गण्डकी प्रदेश मन्त्री पुनद्वारा धवलागिरि अस्पतालमा छड्के अनुगमन

पोखरा न्यूज- १०, चैत । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले बागलुङ जिल्लास्थित धवलागिरि अञ्चल अस्पतालको शनिबार छड्के अनुगमन गरेकी छन् ।

ताराखोला गाउँपालिकाको अमरभूमि स्वास्थ्यचौकीको शनिबार उद्घाटन गरेर फर्कर्ने क्रममा सामाजिक विकासमन्त्री पुन सुटुक्क अञ्चल अस्पतालभित्र पस्दा अस्पताल प्रशासनले पत्तै पाएन । मन्त्री पुनले अञ्चल अस्पतालले प्रदान गरिरहेको सेवासुविधाको विषयमा बिरामीलाई सर्वसाधारण भएर जानकारी लिइन् । अञ्चल अस्पतालका सबै बिरामीलाई भेटिसकेपछि मात्रै अञ्चल अस्पताल विकास समिति र कर्मचारीले मन्त्री आएको पत्तो पाएका थिए ।

“अस्पतालको अनुगमन मन्त्री एक्लैले गरिसक्नुभएको रहेछ”, अञ्चल अस्पताल विकास समितिका अध्यक्ष केवी रानामगरले भने, “हामीले मन्त्रीज्यू निस्कने बेलामा मात्र थाहा पायौँ ।” अस्पतालको छड्के अनुगमनका क्रममा तुलानात्मक हिसाबमा नयाँ विकास समितिका पदाधिकारी आइसकेपछि अस्पतालले प्रदान गर्ने सेवासुविधा, सरसफाइलगायतका विषयमा सुधार आएको बिरामीले मन्त्री पुनलाई बताएका थिए । अस्पतालको सुधारका लागि पहल गर्दै आएकी मन्त्री पुनले अञ्चल अस्पतालका बिरामीकै मुखबाट अस्पतालको बारेमा सुन्ने मौका मिलेको बताउँदै अस्पताललाई सेवामुखी बनाउन आफूले सक्दो प्रयास गरिरहेको बताइन् ।

अस्पताल विकास समितिका अध्यक्ष मगरले अस्पतालका लागि आवश्यक उपकरण तथा भौतिक सुधारका लागि बजेट छुट्याउन मन्त्री पुनलाई आग्रह गरेका थिए । मन्त्री पुनले अनुगमनका क्रममा अस्पतालका चिकित्सक, नर्स र कर्मचारीका समस्याका बारेमा समेत जानकारी लिएकी थिइन् ।

विसं २०६७ मा बागलुङ जिल्ला अस्पताललाई स्तरोन्नति गरी अञ्चल अस्पातल बनाइए पनि अञ्चल अस्पतालले प्रदान गर्ने सेवासुविधा गुणस्तरीय नभएको बिरामीले गुनासो गर्दै आएका थिए । सोह्र विशेषज्ञसहित २३ चिकित्सकको दरबन्दी भएको अञ्चल अस्पतालमा हाल सात विशेषज्ञ र १५ मेडिकल अधिकृत गरी २२ चिकित्सकले सेवा प्रदान गर्दा बिरामीलाई राहत भएको अस्पताल विकास समितिका सदस्य शालिग्राम शर्माले बताउनुभयो । अञ्चल अस्पतालमा फोहर व्यवस्थापन, शुद्ध खानेपानी, पार्किङलगायतका सुविधासमेत प्रदान गर्न थालिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button