पोखरामा भर्ना अभियान संगै सरकारी विद्यालयमा आर्कषण बढ्दो

पोखरा न्यूज – ०८, वैशाख । सरकारले घोषणा गरेको भर्ना अभियानसँगसँगै सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढेको छ ।

निजी शिक्षा महङ्गो हुदै गएको र सरकारी विद्यालयमा शैक्षिक गुणस्तर बढ्दै गएका कारण पनि सरकारी विद्यालयप्रति विद्यार्थीको आर्कषण बढेको हो । निजी विद्यालयले शैक्षिक शुल्कका नाममा अभिभावकको ढाड सेकिरहेकै वेला पोखरा लगायत कास्कीमा केही नाम चलेका सामुदायिक विद्यालयमा भने विद्यार्थीको चाप ह्वात्तै बढेको देखिन्छ । जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा ख्याती कमाएको वाटुलेचौर स्थित विन्ध्यवासिनी मा.विमा पनि भर्ना अभियानसँगसँगै विद्यार्थी भर्ना गर्न भ्याई नभ्याई छ । निश्चित सिटमा भर्ना खुलाए पनि तोकिएको भन्दा चौगुना बढि प्रवेश परीक्षामा सहभागी भएपछि, विद्यार्थीको चाप थेग्न धौ धौ परिरहेको विद्यालयले जनाएको छ ।

उत्कृष्ट भनिएका निजी विद्यालयवाट नै अधिकांश विद्यार्थी परीक्षामा सहभागी भएको प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले जानकारी दिए  । भर्नाका लागी त्यस विद्यालयमा केफ, प्रगति, पोखरा एकेडेमी, रिभरडेल, गोर्खा वोडिङ्ग, सूर्योदय लगायतका निजी विद्यालयवाट सहभागी भएपनि केही विद्यार्थीले त नाम पनि निकाल्न सकेनन् ।अघिल्लो शैक्षिक सत्र भन्दा यसपाली विद्यार्थीको चाप अत्याधिक बढेको प्रधानाध्यापक आचार्यले बताए ।अब्बल किसिमको शैक्षिक गुणस्तर र प्रविधीमैत्री वातावरणले गर्दा विद्यालयमा आर्कषण बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाले बताए । अभिभावक, स्थानियबासी र विद्यार्थीको चाहाना अनुरुप थप शैक्षिक गुणस्तर वृद्धि गर्न आफुहरु लागि परेको शिक्षक अभिभावक संघका अध्यक्ष शिवराम पौडेलले बताए ।

सबै पक्षको समन्वय भयो भने सरकारी विद्यालय पनि उत्कृष्ट हुन्छ भन्ने उदाहरण विद्यालयले दिएको स्थानियको भनाई छ ।विद्यालयमा भर्ना अभियानसँगसँगै विपन्न परिवारका वालवालिकाको संरक्षकत्व लिने क्रम पनि वढेको छ। विद्यालय जाने उमेरका वालवालिका विद्यालय वाहिर नहुन भन्ने सरकारको योजनालाई समेत अभियानले सघाउ पु्याईरहेको छ ।त्यस क्षेत्रका अन्य सरकारी विद्यालयसँग समेत समन्वय गरेर अनुभव आदान प्रदान गरिरहेको विद्यालयले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button