घोडेपानी-पर्वत पदमार्ग निर्माण शुरु

पोखरा न्यूज – २३, चैत । प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी जोड्न पर्वतको आम्बोटबाट नयाँ पदमार्ग निर्माण शुरु गरिएको छ । पर्वतको कुश्मा नगरपालिका–३ आम्बोटदेखि दुर्लुङ, महभीर हुँदै घोडेपानी जाने नयाँ पदमार्ग निर्माण शुरु गरिएको हो ।

हाल वीरेठाटी र म्याग्दीबाट घोडेपानी जाने गरिए पनि यो पदमार्ग निर्माणपछि घोडेपानी हुँदै अन्नपूर्ण ‘राउण्ड’ लगाउन सकिने भएको छ । नयाँ पदमार्गको सांसद पदम गिरीले शिलान्यास गरे । कुश्मा–३ भारतीगाउँमा आयोजित कार्यक्रममा गिरीले पदमार्गको शिलान्यास गरे । नयाँ पदमार्ग आम्बोटबाट शुरु हुन्छ । पोखराबाट साढे एक घण्टामा आम्बोट पुगिन्छ । आम्बोटबाट एक घण्टा ३० मिनेट पैदल हिँडेपछि क्यानोनिङस्थल पुग्न सकिन्छ । क्यानोनिङबाट ३० मिनेटको दूरीमा आकर्षक घरवास पनि सञ्चालनमा ल्याइएको छ । क्यानोनिङसम्म सवारी साधनमा जान पनि सकिन्छ तर पैदल जान चाहने पर्यटकका लागि नयाँ पदमार्ग निर्माण शुरु गरिएको हो ।

दुर्लुङमा गत वर्षदेखि महभीर छहरामा क्यानोनिङ शुरु गरिएको छ । क्यानोनिङमा आन्तरिक तथा बाह्य पर्यटक बढाउन नयाँ पदमार्ग निर्माण गरिएको हो । यो मार्गबाट अन्नपूर्ण फेरोमा पर्यटकलाई आकर्षित गर्न सकेमा साहसिक खेल क्यानोनिङको प्रचार हुने र वर्षेनी हजारौँले क्यानोनिङको मज्जा लिने क्यानोनिङ तथा पदमार्गका मुख्य अभियन्ता गोलमान गुरुङले बताए ।

“आम्बोट–दुर्लुङ हुँदै घोडेपानी जान छोटो पर्छ, आकर्षक ठाउँ पनि छ, त्यसैले पर्यटक आकर्षित गर्न सहज हुनेछ”, उनले भने । यो पदमार्गमा केन्द्र सरकारको पर्यटन मन्त्रालयबाट चालू आर्थिक वर्षमा रु ५० लाख विनियोजन भएको छ । चालू आर्थिक वर्षमा यो रकमले तीन हजार ५०० मिटर पदमार्ग निर्माण गर्ने तयारी भएको गुरुङले जानकारी दिए । “आवश्यकताअनुसार संरचना निर्माण गर्दै जान्छौं”, उनले भने ।

लामो समय बेलायतमा बस्दै आएका उनी दुर्लुङमा क्यानोनिङको विकास र पदमार्गसहितको पर्यटकीय गाउँ बनाउन जन्मगाउँ फर्किएका छन् । “म पर्यटकीय गाउँको भौतिक संरचना निर्माण नगर्दासम्म गाउँमै रहनेछु”,उनले भने । क्यानोनिङ र पदमार्गमा आउने पर्यटकलाई बास बस्नको सहज बनाउन लागि गाउँका परम्परागत घरलाई सजाएर घरवास पनि सञ्चालनमा आएको छ । अहिले घरवासका थप संरचना पनि बनाउने काम जारी छ ।

सांसद गिरीले देशभरका १०० पर्यटकीय गन्तव्यमध्ये दुर्लुङको क्यानोनिङ परेको र यसलाई नियमित चलाउन सकेमा दुर्लुङ पर्यटकीय क्षेत्र बन्ने बताए । नयाँ पदमार्ग निर्माण भएपछि दुर्लुङमा पर्यटनको सङ्ख्यामा वृद्धि हुने र गाउँको आर्थिक समृद्धिका साथै रोजगारीमा समेत सघाउ पुग्ने धारणा उनले राखे।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button