भोलिदेखि देशभरको मौसममा सुधार हुने

पोखरा न्यूज – १७, चैत । पश्चिमी न्यूनचापीय वायुको प्रभावले केही दिनदेखि प्रभावित देशभरको मौसम भोलिदेखि  क्रमिक रुपमा सुधार भई सफा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही मध्य र पश्चिमी भूभागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए ।

उनका अनुसार पश्चिमी न्यूनचापीय प्रभाव पूर्वतिर सर्दै गएकाले सोमबारदेखि पश्चिमी क्षेत्रबाट मौसम क्रमिक सुधार हुने मौसमविद् पौडेलले बताए । प्रिमनसुनको समय भएकाले यस्ता गतिविधि दोहोरिरहने बताइएको छ । पूर्वी क्षेत्रका केही स्थानमा बिहानदेखि नै हल्का वर्षा भइरहेको छ ।

राति देशको पूर्वी भूभागमा सामान्य बदली रही मध्य र पश्चिमी भेगका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सोमबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी क्षेत्रका केही स्थान र तराई भेगका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै मङ्गलबार देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ । पहाडी क्षेत्रका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button