पोखरामा होली मनाउन युवा युवती लेकसाइड क्षेत्रमा उर्लिए, संघ सस्थाहरुले पनि मनाए होली

पोखरा न्यूज – ६, चैत । पोखरा क्षेत्रका युवा युवती होली पर्व मनाउन लेकसाइडमा  उर्लिएका छन्। होलीको अवसरमा पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा आयोजना भएको सांगीतीक कार्यक्रममा पोखरा आसपासका युवा युवती तथा पर्यटकको भिड नै  लागेको हो ।

कार्यक्रमस्थल सहित लेकसाइड क्षेत्रमा दिनभर स्वदेशी विदेशी पाहुनाहरुसँग सामुहिक रुपमा विभिन्न रंग खेल्दै सांगीतीक कार्यक्रममा युवा युवती झुमेका हुन्  । लेकसाइड क्षेत्रमा विहान देखिनै आन्तरिक पर्यटकहरुको अत्याधिक भिड भएको थियो भने पोखरा आएका अधिकाशं विदेशी पर्यटकहरु सडकमै होली खेल्न होमिएका थिए ।

लेकसाइड क्षेत्रमा अत्याधिक भिड भएको कारण जिल्ला ट्राफिक कार्यालय कास्कीलाई ट्राफिक व्यबस्थापन गर्न हम्मे हम्मे परेको थियो । प्रहरीले शहिदचोक र हल्लनचोक क्षेत्रमा केहि समय  सवारी साधन प्रवेशमा  रोक लगाएको थियो । पोखराको लेकसाइड वरपरको करिब ४ किलोमिटर सडक क्षेत्रमा आन्तरिक तथा बाह्यि पर्यटकहरुको चहल पहल निकै बढेको थियो ।

कलाकारको कार्यक्रममा हजारौ दर्शक

होली पर्वको अवसरमा पोखराका कलाकारले होली म्यूजिक फेष्टिवल आयोजना गर्दा कार्यक्रममा हजारौं दर्शकहरुको सहभागिता भएको थियो । पोखरा सांगीतीक कलाकार संघ नेपालको आयोजनामा बुधबार पोखराको लेकसाइड स्थित क्याम्पिङचोकमा भएको उक्त कार्यक्रममा आफुहरुले सोचे भन्दा बढी दर्शकहरु सहभागि भएको संघका अध्यक्ष सुनिल थापाले बताए । संघको कलाकार कोष अभिबृद्धि तथा कलाकार उपचार अक्षयकोषको स्थापनार्थ पुर्वान्हः११ बजे देखि सुरु भएको कार्यक्रम साँझ ७ बजेसम्म  जारी  रहनेछ । हिमाअसको प्रस्तुती तथा कफी बियाको मुख्य प्रायोजनमा उक्त कार्यक्रम भएको हो । होली पर्वलाई बिषेश रुपमा मनाएर सांस्कृतिक पर्यटन प्रबद्र्धन गर्न पनि उक्त कार्यक्रम आयोजना भएको अध्यक्ष थापाले बताए ।

पर्यटन ब्यबसायीले पनि मनाए होली

नाट्टा गण्डकी प्रदेशको आयोजना र नेपाल पर्यटन बोर्डको प्रबद्र्धनमा बुधबार नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको कार्यालय ड्यामसाईडमै पर्यटन व्यवसायी र वोर्डका प्रतिनिधिहरु बिच होली पर्व मनाइएको छ  ।

त्यसैगरी रेष्टुरेण्ट एण्ड वार एशोसियसन नेपाल (रेवान) पोखराले  होली पर्वको अवसरमा होली महोत्सव २०७५ आयोजना गर्यो । सामुहिक रुपमा स्वदेशी तथा विदेशी पर्यटकहरुलाई सहभागि गराई नेपालको संस्कृति र पर्वको बारे जानकारी गराउँदै एक आपसमा मित्रता र सद्भाव साटासाट गर्ने उद्देश्यले उक्त महोत्सव आयोजना गरिएको रेवान पोखराका अध्यक्ष भिमसेन भुजेलले बताए । पोखराको अम्मट देखी खहरेचोक लेकसाइड सम्म विहान ११ वजे वाट रंगैरंगको पर्व होली महोत्सव २०७५ विभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित भव्य रुपमा मनाइएको उनले जनाए ।

खेलकुदकर्मीले खेलकुदका गतिबिधिका साथ् मनाए होली

होली पर्वको अवसरमा पोखरा क्षेत्रका खेलकुदकर्मीहरुले पोखरा रंगशालामा एक आपसमा भेटघाट गरी खेलकुदका गतिबिधिका साथ एक आपसमा रंगहरु लगाएर होली पर्व मनाएको राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेस कुमार गुरुङले बताए । महेन्द्रनगरमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडीहरुलाई आफ्नो प्रतिभा तिर्खान उनले आग्रह गरे । जिल्ला खेलकुद विकास समिति कास्की, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको संयुक्त आयोजनामा पोखरा रंगशालामा सयुक्त रुपमा होली पर्व मनाइएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए ।

तस्बिर – फेसबुक

 

नेपाल पत्रकार महासंघ कास्की शाखाले पनि होली पर्वको अवसरमा सामुहिक होली पर्व मनाएको सचिव रामप्रसाद तिमिल्सिनाले बताए । त्यसै गरी विभिन्न संघ संस्थाहरुले स्वत स्फुर्त ढंगले त केहिले संस्थागत रुपमा होली पर्व मनाएका छन्।

होली पर्वको नाममा जो कसैले कुनै व्यक्तिको इच्छा विपरित जर्बजस्ती गरे उनीहरुलाई कडा कारवाही गर्ने कास्कीका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले चेतावनी दिएका थिए । होली पर्वलाई लक्ष्ति गरी पोखरा क्षेत्रको बजारमा विभिन्न रंग तथा पिच्करी, लोला र टिसर्ट बजारमा विक्रि वितरण भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button