आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरामा प्याराग्लाइडिङ तर्फको खेल शुरु

एक्यूरेसी र क्रसकन्ट्रितर्फ मिश्रित परिणाम

पोखरा न्यूज – ०७, वैशाख । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पहिलो दिन सोमबार एक्यूरेसी र क्रसकन्ट्रीतर्फका पहिलो राउण्डका खेलहरु पोखरामा सम्पन्न भएका छन ।

पहिलो दिनको खेलमा पुरुष एक्यूरेसी र क्रसकन्ट्री टिम र दुबै इभेन्टका इन्डिभिजुअलतर्फ मिश्रित परिणाम आएको छ ।  टिम एक्यूरेसी तर्फ नेपाली सेना १०७ अंकका साथ प्रथम स्थानमा रहेको छ भने गण्डकी प्रदेश १८५ अंकका साथ दोश्रो र ३३१ अंकका साथ प्रदेश नम्बर १ तेश्रो स्थानमा रहेका छन । त्यसै गरि सुदुर पश्चिम प्रदेश ११७० अंकका साथ चौथो, १८९६ अंकका साथ प्रदेश ३ पाँचौ र ३१३५ अंक बटुल्दै कर्णाली प्रदेश छैटौ स्थानमा रहेको छ ।

इन्डिभिजुअल एक्यूरेसी पुरुषतर्फ नेपाली सेनाका सागर नेपाली ८ अंकका साथ प्रथम स्थान बनाउन सफल भएका छन भने गण्डकी प्रदेशका अनिष भट्टराईले दोश्रो स्थानमा रहंदै ११ अंक बटुलेका छन । त्यसै गरि नेपाली सेनाका सागर जलारी ५०१ अंकका साथ तेश्रो स्थानमा रहेका छन ।

महिला इन्डिभिजुअल एक्यूरेसीमा गण्डकी प्रदेशकी सबिता तामाङ २७४ अंकका साथ अगाडी रहेकी छन भने प्रदेश नं ३ की बिबी सिङताङ ३६१ अंकका साथ दोश्रो स्थानमा रहेकी छन । तेश्रो स्थानमा गण्डकी प्रदेशकी ५०१ अंकका साथ प्रतिभा बोगटी रहेकी छन । तामाङ र बोगटी १८ औं एशियाली खेलकुदमा सहभागी भएका खेलाडी हुन ।

पहिलो दिन भएको क्रसकन्ट्रि (एक्सी) इभेन्ट तर्फ पहिलो राउण्डमा ३२ किलोमिटर टास्क सम्पन्न भएको छ । उक्त इभेन्टमा ३ महिला र १९ पुरुष सहित कूल २२ जना खेलाडी सहभागी रहेको नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा)का महासचिब शैलेन्द्र राउतले जानकारी दिए ।

सम्पन्न क्रसकन्ट्रितर्फ सहभागी जनाएका २२ खेलाडी मध्ये पुरुष इन्डिभिजुअल खुल्ला तर्फ प्रदेश ३ का कृष्ण बहादुर सुनुवार ९७२ अंक हासिल गर्दै पहिलो स्थान बनाउन बनाउन सफल भएका छन । यसै गरि नेपाली सेनाका विशाल थापा ९०६ अंकका साथ दोश्रो स्थान र गण्डकी प्रदेशका शेर बहादुर गुरुङ ९०६ अंकका साथ तेश्रो स्थानमा रहेका छन । दोश्रो स्थानका बिशाल १८ औं एशियाली खेलकुदमा रजत पदक जितेका थिए ।

यसै गरि क्रसकन्ट्रि महिला इन्डिभिजुअलमा गण्डकी प्रदेशकी त्रिशा बमजन तामाङ २३१ अंकका साथ पहिलो स्थान बनाएकी छन भने नेपाली सेनाकी स्वस्तिका गुरुङ २६ अंकका साथ दोश्रो र प्रदेश १ की सुष्मिता सुनुवार २४ अंकका साथ तेश्रो स्थानमा रहेकी छन । यसै गरि टिम क्रसकन्ट्रि तर्फ भने गण्डकी प्रदेशले अग्र स्थान बनाउन सफल भएको छ । गण्डकी प्रदेश ३२९९ अंकका साथ पहिलो स्थान बनाएको हो । प्रदेश ३ ले ३१५९ अंकका साथ दोश्रो र नेपाली सेनाले २७१७ अंकका साथ तेश्रो स्थान बनाएको छ ।

पहिलो दिनको खेल निकै प्रतिस्पर्धात्मक र उच्च स्तरको रहेको नेपाली टिमका मुख्य प्रशिक्षक एवम नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष योगश भट्टराईले बताए । उनले भने–‘अहिलेको मौसम प्रतियोगिता आयोजनाका लागि त्यती राम्रो नभए पनि पहिलो दिनको खेलको प्रदर्शनले खेलाडी सबैलाई उत्साही बनाएको मात्रै नभई खेल पनि उत्तिकै प्रतिष्पर्धात्मक देखिएको छ ।’

नेपालको खेल इतिहासमा पहिलो पटक राष्ट्रिय खेलकूद प्रतियोगितामा समावेश भएको खेलमा विभागिय टिम नेपाली सेना र ५ प्रदेश गरि कुल ६ टिमका ५९ जना गरि खेलाडी सहभागी रहेका छन । प्रतियोगिता बैशाख ९ गते सम्पन्न हुने प्रतियोगितामा एक्युरेसी तर्फ ५ राउण्ड र क्रसकन्ट्रि तर्फ ३ राउण्ड प्रतिष्पर्धा गराइने छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button