आफ्नै कार किनेर चढ् मिटरमा चल्दैनौ भन्छन पोखराका ट्याक्सी चालक

ट्याक्सी चालकको दादागिरी पोखरामा कायमै

पोखरा न्यूज – १९ चैत । पोखराको पृथ्वीचोक बसपार्क छेउमै छ जिल्ला ट्राफिक कार्यालय कास्की, ठिक त्यहि स्थानबाट  यात्रुले आफ्नो गन्तब्यमा जान ट्याक्सीलाई आग्रह गर्दा मिटरमा चल्न मान्दैनन अधिकांस ट्याक्सी चालक ।

ट्राफिक कार्यालय कास्कीको १ सय मिटरको दुरीमा लामबद्ध रहेका ट्याक्सीलाई मंगलबार एक यात्रुले मिटरमा जान आग्रह गर्दा कुनै पनि ट्याक्सी चालक जान मानेनन् । उनीहरुले मिटरमा आफुहरु कुनै पनि हालतमा नचल्ने भन्दै ट्याक्सी चढ्ने रहर भए आफ्नै कार किनेर चढ भन्दै यात्रुलाई दुर्व्यवहार समेत गरेका छन् ।

मिटरमा जान आग्रह गर्दा ट्याक्सी चालक नमानेपछि प्रहरीलाई फोन गरेका यात्रुलाई २ जना ट्राफिक प्रहरीकै अगाडी अनिल गुरुङ नाम गरेका ट्याक्सी चालकले दुर्व्यवहार गर्दै हातपात समेत गरेका हुन् । ट्याक्सी मिटरमा चल्न नमान्ने उल्टै अन्य ट्याक्सी चालकहरु एक भइ देशमा हरेक कुरामा ठग्न हुने हामीले मिटरमा नचल्न किन नपाउने भन्दै यात्रु माथि दुर्व्यवहार गरेको यात्रुको गुनासो छ ।

यात्रुले मिटरमा चल्न नमानेका दुई वटा ट्याक्सीको नम्बर समेत जिल्ला ट्राफिक कार्यालयमा टिपाएका छन्। ग १ ज ४२२०, ग १ ज  ५१८४ नम्बरको ट्याक्सी मिटरमा चल्न नमानेको भन्दै यात्रुले कारवाहीको माग गरेको बताएका छन्। उनका अनुसार लाइनमा बसेका कुनैपनि ट्याक्सी मिटरमा नजाने भनेर चालकहरुले आफुलाई घेराबन्दी गर्दै दुर्व्यवहार गरेपछि आफुले फोटो खिच्न भ्याएका २ ट्याक्सी र केहि चालकको बारेमा प्रहरीलाई खबर गरेका थिए ।

उनले आक्रोश ब्यक्त गर्दै भने – “म त एक उदाहरण मात्र हो, समग्र जिल्ला हेर्ने ट्राफिक कार्यालय कास्कीको आगनमा नै ट्याक्सी चालकहरुको यस्तो दादागिरी हुन्छ भने अन्य ठाँउमा कस्तो अबस्था होला सहजै अनुमान गर्न सकिन्छ । “

गण्डकी प्रदेशको राजधानी पोखरामा  ट्याक्सी चालकहरुको दादागिरी कायमै रहेको देखिन्छ । पोखरामा संचालन हुने ट्याक्सी अनिर्वाय रुपमा मिटरमा संचालन हुने पटक पटक सहमति भए पनि पोखराका अधिकांस ट्याक्सी चालकहरु मिटरमा ट्याक्सी संचालन नगरी दादागिरी देखाउन थालेका छन् । पोखरा क्षेत्रमा अझैपनि यात्रुहरु बाध्यताले उनीहरुले भनेकै मूल्यमा ट्याक्सी चढ्न बाध्य छन् ।काठमाण्डौ महानगर लगायतका केहि स्थानमा भने यतिबेला ट्याक्सी मिटरमा संचालन भइरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय  कास्कीका प्रहरी प्रमुख एस.पी.ओमबहादुर राना पोखरामा मिटरमा ट्याक्सी संचालन हुनु पर्ने अन्यथा कारवाही गर्ने बताउछन  । उनले मिटरमा चल्न नमान्ने ट्याक्सीलाई र दुर्व्यवहार गर्नेलाई समेत  कारबाही गरिने बताएका छन् ।

समितिमा आवद्ध १ हजार ७ सय ट्याक्सि चालकहरुलाई मिटरमा संचालन गर्न आव्हान गर्दै आएको ट्याक्सी व्यवसायी समितिका अध्यक्ष प्रकाशमणि तिवारी बताउछन  । धेरै बर्षदेखि बैज्ञानिक भाडा दर कायम नभएकाले आफुहरु मारमा परेको अध्यक्ष तिवारीको भनाई छ । महङगी बढ्दै जादा २०६९ साल देखि नै भाडा समायोजन नभएकोले गर्दा आफुहरुलाई निकै मार परेको अध्यक्ष तिवारीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button