तनहुँ: नावरुङको घरबासबाट मुहार फेरिँदै

पोखरा न्यूज – २९, चैत । तनहुँ भानु नगरपालिका–५ स्थित नावरुङमा सञ्चालित नावरुङ घरबासमा आन्तरिक पर्यटकको भीड बढेको छ । पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै त्यहाँ रहेका दुई घरबास भरिभराउ हुने गरेका छन् ।

घरबासमा पर्यटकको आगमनमा वृद्धि भएसँगै उक्त गाउँको मुहार फेरिएको नावरुङ घरबासका अध्यक्ष सतीदेवी मल्लले जानकारी दिइन् । आन्तरिक पर्यटक घरबासमा बस्न खाना मात्र नभई त्यहाँको मनोरम दृश्य र हरियाली पाखा पखेरामा रम्नको लागि आउने गरेको अध्यक्ष मल्लले बताइन् । उनले भनिन, “पर्यटक बढेसँगै आयआर्जनमा समेत वृद्धि भएको छ ।”

शुरुका दिनमा पाहुना खासै नआए पनि पछिल्लो समय भने वृद्धि हुँदै गएपछि गाउँमा नै स्थानीयले मासिक रु १५ देखि २० हजार यही नै कमाइ गरेका उनले जानकारी दिइन् । दैनिक आन्तरिक पर्यटक आउन थालेपछि स्थानीयमा उत्साह थपिएको उनले बताइन् । विसं ०७३ मा १६ घर मिलेर दुई घरबास सञ्चालन गरेको उक्त गाउँको अहिले मुहारनै फेरिएको उनको भनाइ छ । कक फाइट घरबास र नावरुङ घरबास गरी उक्त गाउँमा दुई घरवास सञ्चालित छन् ।

घरबासमा आउने पाहुना त्यहाँको संरचना देख्ने बित्तिकै रम्ने गर्छन् भानु–५ का वडाध्यक्ष प्रकाश मल्लले बताए । उनले भने, “चिटिक्क परेको घर, फूलबारी, शहर बजारका घरमा जस्तो धुपीका बोट, रिसोर्टमा राखिने जस्ता रङ्गीवीरङ्गी छातालगायतका वस्तुले गाउँमा होइन शहरमै बसेको अनुभूति दिलाउने गरेको छ ।”त्यहाँ आएका पाहुनालाई युवायुवतीले परम्परागत वेषभूषामा सजिएर माला लगाई स्वागत गर्छन् भने सांस्कृतिक कार्यक्रम चुट्का, दोहोरीलगायतका गीत र नाच गरेर मनोरञ्जन दिने गरेका छन् ।

मगर, गुरुङ र ठकुरी समुदायका स्थानीय मिलेर सञ्चालन गरेको घरबासमा दैनिक १५ देखि २० जना पर्यटक आउने गरेका बताइएको छ । घरबास सञ्चालनपश्चात् गाउँ घरमै उत्पादन गरेको जैविक तरकारी घरबासमा नै खपत हुने गरेको घरबासका सदस्य कमला आलेले बताइन् ।“गाउँमा उत्पादन भएका तरकारी यही नै बिक्री भएकाले सहज भएको छ”, उनले भनिन, “प्रायजसो घरबासमा जैविक खानाका परिकार एउटै प्रकारको हुने गरेको छ ।” उक्त घरबासमा बोयर जातको बोकाको सुकुटी पर्यटकलाई आकर्षित पार्न दिने गरिएको छ भने त्यस्तै सिस्नो, आँटो, गुन्द्रुक, भट्ट, लोकल कुखुराको मासु, रोटीलगायत व्यवस्था गरिएको छ ।

रु एक हजारमा बिहान–बेलुका मासु खाना र बिहान–दिउँसो नास्ताको व्यवस्थासहित बास बस्ने सुविधा रहेको छ ।उक्त घरबास सञ्चालन गरिएको स्थलबाट ऐतिहासिक तनहुँसुर दरबार, भानुभक्तको जन्मगाउँ, प्रसिद्ध थानीमाई मन्दिर, मिर्लुङकोट र नेपालका दोस्रो प्रधानमन्त्री रङ्गनाथ पौडेलको जन्मगाउँसमेत देखिनुका साथै हिमशृङ्खला, सूर्योदय र सूर्यास्तसमेत यही ठाउँबाट नियाल्न सकिने हुँदा पर्यटकको आर्कषणको केन्द्रबिन्दु बन्दै गएको वडाध्यक्ष मल्लले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button