, तर कसैले जर्बजस्ती रुपमा होली मनाउने नाममा रंग तथा लोला, पानी छ्यापेको भेटिएमा हामी कारवाही गर्न बाध्य हुनेछौं । ”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button