म्याग्दीका किसानलाई घरबारी नै युरोप र अमेरिका

पोखरा न्यूज -१६, वैशाख । बिहानको मिरमिरेदेखि साँझको झिसमिसेसम्म माटो, मल, पानी र बिरुवासँग खेलिरहने बेनी नगरपालिका–२ खबराका चन्द्रबहादुर कार्कीले तरकारी बारीबाट मनग्य आम्दानी र सम्मान दुबै पाएका छन् ।

‘कार्की जी नमस्कार’ भन्दै तरकारी बारीमा नै आउने ग्राहकलाई नमस्कार फर्काउँदै उनीहरुले रोजेको तरकारी टिपेर ग्राहकलाई दिँदै भलाकुसारीसम्म गर्न भ्याउने हसिला ५८ वर्षीय कार्की म्याग्दीका लागि अर्गानिक तरकारीका पिता मानिन्छन् ।

म्याग्दीको बेनी नगरपालिका–२ खबराका कार्कीका लागि घर अगाडिको तरकारी बारी नै युरोप र अमेरिका बनेको छ । ४० वर्ष अघिदेखि व्यावसायिक तरकारी खेती शुरु गरेका कार्कीले तरकारी फलाएर नै सम्पत्ति र सम्मान दुवै कमाएका छन् ।

तरकारीको बिउ र बिरुवासमेत आफ्नै नर्सरीमा उत्पादन गरेर तिनै बिरुवामार्फत व्यावसायिक रुपमा नै अर्गानिक तरकारी खेती गर्ने कार्कीले तरकारी बेचेर नै मासिक रु ६५ हजारभन्दा बढी आम्दानी गर्छन ।

कार्की जस्तै अर्का कृषक छन् बेनपा–२ रोहोटेका शोभित शर्मा । शर्माले पनि व्यावसायिक रुपमा तरकारी खेती गर्न लागेको करीब २० वर्ष भयो । यो २० वर्षको अवधिमा शर्माले तरकारीबाट नै रु ५० लाखभन्दा बढीको सम्पत्ति जोडिसकेका छन् ।

सानै उमेरमा बुबाको मृत्यु भएपछि परिवारको सम्पूर्ण जिम्मेवारी सम्हालेका ३८ वर्षीय शर्माले भने, “साँझ बिहान खाने कुरा हुँदैनथ्यो, घरको जिम्मेवारीले गर्दा पढ्न पनि सकिन्, विदेश जाने पैसा भएन, त्यसपछि शुरु गरे दुई रोपनी पाखोवारीमा तरकारी खेती ।” २० वर्ष अघिको दुःख सम्झदै शर्माले भने, “त्यही पाखोवारीमा गरेको तरकारी खेतीबाट नै मेरो जीवनमा पनि हरियाली छाउँदै आयो ।”

कार्की र शर्मा दुई प्रतिनिधिमूलक पात्र मात्र हुन् । म्याग्दीमा पछिल्लो समय व्यावसायिक रुपमा अर्र्गानिक विधिद्वारा तरकारी खेती गरेर सम्पत्ति र सम्मान कमाउने किसानको सङ्ख्या वृद्धि हुँदै गएको छ ।

तीन वर्षदेखि पर्यटकीय क्षेत्रको रुपमा विकास भएको लभ्लीहिलको तल्लोपट्टि २० मिटरको दूरीमा छ, म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीको घर । घर अगाडिको २२ रोपनी जग्गामा फलेका छन् गोलभेडा, काउली, बन्दागोपी, मुला, गाजर, सिमी, काँक्रो, साग, प्याज, लसुन, धनियाँ र अन्य तरकारीहरु । घरको माथिल्लोपट्टि एउटा टिनले छाएको छाप्रोको पसलमा फलफूल र तरकारी राखिएको छ ।

लभ्लीहिलमा जाने पर्यटक त्यही पसलमा आएर फलफूल र तरकारी किनेर फर्किने गर्छन् । कार्कीले करीब २२ रोपनी र शर्माले १४ रोपनी जग्गामा तरकारी खेती गरेका छन् । स्थानीय बजारमा कार्की र शर्माले उत्पादन गरेको तरकारीको माग अहिले पनि उत्तिकै छ ।

तरकारी बेचेर कार्कीले मासिक रु ६५ हजारभन्दा बढी र शर्माले रु ५५ हजारको हाराहारीमा आम्दानी गर्छन । तरकारी मात्रै होइन, यी दुवै कृषकले फलफूल खेती, बाख्रापालन र माछापालन पनि एकसाथ गरेका छन् । कार्कीले तरकारीको साथमा केरा खेती र माछापालन गर्नुभएको छ भने शर्माले बाख्रापालन गरेर दोहोरो आम्दानी लिन सफल भएका छन् ।

