पर्वतमा दक्षिण एशियाकै लामो झोलुङ्गे पुल निर्माण शुरु

पोखरा न्यूज – ०६, चैत । लामा र अग्ला झोलुङ्गे पुलको जिल्लाको रूपमा परिचित पर्वत जिल्लामा अब फेरि दक्षिण एशियाकै लामो झोलुङ्गे पुल निर्माणको काम शुरु भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङको अदुवाबारीबाट बागलुङको बागलुङ नगरपालिका–१ रामरेखा जोड्ने गरी ५६७ मिटर लामो पुल निर्माणको काम शुरु भएको हो ।

कालीगण्डकी नदीमाथि निर्माण गर्न लागिएको उक्त पुलको उचाइ १६२ मिटर रहने छ । पुल निर्माणका लागि हिमशिखर कन्ट्रक्सनले रु छ करोड ९१ लाखमा ठेक्का सम्झौता गरेको छ । विसं २०५९ बाट उक्त ठाउँमा पुल निर्माणको लागि सम्भाव्यता अध्ययन गरिएको भएता पनि योजना पर्न सकेको थिएन ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो गृह जिल्ला भएको कारण यसमा विशेष सक्रियता देखाएपछि यस वर्षबाट पुल निर्माणको काम शुरु भएको हो । विसं २०७७ असार मसान्तसम्ममा पुलको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेर काम शुरु भएको कुश्मा नगरपालिका–१ का वडाध्यक्ष देवेन्द्र सुवेदीले बताए ।

नेपालमा अहिलेसम्म यस्तो खालको पुल नबनेका कारण पुलमा राखिने लठ्ठा र लठ्ठा तान्ने मेशिनको अभाव भएकाले चीनबाट आवश्यक सामान खरीद गरेपछि पुल निर्माण कार्य शुरु भएको हो । निर्माण कम्पनीका कर्मचारी नरहरि खड्काका अनुसार नेपालमा पहिलोपटक यस किसिमको लामो पुल बन्न लागेकाले केही चुनौती भए पनि दक्ष प्राविधिक प्रयोग गरेर काम सम्पन्न गरिनेछ ।

नौ महीनादेखि डिजाइनको काम शुरु गरिएको पुल निर्माणको लागि सरकारले चिनियाँ प्रविधिको लठ्ठा तान्ने मेशिन खरीदका लागि रु ४० लाख बजेट विनियोजन गरेको थियो । इञ्जिनीयर सागरराम नेपालका अनुसार अहिलेसम्म ३६५ मिटरसम्मको लामा झोलुङ्गे पुल निर्माण भएका कारण दुई जिल्लालाई जोड्ने गरी बन्न लागेको यो पुल लामो झोलुङ्गे पुल हुनेछ ।

पैदलयात्रा गरेर बागलुङ–पाङ आवतजावत गर्नका लागि झण्डै डेढ घण्टाभन्दा बढी समय लाग्ने गरेकामा यो पुल बनेपछि बाटो १५ मिनेटमा छोटिने छ । पाङलाई पर्वतकै कृषि उत्पादनको पकेट क्षेत्रको रूपमा लिइन्छ । त्यहाँका कृषकले मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरेर झण्डै एक घण्टा टाढा पर्ने सदरमुकाम कुश्मा बजारमा लगेर बिक्री गर्ने गरेका छन् । यो पुल बनेपछि भने कुश्मा बजारमा बिक्री हुने गरेका कृषि उपज बागलुङ बजारमा बिक्री हुने छन् ।

कृषकलाई एक घण्टाको यात्रा गरेर कुश्मा बजार पुगेर तरकारी बिक्री गर्नुभन्दा पुलमा १५ मिनेटको यात्रा गरेर बागलुङ बजारमा आफ्ना उपज बिक्री गर्न सजिलो र फाइदा हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button