तनहुँको पुट्टारमा प्राविधिक शिक्षालय

पोखरा न्यूज -, २३ चैत । प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षालय सञ्चालन गर्ने सरकारको घोषणाबमोजिम तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारमा स्थापना भएको कालीगण्डकी प्राविधिक शिक्षालयको उद्घाटन गरिएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी)मार्फत् मङ्सिर २ गतेबाट नै पढाइ सुरु भइसकेको उक्त शिक्षालयको शनिबार गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उद्घाटन गरेका हुन् ।

सो अवसरमा मन्त्री गुरुङले दक्ष जनशक्ति भए मात्रै समृद्ध नेपाल निर्माण सम्भव रहेको उल्लेख गर्दै दक्ष जनशक्ति उत्पादन प्राविधिक शिक्षाबाट हुने बताए । उनले परम्परागत शिक्षा प्रणालीले बेरोजगार जनशक्ति मात्रै उत्पादन गर्ने भएकाले अहिलेको प्रमुख आवश्यकता व्यावसायिक शिक्षा भएकामा जोड दिए । गण्डकी प्रदेश सरकारले प्राविधिक शिक्षालाई महत्व दिएर बजेटसमेत विनियोजन गरेको भन्दै मन्त्री गुरुङले प्रदेश सरकारले आफ्नै प्राविधिक विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको जानकारी दिए ।

कालीगण्डकी प्राविधिक शिक्षालयका प्रमुख गोविन्द पौडेलका अनुसार शिक्षालयमा वन विज्ञानको पढाइ मङ्सिर २ गतेबाट सुरु भइसकेको छ । चालीस कोटा रहेको शिक्षालयमा ३७ विद्यार्थी अध्ययनरत छन् । उनका अनुसार शिक्षालयमा जुम्ला, रुकुमु, दार्चुला, बाजुरा, जाजरकोट, सल्यान, हुम्लालगायतबाट विद्यार्थी अध्ययनका लागि आएका छन् ।

शिक्षालयको हालसम्म आफ्नै भवन नभएकाले सोही वडामा रहेको कृष्ण माध्यमिक विद्यालयको कक्षाकोठामा वन विज्ञानको पढाइ हुँदै आएको छ । छिट्टै नै शिक्षालयको आफ्नै भवन निर्माण गर्ने तयारी गरिएको उनले जानकारी दिए ।

सिटीइभिटीमार्फत भवन निर्माणका लागि चालू आर्थिक वर्षमा ५० लाख प्राप्त भइसकेको र आगामी दशैँअगावै चारकोठे भवन निर्माण गरिने उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button