पोखरा स्थित रत्न मन्दिर र हिमागृह सर्वसाधारणका लागि खुल्ला गर्दै भ्रमण वर्ष शुरुवात गरौं : सांसद पहारी

पोखरा न्यूज – २८, चैत । गण्डकी प्रदेशका सांसद राजीव पहारीले पोखरा स्थित रत्न मन्दिर र हिमागृह सर्वसाधारणका लागि खुल्ला गरेर नेपाल भ्रमण वर्ष  २०२० को शुरुवात गर्नुपर्ने बताएका छन् ।

सांस्कृतिक र एतिहासिक महत्व बोकेका दुई स्थान सर्वसाधारणका लागि खुल्ला  गर्न सकेको खण्डमा  आन्तरिक वाह्य पर्यटकहरूको पोखरामा उल्लेख्य मात्रामा वृद्धि हुने र त्यसले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने संघीय सरकारको लक्ष्य प्राप्तिका निम्ति ठुलो सहयोग पुर्याउने उनले दाबी समेत गरे । उनले भने – ” सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने संघीय सरकारको लक्ष्य प्राप्तिका निम्ति सहयोग पुर्याउन संघीय सरकारको मातहतमा रहेका रत्न मन्दिर र हिमागृह सर्वसाधारणका लागि खुल्ला गरेर नेपाल भ्रमण वर्ष शुरुवात गरौं।”

पोखरा पर्यटन परिषद र पर्यटन सम्वद्ध विभिन्न १२ वटा संघ संस्थाहरूले बिहीबार पोखरामा आयोजित नयाँ बर्ष २०७६ को शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै सांसद पहारीले दुई स्थान सर्वसाधारणका लागि खुल्ला गरिएमा प्रदेश सरकारले घोषणा गरेको आन्तरिक भ्रमण वर्ष र संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण दुवैलाई फाइदा पुग्ने बताएका हुन् । पोखराको लेकसाइड कंक्रिटको सहरको रुपमा परिणत हुन् लागेको बताउदै सांसद पहारीले फेवाताल बर्षेनी पुरिदै गएकोमा चिन्ता ब्यक्त गरे ।  सांसद पहारीले फेवाताललाई पोखरीमा परिणत  हुनबाट बचाउन सर्वोच्च अदालतको आदेश अनुसार काम अगाडि बढेको र फेवातालको मापदण्डको विषयमा छिट्टै टुङ्गो लगाइने  बताए ।

गण्डकी प्रदेशका सांसद विन्दूकुमार थापाले नयाँ बर्षलाई नेपाल र नेपालीको संवृद्धिको निम्ति ‘माइल स्टोन बर्ष’ को रूपमा उपयोग गर्नुपर्ने बताए । अर्का सांसद रामजी बराले पोखरालाई  नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सरोकारवाला पक्षहरू लागीपर्नु पर्ने बताए ।

पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिवी पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परिषदका संस्थापक अध्यक्ष अशोक पालिखे, कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, परिषदका महासचिव डिल्लिप्रसाद गौतम लगायतले बोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button