पर्यटकको रोजाइमा बेनीको ‘लभ्ली हिल’

जमुनावर्षा शर्मा,   पोखरा न्यूज – ०८, वैशाख । बेनी नगरपालिका वडा नंं २ खबरास्थित ‘लभ्ली हिल’ यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । साविकको ज्यामरुककोट गाविसमा पर्ने खबरा गाउँ नजीकै रहेको ‘खाराको डाँडो’ अहिले ‘मायालु डाँडा’ नामबाट परिचित भएको छ ।

बेनी बजारदेखि झण्डै आधा घण्टाको पैदलयात्रामा पुग्न सकिने रमणीय लlovelyभ्ली हिलमा अहिले दिनहुँजसो आन्तरिक पर्यटकको घुइँचो देख्न सकिन्छ । कालीगण्डकी र म्याग्दीखोलाको दोभानका बीचमा रहेको सुन्दर बेनीबजार र आसपासका रमणीयस्थलको अवलोकन गर्न पर्यटक उक्त डाँडामा पुग्ने गरेका छन् । सिरसिर चल्ने हावासँगै मनमोहक दृष्यलाई सेल्फीमार्फत कैद गर्न उक्त स्थानमा युवकयुवती लालायित देखिन्छन् ।

‘आहा क्या सुन्दर दृश्य’ लभ्ली हिलमा सेल्फीसँगै रमाउँदै गरेकी बागलुङकी २२ वर्षीया सरला शर्माले लभ्ली हिलको सौन्दर्यमा रमाउँदै भनिन, “बेनी बजार र आसपासका दृश्य सहज हेर्न बेनी आएपछि पुग्नैपर्ने ठाउँ रहेछ लभ्ली हिल ।”

लभ्ली हिलबाट चारैतिरको दृश्य अवलोकन गर्न सकिन्छ । गर्मीयाममा शीतलताको खोजीमा मानिसहरु आउने गरेको बेनी नगरपालिका वडा नंं २ का वडाध्यक्ष हीराबहादुर थापाले बताए । “यो डाँडामा आन्तरिक पर्यटक बढिरहेका छन्, यसलाई मध्यनजर गरेर हामीले पूर्वाधार विकासमा समेत पहल गरेका छौंँ”, उनले भने ।

हाल उक्त स्थानमा पदमार्ग निर्माणका लागि बेनी नगरपालिका, प्रवासी नेपालीको संस्था मोना म्याग्दी र म्याग्दी उद्योग वाणिज्य सङ्घले क्रमशः ५०,४० र १० प्रतिशत लागत बेहोर्ने गरी त्रिपक्षीय साझेदारीमा ‘बेनी–मोना–लभ्ली हिल पदमार्ग’ निर्माण भैरहेको वडाध्यक्ष थापाले बताए। चालु आर्थिक वर्षमा डिभिजन वन कार्यालय म्याग्दीको रु १२ लाखको सहयोगमा हरियाली उद्यान बनाइने काम भैरहेको जनाइएको छ ।

लभ्ली हिलमा आव २०७३/७४ मा पर्यटन कार्यालय पोखरा, नगरपालिकाको आर्थिक सहयोग र स्थानीयवासीको श्रमदानमा भौतिक पूर्वाधारको विस्तार गरिएको थियो । तत्कालीन समयमा कूल रु १२ लाखको लागतमा लभ्ली हिलमा गोलघर (भ्यू प्वाइन्ट), रेलिङ र बस्नका लागि आरामदायी बेञ्चलगायत पूर्वाधारको निर्माण गरेसँगै त्यहाँ पुग्ने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको लभ हिल पर्यटन पूर्वाधार विकास समितिका अध्यक्ष ध्रुवराज कार्कीले बताए । त्यसैगरी आव २०७४/७५ मा बेनी– २ ले रु पाँच लाख आर्थिक सहयोग गरेको कार्की जानकारी दिए ।

बेनीदेखि आधा घण्टाको दूरीमा रहेको लभ्ली हिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, पुलाचौर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाजलगायत क्षेत्र देख्न सकिन्छ । म्याग्दी जिल्लाको अधिकांश भूभागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित धौलागिरि र अन्नपूर्ण हिमालका साथै सूर्योदय र सूर्यास्तको समेत अवलोकन गर्न सकिने अध्यक्ष कार्कीको भनाइ छ ।

पूर्वाधार निर्माणसँगै पछिल्लो समय पर्यटकीय तथा रमणीयस्थल लभ्ली हिल पर्यटकको आकर्षक गन्तव्यका रुपमा विकास हुँदै गएको नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले बताए । “सुन्दर नगरी बेनीमा लभ्ली हिल थप टुरिज्म प्रडक्टका रुपमा विकास भैरहेको छ, यसको प्रवद्र्धनमा नगरपालिका लागि परेको छ”, उनले थपे । नगरपालिकाले म्याग्दी उद्योग वाणिज्य सङ्घ र मोना म्याग्दीसँग सहकार्य गरेर लभ्ली हिलसम्म पुग्नका लागि पदमार्ग निर्माणको काम अघि बढाएकामा हालसम्म ५० प्रतिशत काम सम्पन्न भैसकेको उपप्रमुख बरुवालले जानकारी दिए ।

प्रकृतिप्रेमी जो कोहीका लागि लभ्ली हिल असाध्यै आकर्षक रहेको स्थानीय पत्रकार प्रताप बानियाँको पनि भनाइ छ । “यस डाँडाले बेनीको आन्तरिक पर्यटन प्रवद्र्धनमा निकै सहयोग पुर्याएको छ, लभ्ली हिलको विकासका लागि थप पूर्वाधारको विकास गर्नुपर्ने जरुरी देखिन्छ । धेरै युवकयुवती सेल्फी खिंच्न लभ्ली हिलको डिलमा पुग्छन्, उनीहरुको सुरक्षाका लागि पर्याप्त तारजालीसहित व्यवस्थित गर्नुपर्ने चुनौती देखिएको छ”, उनले भने । त्रिपक्षीय सम्झौताबाट अगाडि बढेको पदमार्गको निर्माणमा ढिलासुस्ती भएको प्रति पत्रकार बानियाँले गुनासो गरे ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले गत वर्ष वैशाख ३० गते ‘म्याग्दी भ्रमण वर्ष–२०७५’ घोषणा गरेका थिए । प्रसिद्ध धार्मिकस्थल मुस्ताङको मुक्तिनाथ, नेपाल–चीन जोड्ने कोरला नाकालगायत प्रमुख धार्मिक एवं पर्यटकीयस्थलको मुख्य प्रवेशद्धारका रुपमा रहेको म्याग्दीको बेनीमा प्रसिद्ध गलेश्वरधाम, तातोपानी कुण्ड, रुप्से झरना, संसारकै गहिरो अन्ध गल्छी, पौलस्त्य पुलहाश्रम, जगन्नाथ मन्दिर, भकिम्लीको स्वर्गाश्रम तथा बेलढुङ्गा, टोड्के, बराङ्जाको झाँक्रीपानी, निस्कोट बराहताल, मालिकाधुरी, सोलेडाँडा, धौलागिरी आधारशिविर, गुर्जा हिमाललगायत थुप्रै ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button