पोखरामा आइतबार विश्व क्षयरोग दिवस मनाइदै

पोखरा न्यूज – ०९ , चैत । पोखरामा विविध कार्यक्रमका बीच आइतबार विश्व क्षयरोग दिवस मनाइने भएको छ। हरेक वर्ष मार्च २४ का दिन मनाइने यो दिवस यस वर्ष ‘समय अबको क्षयरोग अन्त्यको’ भन्ने मूल नाराका साथ् पोखरामा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाईदै छ ।

स्वास्थ कार्यालय कास्की, क्षेत्रिय क्षयरोग केन्द्र तथा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराको आयोजनामा पोखरामा बिभिन्न कार्यक्रम गरि दिवस मनाउन लागिएको स्वास्थ्य निर्देशनालयका निर्देशक खिम बहादुर खड्काले बताए । आइतबार पोखराका मुख्य बजारहरु महेन्द्रपुल, पृथ्वीचोक, अमरसिंह चोक, पश्चिमान्चल क्षेत्रिय अस्पताल तथा मणिपाल अस्पताल लगायतका क्षेत्रमा जनचेतना अभिबृद्धि गर्ने उधेश्यले ब्रोसर वितरण, अन्तक्रिर्या लगायतका कार्यक्रमहरु गर्न लागिएको निर्देशक खड्काले जानकारी दिए ।

पोखरामा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै निर्देशक खड्काले सन् २०५० सम्ममा क्षयरोग मुक्त समाज निर्माणको परिकल्पना गरिएकोमा सोहि अनुरुप सबैजना आ-आफ्नो क्षेत्रबाट लागिपर्नुपर्ने बताए । क्षयरोग सरुवा रोग भएकाले सबैजना सचेत हुदै क्षयरोग सर्ने प्रक्रियालाई कम गर्दै लानुपर्ने र क्षयरोग लागेका बिरामीहरुको पहिचान गरि उपचारमा जुट्नुपर्ने उनले उल्लेख गरे । क्षयरोग समयमै उपचार गरे निको हुने भन्दै रोकथाम अभियानमा सहभागी हुन सबैमा उनले आह्वान समेत गरे ।

गण्डकी प्रदेशमा गत आर्थिक बर्ष २०७४ /७५ मा ३ हजार ५ सय ६० जना क्षय रोगी भएको अनुमान गरिएकोमा २ हजार २ सय ४६ जना बिरामी पत्ता लागेर उपचारमा आएको र बाकीं १ हजार २ सय १४ जना बिरामी समाजमा लुकिछिपी रहेको अनुमान लगाइएको निर्देशक खड्काले बताए । लुकेर बसेका क्षय रोगीहरुको उपचार गर्नु मुख्य चुनौती रहेको बताउदै उनले अनुमानको तथ्यांकले समेत सोचेजस्तो काम गर्न कठिनाई भएको जनाए । क्षयरोग केन्द्रले ‘टिवी प्रिभ्यालेन्स सर्वे’ गरिरहेको र एक बर्षमा भित्रमा वास्तविक तथ्यांक आउने हुनाले तथ्यांकका आधारमा क्षयरोग नियन्त्रणका लागि नयाँ रणनीति तय गर्न सकिने हुँदा आगामी दिनमा काम गर्न सहज हुने बिश्वाश लिएको निर्देशक खड्काले बताए ।

क्षयरोगको लक्षण
दुई हप्ता भन्दा बढि लगातार खोकी लागेमा क्षयरोगको संक्रमण हुन् सक्ने भन्दै त्यस्ता बिरामीहरुलाई तत्काल नजिकको क्षयरोग केन्द्रमा सम्पर्क राख्न चिकित्सकहरुले आग्रह गर्दछन। क्षयरोग भएको व्यक्तिलाई लगातार खोकी लाग्ने, छाति दुख्ने, ज्वरो आउने, खकारमा रगत देखिने, रातिमा पसिना आउने, थकाई लाग्ने, तौल कम हुँदै जाने जस्ता समस्या देखिने चिकित्सकहरु बताउछन्। क्षयरोगको लक्षण देखिएमा तत्काल औषधि उपचार गरे रोग निको हुने चिकित्सकहरुको भनाई छ ।

क्षयरोगका बिरामीले के गर्नुपर्छ
चिकित्सकका अनुसार क्षयरोगको बिरामीले ६ महिना सम्म निरन्तर औषधिको सेवन गर्नुपर्दछ । उपचार सुरु गरेर औषधिको नियमित सेवन नगरेमा झन् कडा खालको संक्रमण हुने र ज्यानै जान सक्ने भएकाले औषधिको नियमित सेवन गर्नुपर्नेमा चिकित्सकहरुले जोड दिँदै आएका छन । क्षयरोगको औषधि उपचार नेपालमा निशुल्क रुपमा हुदै आएको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्षयरोगको निदानका लागि उच्च प्राथमिकता दिदै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button