२५ करोड लागतमा गण्डकी प्रदेश र प्रदेश नं ५ जोड्न पुल निर्माण हुँदै

पोखरा न्यूज – २७, चैत । रु २५ करोड लागतमा गण्डकी प्रदेश र प्रदेश नं ५ जोड्न तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारमा गाडी चल्ने पुल निर्माण गरिने भएको छ । तनहुँको घिरिङगाउँपालिका–१ पुट्टार र पाल्पाको रामपुर नगरपालिका–१ स्याउली बजार जोड्न कालीगण्डकी नदीमाथि उक्त पुल निर्माण गरिन लागेको हो ।

पुल निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट रु २५ करोड विनियोजन गरिएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले जानकारी दिए । दुई सय १० मिटर लामो पुलको निर्माणका लागि ठेकेदार कम्पनीसँग सम्झौता भइसकेको छ । सिग्देलका अनुसार पुलनिर्माणको जिम्मा काठमाडौं स्थित युनाइटेड विल्डर्सले पाएको छ ।

पुलको शिलान्यास कार्य आगामी वैशाख दोस्रो साताभित्र गर्ने तयारी भइरहेको उनले जानकारी दिए । उनले भने, “अहिले प्रारम्भिक चरणको काम भइरहेको छ ।” निर्माण शुरु भएको तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको पुल तनहुँ र पाल्पा जोड्ने एकमात्र पक्की पुल हो ।

उपभोक्ता समिति गठन भएको छ महीनाभित्र बजेट पर्न सफल सो पुल दुई लेन प्रविधिमा निर्माण हुने निर्माण कम्पनीका प्रतिनिधि बालकुमार श्रेष्ठले जानकारी दिए । कालीगण्डकी नदीमा पुल नहुँदा पुट्टार र स्याउलीका सर्वसाधारण पाल्पाको निस्दी गाउँपालिका हुँदै लामो दूरीबाट यात्रा गर्न बाध्य रहेका स्थानीयवासी माया दरैले जानकारी दिइन् ।

उनले भनिन, “पुल निर्माण नहुँदा नजिकै रहेको स्याउली बजार जान पनि घुमेर जाँदा टाढा पथ्र्यो, पुल निर्माण भएपछि सहज रुपमा आवातजावात गर्न सकिन्छ ।” पुल निर्माण भएपछि दुई स्थानीय तहका हजारौं सर्वसाधारण लाभान्वित हुनेछन् ।

© Copyright 2019, All Rights Reserved | Pokhara News | नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।
Loading...

प्रतिक्रिया

तपाइको इमेल गोप्य राखिनेछ । अनिवार्य भर्नुपर्ने ठाउँ *

Back to top button
Close