पत्रकारिता साइबर अपराध होइन भन्दै पोखरामा प्रदर्शन, पत्रकार गिरीलाई रिहाइ गर्न माग

पोखरा न्यूज – ०४ , बैशाख । पोखरामा रहेर पत्रकारिता गर्दै आएका कास्कीका पत्रकारहरुले बुधबार पोखरामा प्रदर्शन गरेका छन् । पत्रकारिता साइबर अपराध होइन, पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर, पत्रकार अर्जुन गिरीलाई रिहाइ गर भन्दै कास्कीका पत्रकारहरुले जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन गरेका हुन् ।

ठगीको समाचार लेखेकै भरमा साइवर क्राइम मुद्धामा सोमबार पोखराबाट पक्राउ परेका पत्रकार गिरीलाई अविलम्ब रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघ कास्कीको अगुवाईमा पत्रकारहरु धर्ना दिंदै आन्दोलनमा उत्रिएका हुन् । महासंघ जिल्ला अध्यक्ष दीपेन्द्र श्रेष्ठको अगुवाइमा पत्रकारहरुका बिभिन्न संघ सस्थाहरुको ब्यानर सहित १ सय भन्दा बढी पत्रकारले जिल्ला प्रहरी कार्यालय कास्की तथा सिडिओ कार्यालय अगाडी १ /१ घण्टा धर्ना सहित प्रदर्शन गरे । पत्रकारहरुले पोखरामा हातमा कालो पट्टी बाँधेर ल्यापटप, क्यामेरा, मोबाइल, पेन, डायरी, पत्रकार परिचय पत्र, पत्रिका जस्ता संचारका सामग्री प्रदर्शन गर्दै धर्नामा सहभागी बने ।

पैसा र पावरको आधारमा प्रेस काउन्सिल नेपालमा अनलाइन दर्ता नभएको बहाना देखाएर साइवर क्राइम मुद्धा लगाउदै पत्रकार गिरीलाई पक्राउ गरि पटक पटक म्याद थप गरि दुख दिएको भन्दै पोखरा लगायत देशभरका पत्रकारहरु धर्ना दिदै आन्दोलित बनेका छन् । धर्ना कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ लाई देखाएर समाचार लेखेको भरमा साइबर क्राइमको मुद्दा लगाइएको भन्दै ऐनको दफा ४७ र ४८ खारेज नभएसम्म आफुहरुको आन्दोलन जारी रहने बताए। उनले पत्रकार गिरीलाई अविलम्ब रिहाइ गर्न माग गरे ।

कास्की जिल्ला अदालतले ठगीको आरोप लागेका पोखराका व्यवसायी विपीन बतासलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई आदेश दिइसकेको अवस्थामा बतासलाई पक्राउ गरेर अनुसन्धान गर्नुको साटो ठगीको समाचार लेख्ने पत्रकारलाई उल्टो म्याद थप गर्दै राखिनु निन्दनिय तथा गैरकानुनी कार्य भएको नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए। धर्ना कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले राज्य यो वा त्यो बहानामा बिगतदेखिनै पत्रकारलाई सिध्याउने खेलमा लागेकोले पत्रकारहरुले सदैव दुख बेहोर्नुपरेको बताए । आरोपित व्यवसायीबाट व्यक्तिगत इगो वा रिसिवी साध्ने हिसाबले पत्रकार गिरीलाई झुटो मुद्दा लगाउने कार्य भएको जस्तो देखिन आएको र प्रहरीले समेत समयमा सूचना नदिएर ढिलाई गर्नुले थप शंका उत्पन्न भएको बताए ।

प्रेस काउन्सिलको कारण गिरी पक्राउ परेको भन्दै अध्यक्ष श्रेष्ठले यसको सम्पूर्ण जिम्मेवारी काउन्सिलले लिनुपर्ने र प्रेस काउन्सिलमा दर्ता भएको अनलाइनलाई दर्ता नभएको भनि सूचना दिने कर्मचारीमाथि छानबिन गरी कारवाही गर्न माग गरे । उनले नेपाल पत्रकार महासंघ केन्द्रले प्रवाभकारी भूमिका खेल्न नसकेको भन्दै १ घण्टा प्रशासन घेरेर मात्र नहुने भएकाले थप शसक्त भूमिका निर्वाह गर्न केन्द्रलाई अनुरोध समेत गरे ।

