पर्यटक लोभ्याउँदै तनहुँको इर्लुङ झरना

पोखरा न्यूज – १४, चैत । स्वच्छ वातावरण, चराचुरुङ्गीको चिरविराहटसँगै छङ्छङ्ती झरेको पानीको झरनाले यहाँ पुग्ने जोकोहीको मन लोभ्याउने गरेको छ ।

तनहुँ भिमाद नगरपालिका–९ पाथर्दी गाउँको पुछारमा रहेको धुँवाखोलाको पानी झर्ने इर्लुङ झरना धेरै सम्भावना बोकेको स्थल हो । स्थानीय समाजसेवी ७२ वर्षीय सोमबहादुर रानाका अनुसार ४० मिटर उचाइको झरना पर्यटकीय दृष्टिबाट अन्यन्त महत्वपूर्ण रहे पनि उचित प्रचारप्रसारको अभावमा अपेक्षित विकास भने हुनसकेको छैन ।

“सामान्य झरनाहरू पनि प्रचारप्रसारका कारण विकासका दृष्टिले धेरै अघि बढिसकेका छन”, भारतीय सेनामा जीवनको महत्वपूर्ण समय बिताएर हाल निबृत्त जीवन बिताएका उनले भने । प्रकृतिको यस्तो मनोरमस्थलको आफूहरूले पर्यटन बजारमा पुर्याउन नसकेको बताउँदै उहाँले यसका लागि सम्बद्ध सबैको सहयोग आवश्यक भएको उल्लेख गरे ।

वरपर हरियाली जङ्गलको मध्यभागमा पुग्दा यहाँको स्वच्छ वातावरणले जोकोहीलाई लोभ्याउने गरेको छ । चराको चिरविराहटसँगै झरनाको आवाजले यहाँ पुग्ने प्रत्येकको मन निकै प्रफुल्लित बनाउने गरेको छ । चैत वैशाखजस्ता गर्मी महीनामा भने पर्यटकका लागि यो ठाउँ वरदान नै सावित हुने गरेको स्थानीयवासी बताउँछन् । यस झरनामा साहसिक खेल क्यानोनिङसमेत सञ्चालन गरिँदै आएको छ ।

हरिनास गाउँपालिका–४ स्थित कटमराम्चेबाट बग्दै आएको सो खोलाको इर्लुङ झरनाबाट बनेको दहमा प्रत्येक वर्ष मङ्सिरमा झाँक्री पूजा गर्ने गरिएको स्थानीय दिलबहादुर थापाले बताए । थापाका अनुसार गाउँमा अनिष्ट नहोस्, बालीनाली राम्रो होस्, रोगव्यादी नलागोस् भनेर परम्परागत रुपमा गरिँदै आएको उक्त पूजामा भेँडा र कुखुराको सामूहिक बलि दिने प्रचलन छ ।

बोयर बाख्राको नमूना गाउँको रुपमा परिचित पाथर्दी गाउँबाट झण्डै आधा घण्टाको समय लाग्ने यस झरनासम्म पुग्ने बाटो निर्माणसँगै आन्तरिक एवं बाह्य पर्यटन प्रबर्धन गर्ने तयारी भइरहेको वडाध्यक्ष इमानबहादुर थापाले जानकारी दिए ।

गाउँदेखि लगभग एक किलोमिटरको दूरीमा रहेको झरनासम्म छुट्टाछुट्टै दुईतर्पmबाट पुग्न सकिने उक्त बाटोमा ढुङ्गा छापेर सिँढी निर्माण गर्ने योजना रहेको उनले बताए ।

पहिलो चरणमा सिँढी बाटो निर्माण गरी आवतजावतका लागि सहज बनाउनुका साथै एकतर्फी रेलिङवार निर्माण गर्नका लागि पहल भइरहेको जानकारी दिँदै वडाध्यक्ष थापाले झरनाको विकाससँगै यसलाई पाथर्दी घरबास (होमस्टे)सँग जोड्ने योजना राखिएको बताए ।

पर्यटकीय विकासका लागि प्रचुर सम्भावनायुक्त यस झरनाको प्रचारप्रसारसँगै यसको व्यावसायीकरण गरिनु अपरिहार्य रहेको उक्त स्थानमा पुगेका पोखराका पर्यटन व्यवसायी सूर्य भुजेलको धारणा छ । उहाँले झरनामा रमाउँदै पौडीको समेत आनन्द लिएको अनुभव सुनाए ।

खोलामा बाँध निर्माणसँगै आवश्यकताअनुसार पोखरी निर्माण गरिएमा पर्यटन प्रवद्र्धनका साथै स्थानीय जातका माछा संरक्षणमासमेत टेवा पुग्ने उनको विश्वास छ । तनहुँको ऐतिहासिक भिमाद बजारबाट झण्डै १३ किलोमिटरको दूरी पार गरेपछि यस झरनामा पुग्न सकिन्छ ।

© Copyright 2019, All Rights Reserved | Pokhara News | नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।
Loading...

प्रतिक्रिया

तपाइको इमेल गोप्य राखिनेछ । अनिवार्य भर्नुपर्ने ठाउँ *

Back to top button
Close