नेपालमा प्रति घण्टा २१ जनाको असुरक्षित गर्भपतन

असुरक्षित गर्भपतन गराउँदा महिलाको स्वास्थ्यमा जोखिम हुन्छः मन्त्री पुन

पोखरा न्यूज – २६, चैत । नेपालमा प्रति घण्टा २१ जनाको असुरक्षित गर्भपतन हुने गरेको छ । मंगलबार पोखरामा आयोजित प्रजनन स्वास्थ्य अधिकार तथा सुरक्षित गर्भपतन सम्बन्धि छलफल कार्यक्रम बोल्दै आईपास नेपालकी माधवी बज्राचार्यले नेपालमा हाल दैनिक जसो १ घण्टामा २१ जनाको असुरक्षित गर्भपतन हुने गरेको बताएकी हुन् ।

उनका अनुसार नेपालमा एक वर्षमा एक लाख ८१ हजार ४ सय ४० जनाले असुरक्षित गर्भपतन गराउने गरेका छन् । ४१ प्रतिशतले मात्र कानुनी मान्यता पाएका स्थानबाट गर्भपतन गराउने गरेका छन् भने ४८ प्रतिशतलाई अझै पनि सुरक्षित गर्भपतन कहाँ गराउन पाईन्छ भन्ने कुराको जानकारी नभएको आईपास नेपालकी बज्राचार्यले बताइन् । असुरक्षित गर्भपतनका कारण अझै पनि करिब ७ प्रतिशत मातृ मृत्युदर रहेको उनले जनाइन् । प्रजनन स्वास्थ्यलाई मौलिक अधिकारमा राखे पनि अझै यस सेवाबाट धेरै महिलाहरु बाहिर रहेको उनले जनाइन् । उक्त सेवा हाल देशका ७७ जिल्लामै रहेको उनको भनाइ छ । उनले भनिन् “ सुरक्षित गर्भपतन पछि महिलाहरुले मेडावोन, मेरी पिस्ट, एम.टि.पी. किट र प्रिग्नो किट नामका चार वटा औषधी बाहेक अन्य औषधी सेवन नगर्नु होला ।” नेपाल सरकारबाट सुचिकृत भएको स्वास्थ्य केन्द्रबाट मात्र उक्त सेवा लिन पनि उनले आग्रह गरिन् ।

महिला, कानुन र विकास मञ्चको आयोजनामा मंगलबार पोखरामा आयोजना भएको प्रजनन स्वास्थ्य अधिकार तथा सुरक्षित गर्भपतन सम्बन्धि छलफल कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले गर्भपतन गराउदा महिलाको स्वास्थ्यमा जोखिम हुने बताएकी छन्। उनले भनिन् “ महिलाले दुई ÷तीन वटा बच्चा पाउँदा भन्दा एउटा गर्भपतन गराउदा मानव स्वास्थ्यमा बढी असर पर्ने भएकोले महिलाहरुले आफ्नो स्वास्थ्य प्रति सर्तक हुनु पर्यो, गर्भपतन गराउने स्वास्थ्य केन्द्र छ भन्दैमा आफ्नो स्वास्थ्यको कुनै ख्याल नै नगरी गर्भपतन गराउनु हुदैन्, परिवार नियोजनका साधनहरु सहि ढंगले प्रयोग गर्नु पर्यो । ” प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित पार्न खोजे पनि दक्ष जनशक्ति र आर्थिक अभावले गर्दा सोचे अनुरुप काम गर्न नसकेको मन्त्री पुनले बताइन्।

गण्डकी प्रदेशका सांसद कृष्ण थापाले सुरक्षित गर्भपतन गराउदा महिलाहरुलाई निःशुल्क औषधी वितरण गर्दा प्रभावकारी नभएको जनाए । स्वास्थ्य कार्यालय कास्कीका परिवार स्वास्थ्य अधिकृत सन्तोष पौडेलले अझै पनि बजारमा राम्रो अनुगमन हुन नसक्दा असुरक्षित रुपमा गर्भपतन हुने गरेको जनाए । उनका अनुसार कास्कीमा ३९ वटा संघ संस्थाहरु सुरक्षित गर्भपतन गराउने लिष्टमा भए पनि हालसम्म तीन वटाले मात्र मापदण्ड पुरा गरेको जनाए । उनका अनुसार मेरी स्टोप, मेरी प्रजनन केन्द्र र परिवार नियोजन संघले मात्र कास्कीमा सुरक्षित गर्भपतन गराउन मापदण्ड पुरा गरेका हुन्।

गण्डकी प्रदेशका उप–सभामुख सृजना शर्माले सुरक्षित गर्भपतन सम्बन्धि कानुनी व्यवस्था भए पनि अझै सम्म पनि तल्लो तहसम्म स्वास्थ्य प्रजनन् को बारेमा सचेतना र पहुच पुग्न नसकेको दाबी गरिन् । कार्यक्रममा महिला, कानुन र विकास मञ्चका अधिवक्ता नबिन कुमार श्रेष्ठ, अधिवक्ता सबिन श्रेष्ठ, अधिवक्ता माधवी पाण्डे, आईपास नेपालकी थम कुमारी कुँवरलगायतले अझै पनि नेपालमा असुरक्षित गर्भपतन नहुँदा महिलाको स्वास्थ्यमा जोखिम बढेको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button