अब प्याराग्लाइडिङको अधिकांश काम कारवाही ‘ना’ पोखराबाटै हुने

लाइसेन्स जारी गर्ने देखि कम्पनी निलम्वनको सिफारिससम्मको अधिकार

पोखरा न्यूज – ०८ , चैत । अबको केहि दिनमै प्याराग्लाइडिङको अधिकाशं काम, कारवाही हवाई खेलकुद संस्था (ना) बाटै हुने भएको छ । नागरिक उडड्यन प्राधिकरण (क्यान) ले प्याराग्लाइडिङ सम्बन्धि अधिकांश अधिकार प्रत्यायोजना गरी नालाई आधिकारीक संस्थाको रुपमा मान्यता दिने तयारी गरेको छ ।

ना लाई प्याराग्लाइडिङ सम्बन्धि लाइसेन्स जारी गर्ने देखि नियम विपरित संचालन हुने कम्पनी उपर दर्ता खारेजीको सिफारिससम्मको अधिकार दिने तयारी भएको क्यानका प्रबन्धक देवेन्द्र पाण्डेले बताए । प्याराग्लाइडिङलाई नियमन गर्ने, व्यबस्थापन गर्ने, सुरक्षित उडान गराउने, गलत गर्ने उपर कम्पनी निलम्बनको लागि सिफारिससम्मको अधिकार नालाई दिने अन्तिम तयारी भएको उनले जनाए । केहि दिनमा पोखरामा एक समारोहका बिच यस बिषयमा छलफल गरी सार्वजनिक गर्ने तयारी भएको प्रबन्धक पाण्डेले जनाए ।

विगत ५ बर्ष देखि प्याराग्लाइडिङलाई व्यबस्थित पार्न माग गर्दै आउने क्रममा क्यानले हवाई खेलकुद संस्था नासँगको सहकार्यमा अबको केहि दिनबाटै प्राधिकारीक संस्थाको रुपमा जिम्मेवार दिने भएकोले आफुहरु निकै खुसि भएको नाका अध्यक्ष योगेस भट्टराईले बताए । उनले भने “ हो प्याराग्लाइडिङमा धेरै सुधार गर्नुपर्ने बिषय बस्तुहरु रहेका छन्, तर प्राधिकारीक संस्थाको जिम्मा दिएसँगै हामीले जादुको क्षण झै एकै पटकमा सुधार गर्न पक्की सक्दैनौं तर हामीले सुधारको प्रयास अवश्य सुरु गछौं । ” राज्यलाई दिने शुल्क तथा करको बिषय बाहेक अन्य धेरै अधिकार नालाई भए पश्चात पोखरामा हुने प्याराग्लाइडिङ दुर्घटनालाई न्यूनिकरण गर्न आफुहरुको पहिलो प्रयास हुने भएको उनले बताए । पहिलो एक बर्षसम्म क्यानको समन्वयमा धेरै काम गर्ने आफुहरुको योजना रहेको नाका अध्यक्ष भट्टराईले जनाए ।

प्याराग्लाइडिङको नियमनकारी निकाय नालाई बनाएसँगै प्याराग्लाइडिङमा हुने विकृतिलाई धेरै हदसम्म न्यूनिकरण गर्न सकिने भएको नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याण्ड ग्लाईडिङ्ग संघ (नेफा) का महासचिव शैलेन्द्र राउतले बताए । प्याराग्लाइडिङको प्राधिकारिक संस्था नालाई दिने बिषयमा यही चैत १३ गते पोखरामा स्थानिय, पर्यटन व्यवसायी, प्याराग्लाइडिङ पाईलट तथा कम्पनी, नाका पदाधिकारीलगायतसँग क्यानको टोलीले छलफल गर्ने भएको छ । पोखरामा हाल ६० वटा प्याराग्लाइडिङ कम्पनी रहेका छन् भने करिब ४५ वटा कम्पनी मात्र सक्रिय रहेको बताइन्छ ।

पोखरामा दुई सय जना भन्दा बढी व्यवसायिक (टेण्डम) प्याराग्लाइडिङ पाइलट रहेका छन् भने उतिकै सङख्यामा सिकारु (सोलो) पाइलट रहेका छन्। पोखरा महानगरपालिकामा विगत ४ बर्ष देखि अधिकांश कम्पनीले नविकरण नगरी कम्पनी संचालन गरे पनि पछिल्लो समयमा दस्तुर सहित नविकरण गर्न थालेका छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button