दुवैतर्फको आम्दानी जोड्दा दुवै कृषकको आम्दानी मासिक रु एक लाखभन्दा बढी हुन्छ । अहिले पनि कार्की र शर्माको बारीमा काउली, बन्दागोपी, मूला, गाजर, सिमी, काँक्रो फलेका छन् । मौसम र बेमौसममा समेत तरकारी उत्पादन गर्ने कार्कीले शुद्ध अर्गानिक तरकारी उत्पादन गर्छन ।

बारीमा फलेको तरकारीको स्वाद र गुणका कारणले नै लामो समय बजारमा आफ्नो उत्पादन टिकेको कार्कीको भनाइ छ । “तरकारीमा प्रयोग गर्ने विषादी कस्तो हुन्छ मलाई जानकारी छैन”, कार्कीले भने, “रोग किराको नियन्त्रण गर्ने मेरो औषधि गाईवस्तुको गहुँत मात्रै हो ।”

गहुँतकै प्रयोगले मात्रै तरकारीमा लागेका सबै रोग किरा मर्ने गरेको अनुभव उनीसँग छ । कार्कीले उत्पादन गरेको आधा जसो तरकारी बारीबाट नै बिक्री हुन्छ भने बचेको उहाँकी पत्नी लक्ष्मी कार्कीले बजारमा पुर्याउने व्यवस्था मिलाउछन ।

कार्कीसंगै उनका चार जना परिवारका सदस्यले पनि तरकारी खेतीमा नै लागेका छन् । एउटै गाउँका यी दुई जना कृषकको देखा सिकी गरेर अहिले खवराको गाउँ नै तरकारी र फलफूलको गाउँमा परिणत भएको छ । २४० घरधुरीको बसोबास रहेको खवराका प्रायः सबै मानिसहरु तरकारी र फलफूल खेतीमा लागेका छन् । “अहिले खवरा गाउँ नै हरियाली गाउँमा परिणत भएको छ, ताजा र अर्गानिक तरकारी र फलफूलका कारण खवराको परिचय नै फेरिएको छ, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बेनी नगरपालिकाका सचिव एवं स्थानीय राजकुमार थापाले भने ।

मानिसहरु अहिले छिटो र सस्तोका लागि तरकारीजन्य वस्तुमा पनि किटनाशक औषधि प्रयोग गर्दछन् । औषधिले मानिसको स्वास्थ्यमा कति असर पार्छ भन्ने खासै चासो राख्दैनन् तर कार्की र शर्माले उपभोक्ता स्वास्थ्यको हितमा हुने गरी तरकारी उत्पादन गर्दै आएका छन् ।

विषादीका कारण मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ भन्ने विषयमा गाईगुई सुनेका कार्कीलाई कहिल्यै पनि तरकारीमा विषादी प्रयोग गर्ने र क्षणभरमै मालामाल हुने मन नपलाएको बताए ।

कार्की र शर्माले उत्पादन गरेको तरकारीको माग सदरमुकाम बेनी बजारमा धेरै छ । बाहिरबाट आयातित सस्तो तरकारीभन्दा उपभोक्ताले बरु केही रकम बढी तिरेरै भए पनि कार्की र शर्माले उत्पादन गरेको तरकारी खरीद गर्ने गरेका छन् ।

प्रायः यी दुई कृषकको तरकारी बेनी बजारमै खपत हुन्छ । अझ बजारमा तरकारी पु¥याउन नै हम्मेहम्मे पर्ने गरेको कृषकद्वयको अनुभव छ । “बजारमा होस् वा गाउँमा अर्गानिक तरकारी खोज्नेको माग बढ्दै गएको छ”, शर्माले भने, “मागेजति तरकारी पुर्याउन सकेको छैन ।”

उपभोक्ताको चाहनाअनुसारको उत्पादन दिन सके पैसा कमाउन विदेश जान नपर्ने शर्माको भनाइ छ । प्रायः सबै काम आफैले गर्ने शर्मालाई पछिल्लो समय प्रविधिले सघाएको छ ।

खेतबारीको खनजोत गर्नका लागि आधुनिक मेसिन आएकाले सहज भएको शर्माले बताउनुभयो । “परिवारसँग रमाएर आफ्नै बारीमा कमाएको छु”, अर्का कृषक कार्कीले भने, “मेहिनत गर्न सके कमाउन विदेश किन जानु ?” तरकारीको उत्पादनबाट सफलता पाएका शर्मा र कार्कीले पछिल्लो समय फलफूल खेती, माछा र बाख्रापालनलाई समेत व्यवस्थित गर्ने बताएका छन् ।

तरकारी बारीबाट नै जीवनमा हरियाली ल्याउन सफल यी दुई कृषकको सिको गरे पैसा र सम्मान दुवै आफ्नै गाउँठाउँमा कमाउन सकिने स्थानीय वुद्धिजिवीको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button