कास्की: अन्नपूर्ण गाउँपालिमा तीन करोड लागतमा एक घर, एक धारा अभियान

पोखरा न्यूज – २८, चैत । अन्नपूर्ण गाउँपालिका कार्यालय कास्कीले गाउँपालिकाभित्र करिब तीन करोड लागतमा एक घर, एक धारा अभियानलाई तीव्र पारेको छ ।

गाउँपालिकाको नीति तथा कार्यक्रममा एक घर, एक धारा अभियान सञ्चालन गर्ने उल्लेख गरिएअनुरुप चालू आर्थिक वर्षमा यहाँका एक हजार घरधुरीमा घरघरमा धारा पुर्याउने लक्ष्यका साथ काम अघि बढाइएको हो ।

गाउँपालिका अध्यक्ष युवराज कुँवरका अनुसार विभिन्न वडा एवं स्थान विशेष योजना अघि सारिएकामा कतिपय योजना सम्पन्न भइसकेका छन् भने कतिपय सम्पन्न हुने क्रममा छन् । स्थानीय अवस्थाका आधारमा १० देखि २० प्रतिशत जनश्रमदानसहित वडाले खानेपानीका लागि करिब रु तीन करोड छुट्याएको उनले जानकारी दिए । गाउँपालिकाले चालू योजनामा गाउँपालिकाको वडा नं १ को लेवाडेका साथै र कुँवरगाउँ, नेपाली थर, भुवाइँ थर र फल्ला पानीलाई लक्षित गरी खानेपानी योजना अघि बढाएको छ ।

त्यस्तै वडा नं २ को सेराचौर, वडा नं ३ को पाउँदुरकोट, दमदमे, भिरमुनि दलितबस्ती, वडा नं ४ को सल्यान, ५ को पुरानोगाउँ दलित बस्ती, वडा नं ८ को बीरेठाँटी, ९ को तिखेढुङ्गा, १० को सिमे खानेपानी, ११ को छोम्रोङ्गलगायतका स्थानमा खानेपानीका योजना सञ्चालन गरेको छ । वडा नं ६ मा सङ्घीय बजेटअनुरुप नै खानेपानी योजना सञ्चालनमा छ ।

सञ्चालित योजनामध्ये कतिपयको काम सकिइसकेको र कतिपय सकिने क्रममा रहेको जानकारी दिँदै अध्यक्ष कुँवरले आगामी जेठको पहिलो सातासम्म सम्पूर्ण काम सक्ने गरी काम तीव्ररूपमा अघि बढेको जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button