पत्रकार गिरीको रिहाइको माग गर्दै पोखरामा पत्रकारको धर्ना

पोखरा न्यूज – ०५, बैशाख । पोखराका पत्रकार अर्जुन गिरी पक्राउको विरोधमा बिहीवार पोखरामा पत्रकारले धर्ना दिएका छन् । साइबर अपराधको मुद्दा लगाएर पक्राउ गरिएका पत्रकार गिरीको रिहाइको माग गर्दै पोखरामा पत्रकारले जिल्ला प्रशासन कार्यालय कास्कीमा १ घण्टा धर्ना दिएका हुन् ।

विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को खारेजीको माग राख्दै नेपाल पत्रकार महासंघ केन्द्रले आह्वान गरेको आन्दोलनको कार्यक्रम अनुसार कास्की लगायत देशैभरका जिल्ला प्रशासन कार्यालयमा बिहान ९:३० बजे देखि १०:३० बजे धर्ना दिइएको हो।

कास्कीमा ठगीको समाचार लेखेकै भरमा साइवर क्राइम मुद्धामा सोमबार पोखराबाट पक्राउ परेका पत्रकार गिरीलाई अविलम्ब रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष दीपेन्द्र श्रेष्ठको अगुवाइमा पत्रकारहरुका बिभिन्न संघ सस्थाहरुको ब्यानर सहित १ सय भन्दा बढी पत्रकारहरुले सिडिओ कार्यालय अगाडी धर्ना दिएका हुन् ।

धर्ना कार्यक्रममा महासंघ कास्कीका सल्लाहकार एवम् अग्रज पत्रकार बद्रीविनोद प्रतिकले समाचार लेखेकै भरमा विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ लाई आधार बनाएर पत्रकार गिरीलाई पक्राउ गरिएको भन्दै उनको अविलम्ब रिहाइको माग गरे । पत्रकारलाई विभन्न कालखण्डमा बिभिन्न बहानामा राज्यसत्ताले दुख दिने काम गरेको भन्दै अहिले विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ देखाएर पत्रकारलाई साइवर अपराध लगाउने काम भएकाले यो ऐन पत्रकारलाई लागू हुदैन भनेर उल्लेख नगरे सम्म आफुहरुको आन्दोलन निरन्तर जारी रहने बताए ।

धर्ना कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकार गिरीलाई विहीबार दिनभरमा छाडिने भनिएकोले केन्द्रीय कार्यक्रम अनुसार १ घण्टा धर्ना दिइएको बताउदै गिरीलाई दिनभरमा नछोडिएको खण्डमा थप शसक्त आन्दोलन गर्ने चेतावनी दिए ।

पत्रकार गिरीलाई कास्की प्रहरीको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले साइबर क्राइमको मुद्दामा पक्राउ गरि थप अनुसन्धानका लागि भन्दै सोमबार काठमाण्डौ लगेको थियो । गिरीले केही दिन अगाडि ‘ठग ! बदमास विपेन्द्रराज बतास’ भन्दै लेखेको समाचारलई आधारमा बनाएर बतासले सिआइबीमा गिरीविरूद्ध साइबर क्राइमको मुद्दा हालेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button