धर्ना कार्यक्रममा प्रेस संगठन कास्कीका सन्देश श्रेष्ठ र माधव बराल, नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल, संसदीय पत्रकार मञ्चका उपाध्यक्ष भरत कोइराला, खेलकुद पत्रकार मञ्च गण्डकी महासचिव विजय नेपाल, अनलाइन पत्रकार संघ गण्डकीका अध्यक्ष गणेश बराल, चलचित्र पत्रकार संघ कास्की अध्यक्ष रेश बिक, क्रियाशील पत्रकार महिला समूह अध्यक्ष सरिता पंगेनी तिमिल्सिना, फोनिज अध्यक्ष एमबी आस्था, युवा पत्रकार संजाल अध्यक्ष भीम थापा, पत्रकार बद्रीविनोद प्रतीक, पुण्य पौडेल, शिरोमणि बराल, पत्रकार महासंघ कास्की सचिव रामप्रसाद तिमिल्सिना लगायतले आन्दोलनमा ऐक्यबद्धता जनाउँदै ठगीको आरोप लागेका व्यवसायीलाई जोगाउने उधेश्यले पत्रकारलाई साइबर क्राइमको मुद्दा चलाएर पक्राउ गरिएको भन्दै बिना शर्त पत्रकार गिरीलाई रिहाइ गर्न जोडदार माग गरे ।

साइवर क्राइम मुद्धा लगाएर पक्राउ गरिएका गिरीको अनलाइन ताण्डब न्यूज दर्ता भएको पुष्टी सहितको पत्र काउन्सिलले लेखेर काउन्सिलको नियम अनुसार हुने भन्दै रिहाइको लागि पहल गर्न भनिएतापनि शक्तिको आडमा प्रहरी प्रशासनले गिरीलाई रिहाइ गर्नुको साटो कारबाहीको तयारी गर्दै म्याद थप गरेपछि पोखरा लगायत देशभरका पत्रकारहरु स्वतन्त्र पत्रकारिता माथि प्रहर भएको भन्दै आन्दोलित भएका छन् ।

पोखरामा पत्रिकाको सम्पादकीयमा कालो पोत्ने, अनलाइनका होम पेज लगायत समाचारमा कालो ब्यानर राख्ने तथा रेडियो टेलिभिजनले ९० सेकेण्ड प्रसारण रोक्ने लगायतका कार्यक्रम गर्दै पत्रकार गिरीको पक्राउको बिरोध गरेका छन् । मंगलबार जिल्ला अदालत काठमाडौंले सोमबारदेखि नै लागू हुने गरी तीन दिन म्याद थप गरेपछि पुन बुधबार  म्याद थपको हल्ला चलेपछि  पत्रकारिता साइबर अपराध नभएको भन्दै प्रेसमाथिको ज्यादती बन्द हुनुपर्ने तथा पत्रकार गिरीलाई तत्काल रिहाइ गर्नुपर्ने माग राख्दै देशभरका पत्रकार थप आन्दोलित भएका हुन् ।

पत्रकार गिरीलाई कास्की प्रहरीको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले साइबर क्राइमको मुद्दामा पक्राउ गरि थप अनुसन्धानका लागि भन्दै सोमबार काठमाण्डौ लगेको थियो । गिरीले केही दिन अगाडि ‘ठग ! बदमास विपेन्द्रराज बतास’ भन्दै लेखेको समाचारलई आधारमा बनाएर बतासले सिआइबीमा गिरीविरूद्ध साइबर क्राइमको मुद्दा हालेका थिए ।

विपिन वताश (विपेन्द्रराज वताश) ले पोखराका दुई व्यवसायी जनकराज पहारीको २ करोड २५ लाख रुपैयाँ र मनोज श्रेष्ठको १ करोड ९८ लाख रुपैयाँ गरि ४ करोड २३ लाख रुपैयाँ ठगि गरेको गिरीले लेखेको समाचारमा उल्लेख छ। गिरीले आफु आवद्ध ताण्डव पत्रिका र अनलाइन ताण्डब न्यूज डटकममा श्रेष्ठ र पहारीले बतासबाट आफ्नो पैसा उठाइदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएपछि ठगीको समाचार प्रकाशित गरेका थिए ।

प्रेस काउन्सिलका अनुगमन अधिकृत भनिएका सुरेन्द्र मल्लले लापरवाही गर्दै बतासलाई दर्ता भएको अनलाइनलाई दर्ता नभएको भनेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काउन्सिल सँग आफैले नबुझी सिधै मुद्दा दायर गरि पत्रकार गिरीलाई नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button