महर्षि वेदव्यासको जन्मभूमि तनहुँको दमौली ओझेलमा

पोखरा न्यूज -१७, वैशाख । चार वेद अठार पुराणका रचयिता महर्षि वेदव्यासको जन्मभूमि तनहुँको दमौली प्रचारप्रसार अभावमा ओझेलमा परेको छ । पूर्वीय साहित्यका महाकवि वेदव्यासले यही भूमिमा महाभारत, चारवेद र अठार पुराणको रचना गरेको दाबी र विभिन्न स्रोतले प्रमाणित गरे पनि व्यासभूमिको उचित प्रसारप्रसार नहुँदा ओझेलमा परेको हो ।

विभिन्न शास्त्रीय प्रमाणले व्यासको जन्मभूमि दमौलीमा भएको स्वीकार गरिसके पनि प्रचारप्रसारको अभावमा यस क्षेत्रमा ओझेलमा परेको व्यासका अध्येता काशीनाथ न्यौपानेले बताए । व्यासको भूमिलाई विश्वमाझ चिनाउन बेला–बेलामा कार्यक्रम भइरहे पनि त्यसले मूर्तरुप पाउन नसकेको उनको गुनासो छ । “व्यास भूमिलाई पौराणिक, आध्यात्मिक, धार्मिक, पुरातात्विक र ऐतिहासिक दृष्टिले परिचित गराउन र धार्मिक पर्यटन प्रवद्र्धन टेवा पुर्याउने उद्देश्यले बेला–बेलामा कार्यक्रम भइरहेकै छन्”, उनले भने ।

वेद अनुयायी प्रतिष्ठान नेपाल तनहुँका अध्यक्ष कृष्णकान्त काफ्लेले व्यासको जन्म दमौलीमै भएको प्रमाणित भइसकेकाले यसको प्रचारप्रसारका लागि सबै जुट्नुपर्ने बताए । उनले भने, “व्यासको जन्म भारतमा भएको भनेर गलत प्रचारप्रसार पनि भएको छ, त्यही कारणले वास्तविक व्यासभूमिको उचित प्रचारप्रसार हुन सकिरहेको छैन ।”

काठमाडौंबाट १५० र पोखराबाट ४९ किलोमिटर दूरीमा रहेको दमौलीमा पृथ्वी राजमार्ग भएर दैनिक हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आवातजावत गर्ने भए पनि व्यास भूमिमा उनीहरुलाई आकर्षित गर्न नसकिएको स्थानीयवासी दीपक भट्टराईले बताए ।

उचित प्रचारप्रसारको अभावकै बीचमा समेत बेला–बेलामा व्यासभूमिको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । व्यास गुफाका संरक्षक दामोदर बाबाले भारतलगायत अन्य मुलुकबाट समेत पर्यटक व्यासभूमि अवलोकनका लागि आउने गरेको जानकारी दिए । उनका अनुसार व्यासभूमि आउने पर्यटकमध्ये भारतका बढी छन् ।

व्यासभूमिलाई अन्तर्राष्ट्रिय स्तरसम्म परिचित गराउँदै धार्मिक गन्तव्य बनाउन विविध कार्यक्रम हुँदै आएको छ । विश्वका हिन्दू धर्मावलम्बी र ओमकार परिवारको मूल तीर्थस्थल बनाउने उद्देश्यले व्यासक्षेत्रमा १८ महीने अखण्ड हरिनाम समेत सम्पन्न भएको थियो ।

“वेदव्यासभूमिलाई मुख्य तीर्थस्थल बनाउनको लागि हामी लागिपरेका छौँ  । विश्वका वैदिक सनातन धर्मप्रेमी र ओमकार परिवारको मुख्य तीर्थस्थलको रुपमा विकास गर्न यसलाई जरुरी छ”, उनले भने । विसं २०४१ मा योगी नरहरिनाथले कोटीहोम लगाउने सिलसिलामा भएको धर्म सभामा महर्षि वेदव्यासको अवतरण भूमि दमौलीस्थित शुक्ला माहेन्द्री सङ्गम भएको भनाइ व्यक्त गरेका थिए । त्यसपछि यस क्षेत्रको बारेमा थप अध्ययन अनुसन्धान हुन थालेको व्यासका अध्येता न्यौपानेले बताए ।

उनले भने, “विसं २०४१ मा योगी नरहरिनाथले धर्मसभामा महर्षि वेदव्यासको २८ औँ अवतार दमौलीमा भएको भनेपछि मलाई यस क्षेत्रको बारेमा अध्ययन अनुसन्धान गर्न प्रेरणा मिल्यो । योगी नरहरिनाथले यस क्षेत्र महत्वपूर्ण छ भनेपछि मलाई कताकता यस क्षेत्र बारे कौतुहलता जाग्यो ।”

विभिन्न माध्यमबाट व्यास क्षेत्रको प्रचारप्रसारका लागि आफू लागिपरेको न्यौपानेले बताए । उनका अनुसार विसं २०४५ मा रेडियो नेपालको सांस्कृतिक कार्यक्रममा महर्षि वेदव्यासको जन्मथलो दमौलीको बारेमा लेखिएको आलेख प्रसारण भएको थियो ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button