पोखरा बागलुङ राजमार्गमा १८ वर्षदेखि टिमुर र खुर्सानी कुट्दै दृष्टिविहीन तुलाचन

पोखरा न्यूज – ११,  वैशाख । पोखरा बागलुङ (भूपि शेरचन) राजमार्गमा १८ वर्षदेखि एक दृष्टिविहीनले ओखलमा टिमुर र खुर्सानी कुटेर व्यापार गर्दै आएका छन् ।

अन्नपूर्ण गाउँपालिका–३ का ५० वर्षीय अमृत तुलाचनले विसं २०५८ देखि उक्त व्यापार गर्दै आएका हुन्  । क्षयरोगका बिरामी उनले नौ वर्षसम्म नियमित औषधि खान्थे  । विस्तारै औषधिको असरले उनको दृष्टिशक्ति गुम्न पुगेको तुलाचनले बताए । एक छोरा, दुई छोरीका बुबा उनले सोही समस्याका कारण ५ कक्षाको मात्रै अध्ययन गरेका छन्  । “शुरुका दिनमा छरछिमेकको घरमा खुर्सानी मसला कुट्दै आएको थिएँ । २०५८ मा राजमार्गमा होटल खुल्दै गएपछि आफैँले टिमुर र खुर्सानी बेच्न थालेको हुँ ।” उनले भने  ।

बागलुङ–पोखरा राजमार्गमा लुम्ले कृषि अनुसन्धान केन्द्रको मुलगेट अगाडि रहेको दाजुको होटलबाट उनले व्यापारको शुरुआत गरे । उनले बिहान ५ बजेदेखि दिउँसो १ बजेसम्म दैनिक आठ घण्टा ओखलमा निरन्तर टिमुर खुर्सानी कुटेर धुलो बनाउँदै आएका  छन्  । पोखरा–बागलुङ राजमार्गमा उनको होटलमा खाजा खाना आउनेदेखि बाटोमा हिँड्दा देख्नेसम्म उनका ग्राहक छन् ।

नेपाल दृष्टिविहीन सङ्घ कास्कीको कार्यसमिति सदस्यसमेत रहेका तुलाचनले सरकारले अपाङ्गता भएकालाई पनि विभिन्न रोजगारमूलक अवसर प्रदान गर्दै आएको भन्दै सबैले आफ्नो सीप र क्षमताअनुसारको काम गरेर आत्मनिर्भर हुन आग्रह गरेका छन्  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button