तनहुँका किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण

पोखरा न्यूज- १९, वैशाख । तनहुँको रिसिङ गाउँपालिकाले किसानलाई अनुदानमा हाते ट्र्याक्टर उपलब्ध गराएको छ । कृषिलाई गरी व्यावसायीकरण र यान्त्रिकीकरण गर्ने उद्देश्यसहित गाउँपालिकाले १० कृषक समूहलाई ट्र्याक्टर वितरण गरेको हो ।

खेतबारी जोत्न सहज हुने र श्रम लागत घटाउने उद्देश्यसहित रु ६५ हजार मूल्य बराबरको हाते ट्र्याक्टर ५० प्रतिशत अनुदानमा वितरण गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए । उनले भने, “परम्परागत प्रविधिको खेतीले आम्दानीभन्दा खर्च धेरै भइरहेको छ ।  कृषिमा यान्त्रिकीकरण गर्न सके श्रम लागत घट्न गई आम्दानी बढाउन सकिन्छ ।” गाउँका युवा विदेशिएकाले कृषि क्षेत्रमा काम गर्ने मजदुरको अभाव खेपिरहेका किसानलाई ट्र्याक्टर पाएपछि सहज हुने विश्वास गरिएको छ ।

अध्यक्ष श्रेष्ठका अनुसार अरु मुलुकमा यान्त्रिकीकरणमार्फत किसानले थोरै लागतमा धेरै उत्पादन लिने गर्छन् ।  उनले भने, “हाम्रो मुलुकमा विकसित प्रविधि किसानको पहुँचमा पुर्याउन नसक्दा निर्वाहमुखी उत्पादनमा अल्झिएका छौँ ।” रिसिङका अधिकांश भूभाग भिरालो भएकाले साना र हलुङ्गा किसिमका हाते ट्र्याक्टर किसानलाई उपयुक्त हुने बताइएको छ ।  पहिलो चरणमा १० समूहलाई वितरण गरिएको ट्र्याक्टर किसानको मागअनुसार थप उपलब्ध गराउँदै जाने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

स्थानीयवासी सीता श्रेष्ठले हाते ट्र्याक्टरले थोरै समयमा धेरै काम गर्न सकिने अनुभव बटुलेपछि यसतर्फ आकर्षित भएको बताए । काहुँस्थित धनुबास कृषि समूहका अध्यक्ष दुर्गाबहादुर सिञ्जालीले गाउँमा पछिल्लो समयमा हल गोरु पाल्ने र जोत्न खुबी भएका युवाको अभावमा हाते ट्र्याक्टरले राहत मिलेको बताए । गाउँपालिकाले उपलब्ध गराएको ट्र्याक्टर समूहमा आवद्ध किसानले पालैपालो प्रयोग गर्नेछन् । पछिल्लो समय गाउँघरमा हल गोरु पाल्ने र जोत्ने युवा विदेश पलायन हुदाँ खेतीयोग्य जमीन बाँझै छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button