पोखरामा मापदण्ड विपरित निर्माण गरेको घर महानगरले भत्कायो (अपडेट)

घर धनि खतिवडा सहित बृद्धबृद्धा पनि प्रहरी नियन्त्रणमा

पोखरा न्यूज – ११, चैत । पोखरामा मापदण्ड विपरित एक व्यक्तिले निर्माण गरेको घर टहरा पोखरा महानगरले सोमबार भत्काएको छ ।

घर टहरा भत्काउन भने पोखरा महानगरपालिकालाई ठुलै मेहेनत गर्नु पर्यो । पोखरा महानगरपालिका ५ स्थित बाँसटारी टोल (धारापानी) मा रहेको सार्वजनीक जग्गामा युवराज खतिवडाले हालै निर्माण गरेको घर टहरा भत्काउन महानगरलाई निकै सकस परेको थियो । सोमबार विहान करिब १ः०० बजे तिर उक्त घर टहरा भत्काउने तयारी गरेर महानगर फिल्डमा पुगे पनि स्थानियको अबरोधले गर्दा उक्तः घर टहरा भत्काउन वडा प्रहरी कार्यालय बैदाम,जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोग लिनु परेको थियो ।

पोखरा महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष धनबहादुर नेपाली, सदस्य मन्जु केसी, नागरिक समाज पोखराका निवर्तमान अध्यक्ष राम बहादुर पौडेललाई स्थानियले चर्को विरोध गरेका थिए । राजनीतिकको आधारमा एउटा मात्र घर भत्काउनु कानुन सुहाउदो नभएको स्थानिय सुलोचना लुईटेलले बताईन्। सदस्य केसीलाई स्थानियले सामान्य हातपात गरेका थिए भने अध्यक्ष नेपालीले आफुहरु माथि दुर्ब्यवहार गरेको स्थानिय बिष्णु गौतमको आरोप छ ।

एउटा डोजरसहित नगर प्रहरीको साथमा घर टहरा भत्काउन फिल्डमा पुगेको महानगरको टोलीले खतिवडासँग छलफलबाट घर टहरा भत्काउन खोजे पनि अन्ततः दुई घण्टासम्म विवाद र सामान्य धकेलाधकेलका बीच प्रहरीको सहयोगमा उक्त घर टहरा भत्काइएको हो । पस्र्याङचोकबाट पश्चिमतर्फ रहेको उक्त क्षेत्रमा खतिवडाले ढलान बाटो निर्माण गर्न सहयोग गरेकोले स्थानियको मन जित्न सफल भएको हुदा स्थानिय बासीले वडा अध्यक्ष बिरुद्ध नाराबाजी समेत गरेका थिए । खतिवडाले डोजर लगायर आफ्नो घर भत्काउने चाल पाएसँगै स्थानियलाई खबर गरी तयारी अवस्थामा राखेर घर अगाडी कार र एउटा ट्याक्टर तेर्साएका थिए ।

करिव सयको  हाराहारीमा रहेका अन्य मापदण्ड विपरीतका संरचना समेत भत्काउन माग 

उक्त क्षेत्रमा एक सय भन्दा बढी मापदण्ड विपरितका घर टहराहरु निर्माण भए पनि महानगरले भेदभाव गरी खतिवडाको मात्र घर भत्काउन लागेको भन्दै स्थानियले अबरोध सृजना गरेका थिए । स्थानिय हिरादेबी पोखरेल सहितका महिलाहरु खतिवडाको घर भत्काउनु पुर्व अन्य सार्वजनिक जग्गामा निर्माण भएका घर टहरा भत्काउन माग गर्दै डोजरमा बसेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

खतिवडाले घर, टहरा, बाण्डो, पर्खाल लगायतका संरचना अनाधिकृत रुपमा सार्वजनीक जग्गा अधिक्रमण गरी निर्माण गरेकोले उनलाई पटक पटक सुचना दिदा समेत अटेर गरेकोले सोमबार प्रहरीको सहयोगमा डोजर लगायर खतिवडाले निर्माण गरेको घर टहरा भत्काईएको पोखरा महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष धनबहादुर नेपालीले बताएका छन्  । वडा अध्यक्ष नेपालीले खतिवडा र गणेशटोल निवासी सुमी लिगलले स्थानिय तह आए पछि  जबरजस्ती घर तथा टहरा बनाएकोले आफुहरुले बाध्य भएर भत्काएको बताए ।

सार्वजनीक जग्गामा घर बनाउन दिन र कानुन मिच्नको  लागि  भोट नमागेको वडा अध्यक्षको भनाई 

वडा अध्यक्ष नेपालीले सार्वजनिक जग्गामा बनेका घर टहरा भत्काई छाड्ने अठोट समेत गरेका छन । उनले पोखरा न्यूजसँग  भने “ स्थानियले अन्य थुप्रै घर छन् भनेको कुरा धेरै हदसम्म ठिक हो, स्थानिय तह आउनु पुर्व यस क्षेत्रमा अब्यबस्थित रुपमा बसोवास भएका धेरै घरहरु रहेका छन् , त्यसलाई हामी विस्तारै हल गर्छौं तर स्थानिय तह आएपछि पनि हामीलाई अटेर गरेर चुनौती दिदै सार्वजनीक जग्गामा घर बनाउने उपर हामी चुप लागेर बस्न सक्दैनौं । ” वडा अध्यक्ष नेपालीलाई भोट दिएर जिताएको कामै लागेन भनेर स्थानियले गुनासो गरेपछि सार्वजनीक जग्गामा घर बनाउने अनि कानुन मिच्नेको लागि मैले भोट मागेको थिईन भन्दै नेपालीले प्रतिक्रिया  दिएका थिए ।

केही महिना अघि महानगरले खतिवडाको घरसंगै जोडिएर निर्माण गर्दै गरेको सुमी लिगलको घर भत्काएको थियो । खतिवडाले भने आफुले मापदण्ड विपरित घर बनाएको पुष्टि हुने पत्र दिएर मात्र भत्काउन माग गरेकोमा महानगरले बेवास्ता गरि आफ्नो घर भत्काएको बताए ।

प्रहरीले बृद्धबृद्धा पनि नियन्त्रणमा लियो 

प्रहरीले खतिवडाको घर नभत्काउन आग्रह गर्ने र नारावाजी गर्ने बृद्ध बृद्धा सहित केहीलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले खतिवडालाई समेत नियन्त्रणमा लिएको थियो ।

नागरिक समाजका पुर्व अध्यक्ष पौडेलले मापदण्ड विपरित निर्माण भएका कुनै पनि भौतिक संरचना ढिलो चाडो सवै भत्काउनु पर्नेमा जोड दिए ।

भुल सुधार : – यसअघी समाचारमा सुमी लिगलको घर भत्काएको हुनुपर्नेमा भूलबस अन्यथा (भरत पालिखे) हुन गएकोमा गलत नामका कारण पर्न गएको दुःखप्रति सम्बन्धित सबैमा क्षमा प्राथी छौ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button